ओलाङ्चुङ्गोला लोकमार्ग र तमोर करिडोर चाँडो सम्पन्न हुने

ओलाङ्चुङ्गोला लोकमार्ग र तमोर करिडोर चाँडो सम्पन्न हुने

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङको आर्थिक समृद्धिसँग जोडिएका उत्तर दक्षिण ओलाङचुङगोला लोकमार्ग र तमोर करिडोरको निर्माण चाँडो सम्पन्न हुने जानकारी दिएका छन् । फक्ताङलुङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले यी दुई आयोजना जिल्लाको मात्रै नभई मुलुककै समृद्धि र विकाससँग जोडिएका हुँदा छिटोभन्दा छिटो सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता दिएको बताए ।

प्रतिनिधिसभा निर्वाचनमा तमोर करिडोर, ओलाङचुङगोला लोकमार्गको निर्माण र सुकेटार विमानस्थलको स्तरोन्नति लगायतका विकासका पूर्वाधार उहाँका उच्च प्राथमिकतामा परेका थिए ।

मन्त्री भट्टराईल तीनै तहका सरकारले संविधानको मर्म र भावना अनुरुप प्रभावकारी काम गर्न सके मात्र समृद्ध नेपाल निर्माणको अभियानले गति लिने जनाउँदै सोही अनुरुप काम गर्न सबै जनप्रतिनिधिलाई आग्रह पनि गरे ।

जिल्लाको सबैभन्दा विकट मानिने फक्ताङलुङ चीनको सीमा जोडिएको गाउँपालिका हो । यो गाउँपालिकामा पर्ने साविकको ओलाङचुङगोला गाविस चीनसंग जोडिएको छ ।

ओलाङचुङगोला स्थित टिपताला नाका हुँदै चीनको तिब्बत जोड्ने उत्तर दक्षिण लोकमार्ग आयोजना निर्माणाधीन छ । यो सडक आयोजना जोडिन करिब ८ किलोमिटर बाँकी रहेको ओलाङचुङगोला –७ का वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए । व्यापारिक दृष्टिकोणले यो सडक आयोजना महत्वपूर्ण रहेको उनको भनाइ छ ।

गृह जिल्लाका जनताको गुनासो सुन्न , विभिन्न आयोजनाको अनुगमन तथा अवलोकन गर्न तथा जनप्रतिनिधिसँग छलफल गर्न शुक्रबार यहाँ आउनुभएका मन्त्री भट्टराईले आज नै फक्ताङलुङ गाउँपालिका ३ मा पर्ने सिँवा माध्यामिक विद्यालयमा स्थापित सूचना प्रविधि प्रयोगशालाको शुभारम्भ गरेका थिए । आजै उनले तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत आयोजनाको समेत अवलोकन गरेका थिए।रासस

Logo