विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको कुश्माको पर्यटन

विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको कुश्माको पर्यटन

केन्द्रबिन्दु
0
Shares

पर्वत।

कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ लगायत साहसिक खेल सञ्चालन हुने भएको हो ।

२०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो । यसअघि पुलसँगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सञ्चालनमा आउन नसकेको कम्पनीका द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए । ५२५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीको ठिक माथि बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ । खोलादेखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ ।

हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाइमा छ । द क्लिफ प्रालिको यो परियोजनापछि स्विटरल्याण्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जीका रुपमा आफूलाई दर्ज गर्ने छ भने यहाँको स्वीङ विश्वकै अग्लो बनेको अध्यक्ष कार्कीले बताए ।

बन्जी र स्वीङ दुबैको मूल्य रु सात हजार तोकिएको छ । पोखरादेखि कुश्माको दुईतर्फी गाडीको सुबिधासहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रुपैयाँ रहेको छ । टेण्डम (जोडी स्वीङ)को १२ हजार छ । गुलेली शैलीको पिङ बन्जीका लागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ भने सोभन्दा माथि बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ ।

बन्जीजम्प गर्दा हिमालको दृश्य देखिने संसारकै एक मात्र स्थल यो बन्न सक्छ । नेपालमै पनि प्राकृतिक नदीमाथि बनाइएका बन्जीहरूबाट नदीको बहाव र हिमाल मुस्कुराएको दृश्य देख्ने अन्यत्र कुनै ठाउँ छैन । बलेवा विमानस्थल, कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग यसका आधार क्षेत्र हुन् । सहज यातायातको व्यवस्था हुँदा पर्यटकहरूलाई प्याकेजमा समावेश गरी यहाँ ल्याउन सकिन्छ । बन्जीजम्पले यहाँका अन्य व्यवसायको क्षेत्रलाई समेत सघाउनेछ भने राज्यको राजस्वमा समेत ठूलो योगदान गर्ने नै छ ।

Logo