ताप्लेजुङको परिचय बोल्ने ‘१०१ तस्बिर’ सार्वजनिक

ताप्लेजुङको परिचय बोल्ने ‘१०१ तस्बिर’ सार्वजनिक


नेपाल पर्यटन बोर्डको सहयोगमा ताप्लेजुङ विकास पत्रकार मञ्चद्वारा ताप्लेजुङका १०१ उत्कृष्ट तस्बिर सार्वजनिक गरिएको छ। 

पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्ता सावा, ताप्लेजुङ समाजका उपाध्यक्ष रमेश बराल लगायतले उक्त पुस्तक सार्वजनिक गरेका हुन्।

सार्वजनिक गरिएका उक्त फोटोहरू ताप्लेजुङ फोटोज् डटकममार्फत संकलन गरिएको हो। करिब एक हजार तीन सय फोटो प्राप्त भएका मध्ये १०१ फोटो छनोट गरि किताबमार्फत् सार्वजनिक गरिएको हो।

सार्वजनिक गरिएको १०१ फोटो मध्ये नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका सदस्य सिताराम गुरागाईंले खिचेकोे फोटो सर्वोकृष्ट भएको छ भने ग्याजो लामाले खिचेको फोटो उत्कृष्ट भएको छ। 

साथै नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका पूर्वअध्यक्ष तथा ताप्लेजुङ विकास पत्रकार मञ्चका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले खिचेको फोटो प्रथम भएको छ। नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका अध्यक्ष आनन्द गौतमले खिचेको फोटो द्वितीय र नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराजमणि बाँस्कोटाले खिचेको फोटो तृतीय भएको छ। 

सर्वोकृष्ट फोटोले २५ हजार रुपैयाँ पाएको छ। उत्कृष्ट फोटोले ११ हजार १११ र प्रथमले ५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै द्वितीयले ४ हजार ४४४ र तृतीयले २ हजार २२२ प्राप्त गर्ने भएका छन्। 

त्यस्तै सान्त्वना १५ वटाले दुई हजारका दरले प्राप्त गर्नेछन् भने बाँकी ८१ वटा सहभागीका तस्बिरले एक हजारका दरले प्राप्त गर्नेछन्। पुरस्कार वितरणका लागि चाँडै नै ताप्लेजुङमै एक विशेष कार्यक्रमको आयोजना गरिने ताप्लेजुङ विकास पत्रकार मञ्चले जनाएको छ। 

यसैबीच कार्यक्रममा पूर्वपर्यटनमन्त्री भट्टराईले ताप्लेजुङ पर्यटनका लागि भर्जिन ल्याण्ड भएको बताउँदै यसप्रकारका फोटोहरुको संकलन तथा प्रकाशनले पूर्वक्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। 

उनले नेपालको पर्यटन केही खास क्षेत्रहरूमा मात्र सिमित रहेको अवस्थामा पर्यटनलाई विकेन्द्रीकरण गर्न आवश्यक रहेकोसमेत बताए। ‘नेपालका धेरै जिल्लामा पर्यटनको प्रचुर सम्भावना छ। त्यसमा ताप्लेजुङ पनि एक हो तर हामीले पोखरा चितवन, लुम्बिनी बाहेक अन्यत्र खासै पर्यटक लैजान सकेका छैनौं। यो अवस्थामा यस्ता क्रियाकलापले ती क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सक्नेछ।’ उनले भने।

पूर्वमन्त्री भट्टराईले कञ्चनजंघा राष्ट्रिय निकुन्ज क्षेत्र विश्वकै सुन्दर र आकर्षक क्षेत्र भएको बताउँदै त्यहाँको सांस्कृतिक बहुलता र प्राकृतिक सुन्दरतालाई उजागर गर्न सके त्यसक्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने धारणा राखे।

Logo