छ महिनापछि खुल्यो टीकापुर पार्क

छ महिनापछि खुल्यो टीकापुर पार्क


कोरोना भाइरसको सङ्क्रमणका कारण विगत ६ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेकाे टीकापुर पार्क खुल्ला गरिएको छ ।

आन्तरिक पर्यटकका लागि महत्त्वपूर्ण मानिने टीकापुर पार्कमा वार्षिक लाखौँ पर्यटकले अवलोकन गर्दै आएको छ । लामो समयदेखि टीकापुर पार्क खुल्ला गर्नुपर्ने आवाज उठ्दै आए पनि नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गत भदौ १९ गतेदेखि खुला गरिएको हो । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाखबाट पार्क बन्द भएको थियो । निषेधाज्ञा खुलेसँगै गत भदौ १९ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकहरूको अवलोकनका लागि पार्क खुला गरिएको नगरपालिकाले जनाएको छ । 

पछिल्लो समय फोटो खिच्ने र टिकटक बनाउनेको पार्कमा भीड नै लाग्ने गरेको छ । पार्क खुला भए पनि विगतका वर्षहरू जस्तो पर्यटकको भिडभाड भने निकै कम भएको छ । दसैं तिहारको समयमा पार्क अवलोकनका लागि आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने अनुमान गरिएको छ । पार्कमा कार्यरत विनोद चौधरीका अनुसार अहिले दैनिक एक सयसम्म पर्यटकहरू पार्क अवलोकनका लागि आउने गरेका छन् । “पर्यटकको सङ्ख्यामा निकै कमी आएको छ । विगतमा दसैं तिहारको समय सुरु भएपछि पार्कमा पर्यटक थेग्न गाह्रो हुन्थ्यो”, उनले भने, “यसपछि के हुन्छ थाहा छैन । अहिलेसम्म पर्यटकमा वृद्धि भएको छैन । शनिवारका दिन भने केही बढी पर्यटक आउने गरेका छन् ।” उनले पार्कमा कार्यरत कर्मचारीबाहेक अन्य ४० जना कामदार लगाएर पार्कको सरसफाइ लगायतका काम सम्पन्न भएको उल्लेख गर्दै पार्कको आन्तरिक व्यवस्थापनको बाँकी काम पनि जारी रहेको बताए ।

बर्दियाको राजापुरबाट टीकापुर पार्क अवलोकनका लागि आएका राजेश चौधरीले लामो समयपछि टीकापुर पार्कको अवलोकन गर्न पाउँदा खुसी लागेको बताए । उनले कोरोनाका कारण भएको बन्दाबन्दीले लामो समयसम्म घरभित्र गुम्सिनु परेको बताउँदै पर्यटकीय क्षेत्रहरू खुला भएसँगै घुमघामका लागि सहज भएको बताए । राजेशले पार्कमा सरसफाइको काम भएको भनिए पनि सरसफाइको काम हुनुपर्ने जति नभएको बताए । “बन्दाबन्दीले पार्कभित्रको सौन्दर्यताकमा ह्रास आएको रहेछ । सरसफाइ नभएको हुँदा होला पहिलेको जस्तो रौनक पार्कमा देखिएन”, चौधरीले भने, “अब चाडपर्व नजिकिएसँगै आन्तरिक पर्यटकहरूको वृद्धि हुने भएकाले पार्कको सरसफाइ अनिवार्य छ । पर्यटकलाई आकर्षण गर्ने गरी नगरपालिकाले काम गर्न सके पार्कबाट ठूलो लाभ लिन सकिनेछ ।”

Logo