नेपाली महिलाको संसदीय पहुँच [भिडियोसहित हेर्नुहोस्]

नेपाली महिलाको संसदीय पहुँच [भिडियोसहित हेर्नुहोस्]


आम निर्वाचन २०७९ को मत परिणाम अन्तिम चरणमा पुगेको छ ।

हालसम्म कांग्रेसबाट ५५, एमालेबाट ४४, माओवादी केन्द्रबाट १७, एकीकृत समाजवादीबाट १०, जनता समाजवादी पार्टी, नेपालबाट७, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ७,राष्ट्रिय स्वतन्त्र पार्टीबाट ७,  लोकतान्त्रिक समाजवादी पार्टीबाट ४, नागरिक उनमुक्ति पार्टीबाट ३, राष्ट्रिय जनमोर्चाबाट १, जनमत पार्टीबाट १, नेपाल मजदुर किसान पार्टीबाट १ र स्वतन्त्रबाट ५ प्रतिनिधिसभाको १६५ सिटबाट १६२ सिट विभिन्न दल तथा उम्मेदवारहरुले प्रत्यक्षमा आफ्नो सिट सुरक्षित गरेका छन् ।

तर, यीनै दल आफ्ना महिला उम्मेदवारहरुलाई निर्वाचित गर्न भने सफल हुन सकेनन् । न्यून संख्यामा मात्र महिलाहरु निर्वाचित भएका छन् । 

कुन दलबाट कति र को निर्वाचित ? (२०७९)
यो रिपोर्ट तयार पार्दासम्म २२५ महिला उम्मेद्वारीबाट जम्मा ९ जना मात्रै प्रत्यक्षमा निर्वाचित भएका छन् । सत्तासाझेदार दल नेपाली कांग्रेसबाट १ जना मात्रै महिला निर्वाचित भएकी छन् । त्यसैगरी एमालेबाट ४ जना निर्वाचित भएका छन् । आम निर्वाचन २०७९ मा प्रत्यक्षमा सबैभन्दा धेरै महिला उम्मेद्वार उठाउनेर जिताउने दल एमाले रहेको छ ।  एमालेले चुनावमा ११ जना महिला उम्मेदवार उठाएको थियो । माओवादी केन्द्रबाट १ जना र नागरिक उनमुक्ति पार्टीबाट १ जना महिला निर्वाचित भएका छन् । गत असारमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना महिला प्रत्यक्षमा काठमाडौं उपत्यकाबाट निर्वाचित भएका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी लगायतबाट कोही पनि महिला उम्मेद्वार निर्वाचित भएका छैनन् । 

काँगे्रसबाट प्रत्यक्षमा ५ जना महिला उम्मेदवार थिए । जसबाट निर्वाचित भएकी एक्ली महिला संसाद हुन तेह्रथुमकी सीता गुरुङ । गुरुङले १९ हजार ७ सय २ मत प्राप्त गरिन् । 

एमालेबाट धनुषा ३ मा जुलीकुमारी महतो ३३ हजार ३५५ मतसहित विजयी भएकी हुन् । यसैगरी एमालेबाटै सांसद हुने अर्की महिला नेता हुन् विद्या भटट्राई । कास्की क्षेत्र नम्बर २बाट उम्मेद्वारी दिएकी भटट्राईले १६ हजार ९९८ मत प्राप्त गरेकी हुन । बारा क्षेत्र नम्बर ३ बाट एमालेकी ज्वाला कुमारी साह पनि विजयी भएकी छन।उनले २० हजार २५१ मत प्राप्त गरिन् । एमालेकी अर्की महिला सांसद सुनसरी ३ की उम्मेदवार भगवती चौधरी । उनले ४० हजार ७८८ मत प्राप्त गरेकी छिन् । 

नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले १२ जना महिलालाई प्रत्यक्षमा भिडाएको थियो । जसबाट काठमाडौं उपत्यकामा मात्रै २ जना महिलालाई सांसद बनाउन सफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की ललितपुर ३ बाट निर्वाचित भएकी छिन् । उनले ३१ हजार १ सय ३६ मत प्राप्त गरेकी छिन् । त्यस्तै काठमाडौं २ बाट सोविता गौतम निर्वाचित भइन् । सोविताले १५ हजार २२९ मत प्राप्त गरेकी हुन् । 

माओवादी केन्द्रले ८ जना महिलालाई प्रत्यक्षमा उम्मेदवार बनाएको थियो । तीमध्ये निर्वाचित भएकी एक्ली सांसद रेखा शर्मा हुन् । दाङ २ बाट चुनावमा होमिएकी उनले २६ हजार ८८० मत प्राप्त गरिन् । त्यस्तै नागरिक उनमुक्तिबाट रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् । कैलाली १ बाट चुनावमा होमिएकीरञ्जिताले ३० हजार ४०४ मत ल्याइन् । 

०७४ मा निर्वाचित महिलाहरु को-को हुन त ?
२०७४ को आम निर्वाचनमा प्रत्यक्षमा विभिन्न दलका १२९ महिला उम्मेदवार थिए । जसमा प्रमुख दलहरु कांग्रेसबाट ७, एमालेबाट ५ र माओवादीबाट ४ जना मात्रै महिला थिए । यस मध्येबाट जम्मा ६ जना महिला प्रत्यक्षमा निर्वाचित भएका थिए । पछि ०७६ मा भएको उपनिर्वाचनमा विद्या भटट्राई निर्वाचित भएपछि ७ जना पुगेको हो । 

२०७४ मा प्रत्यक्षमा निर्वाचित हुने अर्की महिला सासंद हुन् राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल । उनी वाम गठबन्धनको साझा उम्मेदवार थिइन । त्यसैगरी,५ जना महिला उम्मेदवार उठाएको एमालेबाट सांसद बनेकी महिला हुन पद्मा अर्याल । प्रत्यक्षमा निर्वाचित हुने अर्की महिला सांसद पवित्रा निरौला खरेल हुन् । 

माओवादी केन्द्रबाट निर्वाचित भएक महिला सांसद पम्फा भुसाल हुन् । त्यसैगरी कमला रोका र बिना मगर पनि अघिल्लो संसदीय निर्वाचनबाट चुनिएका थिए । 

संसदमा हालसम्म कति महिला निर्वाचित भएका छन् त ?

वि.सं. २०१५ को निर्वाचनमा १०९ सदस्यबाट द्वारिकादेवी ठकुरानी डडेलधुराबाट निर्वाचित भएकी थिइन् । यो निर्वाचनमा १५ जना महिला उम्मेद्वार थिए । द्वारिकादेवी पहिलो निर्वाचित महिला सांसद हुन् । २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा २०५ सदस्यमा ८ जना महिला निर्वाचित भएका थिए । २०५१ को निर्वाचनमा२०५ सदस्यमा ७ जना महिला निर्वाचित भएका थिए । 

२०५६ को निर्वाचनमा प्रतिनिधिसभामा २०५ बाट १२ जना महिला निर्वाचित भएका थिए । २०६३ मा पुनःस्थापित संसद् ३३० मा ०५६ मा निर्वाचित १२ महिलासमेत ५७ महिला रहेका थिए । पहिलो संविधान सभा निर्वाचन २०६४ मा ६०१ सदस्यमा ३० जना महिला प्रत्यक्ष निर्वाचित भएका थिए भने समानुपातिक १६१ र मनोनित ६ गरी १९७जना रहेका थिए । 

त्यस्तै, २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा ६०१ सदस्यमा प्रत्यक्षतर्फ १० महिला निर्वाचित भएका थिए भने समानुपातिकतर्फ १५९ र मनोनित ४ गरी १७६ महिला सांसद थिए ।

Logo