मकालु बेस क्याम्पमा एक डेनिस नागरिकको मृत्यु

मकालु बेस क्याम्पमा एक डेनिस नागरिकको मृत्यु


संखुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जना विदेशी पर्यटकको मृत्यु भएको छ। मकालु बेस क्याम्पमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।
 
विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका लागि उनी बेस क्याम्प पुगेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले पुष्टि गरेको छ। प्रहरी निरीक्षक अधिकारीका अनुसार थोर्वजन एडर्शनको मकालु बेस क्याम्पभन्दा केहीमाथि शनिबार दिउँसो मृत्यु भएको हो। 

गत असोज २५ गते तीन विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालु आधार शिविर गएको थियो। 

हिउँमा फसेका दुई विदेशीसहित एक नेपालीको उद्धार 

मकालु बेस क्याम्पमा फसेका दुई विदेश पर्यटकसहित एक नेपालीको सकुशल उद्धार गरिएको छ। आइबार दिउँसो दुई जना डेनिस नागरिक र एक जना नेपालीको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ। 

मकालु बेस क्याम्पमा हिउँमा फसेका अन्य ६ जना नेपाली नागरिकको उद्धारको पहल भइरहेको उद्धारमार्फत काठमाडौं पुगेका नीरज कार्कीले बताए। कार्कीका अनुसार ६ नेपाली नागरिकसहित मृतक डेनमार्कका हेन्रिक थोर्वजन एडर्शन मकालु बेस क्याम्पमै रहेका छन्।

Logo