आरोही लाक्पा शेर्पाको अर्को कीर्तिमान, १६ दिनभित्र मकालुको तीन पटक आरोहण (फोटोफिचर)

आरोही लाक्पा शेर्पाको अर्को कीर्तिमान, १६ दिनभित्र मकालुको तीन पटक आरोहण (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

साहसी आरोही लाक्पा शेर्पाले १६ दिनभित्र तीन पटक मकालु हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका छन् ।

संखुवासभाको मकालु गाउँपालिकामा पर्ने मकालु हिमाल (८४८५ मिटर) को शेर्पाले २०२२ को मे १२, २० र २८ मा सफल आरोहण गरेका हुन्।  सोही समयमा चौथो पटकको आरोहण भने खराब मौसमका कारण पूरा गर्न नपाएको बताएका छन् । 

आफुले कीर्तिमान बनाउनमात्र नभइ आफ्नो गाउँ र ठाउँ चिनाउने उद्धेश्यले हिमाल आरोहण गरेको शेर्पाको भनाइ छ । उनले भने, 'चौथो पटकको आरोहण पूरा गर्न ३० मिटर बाँकी छँदा मौसमले साथ दिएन र म फर्किन बाध्य भए । यो विश्व कीर्तिमान हो र गिनिजबुकमा नाम रहन्छ भन्ने सोचेको छु ।'

 

मकालुबासीकै ट्रेकिङ कम्पनी सेभेन समिट ट्रेक्ज् प्रालिको सहयोगमा १६ दिनमा तीन पटक मकालु हिमाल आरोहण गर्न सहज भएको र सामान्यतया एक पटक त्यो हिमाल आरोहण गर्न एक महिना भन्दा बढी समय लाग्ने ३० वर्षीय आरोही शेर्पाले बताए । 

शेर्पाले २० वर्षको उमेरदेखि हिमाल आरोहण गर्दै आएका हुन्। उनले अहिलेसम्म ८ हजार माथिका हिमाल १४ पटक आरोहण गरिसकेका छन् । लाक्पाले योभन्दा पहिले मकालु २ पटक, सगरमाथा १ पटक, मनास्लु हिमाल २ पटक, ल्होत्से १ पटक आरोहण गरीसकेका छन् ।

सेभेन समिट ट्रेकिंगका फिल्ड मेनेजर समेत रहेका शेर्पाले विश्वकै टेक्निकल हिमालको रुपमा रहेको माउन्ट आमादब्लमको ६ पटक सफल आरोहण गरेका छन् । 

Logo