बहराइनी राजकुमारलाई सगरमाथा आरोहण अनुमति

बहराइनी राजकुमारलाई सगरमाथा आरोहण अनुमति

केन्द्रबिन्दु
0
Shares

वसन्त यामको सगरमाथा आरोहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) जारी गरेको छ। सो यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन्।   

बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आरोहण अनुमति लिएका विभागले जनाएको छ। सर्वोच्च शिखर आरोहणका लागि राजकुमार शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली गत चैत २ गते नेपाल आएको थियो। 

नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ। बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ।

वसन्त यामको सगरमाथा आरोहणका लागि पहिलो आरोहण अनुमति बहराइनी राजपरिवारका सदस्यसहितको आरोही समूहलाई दिइएको विभागको पर्वतारोहण शाखाका मदन विमलीले जानकारी दिए। उनका अनुसार बहराइनी आरोही समूह १६ जनाको भएकाले दुई समूह बनाएर अनुमति दिइएको छ। एक आरोही समूहमा बढीमा १५ सदस्य रहने प्रावधान छ।

कोभिड–१९ महामारी जोखिमका बीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ठ पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ। कोरोनाका कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेका सन्दर्भमा महामारीकै बीच हिउँदमा भएका केही आरोहण तथा आगामी यामका लागि बुकिङ सुरु भएकाले यस वर्ष आरोहणमा सुधारका सङ्केत देखिएका छन्। 

सात आरोही समूहले अनुमति लिए 

वसन्त यामको आरोहणका लागि हालसम्म पाँच आरोही समूहलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ। सगरमाथा, अन्नपूर्ण, मनास्लु र नुप्से हिमाल आरोहण गर्ने सात आरोही समूहका ६१ आरोहीलाई आरोहण अनुमति दिएको छ। 

विभागको पर्वतारोहण शाखाको तथ्याङ्कमा सोलुखुम्बुमा पर्ने सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि दुई र सोही क्षेत्रमा पर्ने नुप्से (७,८६४ मिटर) एक आरोही समूह छन् । गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८,०९१) आरोहणका लागि तीन समूहलाई अनुमति दिएको छ। त्यस्तै गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) मा एक आरोही समूह छन्। अन्नपूर्ण आरोहणका लागि सबैभन्दा धेरै ११ जना महिलासहित ४० आरोहीले अनुमति लिएका छन्। अनुमति लिएका आरोहीहरु गन्तव्यतर्फ लागिसकेका छन्।

हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ। यो अनुकूल मौसममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन्। सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहीको रोजाइमा पर्छन्।

आरोहणका लागि बाटो बनाउने आइसफल चिकित्सक पनि गन्तव्यमा रहेको विभागले जनाएको छ। आइसफल चिकित्सक सगरमाथाको आधार शिविरभन्दा माथितिर पुगिसकेका छन्। वसन्तयामको आरोहणका लागि विभागले धमाधम आरोहण अनुमति जारी गरिरहेको छ।

सरकारले आरोहणका लागि ४१४ हिमाल खुला गरेको छ। अझै आरोहणयोग्य एक हजार ३०० भन्दा बढी हिमाल रहेको बताइन्छ । मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरुआत भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ।रासस

Skip This
Skip This
Logo