गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा

गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा


भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ ।  विमानस्थल निर्माण आयोजनाले  भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीनमहिनाभित्र सञ्चालनमा आउने जनाएको छ ।  विमानस्थल हालका अवधिमा करीब ९५ प्रतिशत भौतिक प्रगति रहेको छ । 

प्राविधिक उपकरण जडानको काम बाँकी छ । विदेशबाट प्राविधिक जनशक्ति ल्याइनुपर्ने भएकाले केही विलम्ब भएको यस आयोजनाको हाल प्राविधिक कार्य  चलिरहेको छ । विमानस्थलमा नेपाली प्राविधिकबाट अधिकतम प्राविधिक काम भइरहेको छ । सँगसँगै विदेशी दक्ष प्राविधिक जनशक्ति  धमाधम आइरहेकाले प्राविधिक काम  छिट्टै सक्नेगरी व्यवस्थापन गरिएको छ ।
    
विमानस्थलका लागि विदेशबाट आउनुपर्ने उपकरण भने करीब १०० प्रतिशत आइसकेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । “९८ प्रतिशतभन्दा बढी उपकरण आइसकेको छ । विदेशबाट ल्याइने लक्ष्य जनशक्ति पनि छिट्टै आउँदैछन् । अहिले नेपाली प्राविधिकले पनि काम गरिरहेका छन् त्यसैले बाँकी प्राविधिक काम सक्न तीन महिना पनि लाग्दैन”, उनले भने ।
     
उनका अनुसार दक्षिण कोरियाबाट विज्ञ प्राविधिक आइसकेका छन् एक÷दुई दिनभित्रै अमेरिकाबाट थप दुई जना विज्ञ प्राविधिक आउँदैछन् । त्यस्तै भारतबाट झण्डै १५ जना प्राविधिक जनशक्ति आउनेछन् । चीनबाट  छ जना प्राविधिक नेपाल आउने प्रक्रियामा रहेका छन् । उनीहरु सबै आइसकेपछि उपकरण जडानको काम एकदेखि डेढ महिनाभित्र सकिनेछ ।

कोभिड–१९ महामारी नभइदिएको भए सो विमानस्थल यतिखेर सञ्चालनमा हुने थियो ।  कोरोना महामारीकै बीच निर्माण भने चलि नै रह्यो । विदेशबाट जनशक्ति ल्याइनुपर्ने र स्वास्थ्य मापदण्डको प्रक्रियाले गर्दा प्राविधिक काम सम्पन्न गर्न केही ढिलाइ भएको हो । महामारीका कारण विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को शुरुवातबाट सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को योजना थियो । प्राविधिक काम पूरा नभएका कारण विमानस्थल सञ्चालनमा केही ढिला हुन गएको क्यानले जनाएको छ ।
    
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको  विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ मा शुरु भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरुपमा प्रगति भएको थियो ।

आयोजना प्रमुख अधिकारीको भनाइमा अहिले विमानस्थलको सौन्दर्यकरणका लागि साजसजावट तथा रङ्रोगनको कार्य भइरहेको छ । प्राविधिक काम पनि भइरहेको छ । विमानस्थलको टर्मिनल भवनमा उपकरण जडानको काम बाँकी छ । व्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ । 
    
विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रु सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ । 
    
अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको विश्वव्यापी मापदण्डअनुरुप विमानस्थल सञ्चालन योग्य भएको छ महिना अगाडि नै अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई जानकारी गराउनुपर्ने हुन्छ । निर्माणका हिसाबले तीन महिनामा सबै काम सकिए पनि विमानस्थल व्यावसायिक सञ्चालनमा आउन झण्डै छ महिनाको अवधि लाग्नेछ ।
    
पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक उडान सञ्चालन गर्ने र हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणको योजना छ । रासस

Logo