डिजिटल भुक्तानीः कोहीलाई सहज त कोहीलाई झन्झट [भिडियाेसहित]

डिजिटल भुक्तानीः कोहीलाई सहज त कोहीलाई झन्झट [भिडियाेसहित]


पछिल्लो समय मौलाउन थालेको डिजिटल भुक्तानीले सबैलाई सहज बनाएको छ । चोकमा होस् या गल्लीमा किराना पसलमा होस् या तरकारी/फलफूल पसलमा अहिले जताततै डिजिटल पेमेन्ट छ । मानिसलाई सहज बनाउनको लागि अहिले जुन सुकै पसलमा पनि क्युआर कोड राख्ने गरेको पाइन्छ । क्युआर कोड नभएका ठाउँहरुमा पनि आफ्नो मोबाइल बैकिङमा पैसा भुक्तानी गर्न लगाउँछन् ।  

शहरमा मात्रै होइन, अहिले गाउँ घरका होटेल, तरकारी बजार, तथा खुद्रा पसलदेखि ठूला–ठूला व्यापार गर्ने स्थलहरुमा पनि क्यूआर कोडको प्रयोग बढ्दै गएको छ ।  पछिल्लो पुस्ताहरुको हातमा स्मार्ट फोनको पहुँचसँगै बैक खाता पनि सबैसँग हुने भएकाले गाउँमा पनि डिजिटल भुक्तानीको प्रयोग बढ्दै गएको हो ।  

पछिल्लो समय नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारको प्रयोग बढाउन निर्देशन पनि दिँदै आइरहेको छ । डिजिटल पेमन्टले आम सर्वसाधारणलाई सहज त बनाएको छ नै त्यो भन्दा पनि धेरै व्यापारीहरुलाई फाइदा गरेको छ । तर, कोही व्यापारीहरु भने अनलाइन भुक्तानी झन्झटिलो मान्छन् । 

काठमाडौंको कालीमाटीमा आलु, तथा प्याज भण्डारण गरेर विक्री गर्दै आएका आएका रविन्द्र कुमार शाह डिजिटल भुक्तानीले धेरै सहज बनाएको बताउछन् । उनी भन्छन्,‘डिजिटल पेमेन्टबाट धेरै फाइदा हुन्छ । किनकी आफ्नो मोबाइलबाट पेमेन्ट गर्यो भने हाम्रो पनि बैंकमा जान्छ अनि ढुक्क हुन्छ । नगद दियो भने त्यो नगदलाई जम्मा गर्नका लागि बैंक धाउनुपर्यो, लाइन बस्नुपर्यो त्यसैले सबै झन्झटबाट मूक्त हुन डिजिटल पेमेन्ट नै सहज हुन्छ ।’

त्यस्तै, कालिमाटीमै तरकारी व्यापार गर्दै आएका बालमुकुन्द श्रेष्ठ पनि अनलाइन पेमेन्ट नै सहज भएको बताउँछन् । 

हरेक व्यापारीसँग आफ्नै अनुभव छ– कसैलाई डिजिटल पेमेन्ट सहज त कसैलाई नगद सहज । सानो पसल भएका र छिटो छिटो सामान किनिरहनु पर्ने ठाउँका व्यापारीहरु भने नगद नै दिएको राम्रो मान्छन् । ‘सामान ल्याइराख्नुपर्ने भएकाले नगद नै सहज लाग्छ । क्यास भयो भने बैंकमा लाइन बसिरहनुपर्ने झन्झट पनि भएन ।’ उनीहरु भन्छन्, त्यसैले ग्राहकले नगद नै दिए हुन्थ्यो जस्तो लाग्छ । 

त्यस्तै असनमा कपडा व्यापार गरिरहेका रबिन पाण्डेको भने फरक बुझाइ छ । उनलाई नत नगद गाह्रो लाग्छ । नत डिजिटल पेमेन्ट नै । बस उनलाई त आएका ग्राहकले जताबाट भएपनि पैसा तिरिदिए भयो । उनी दुवैलाई समान रुपले हेर्छन् । भन्छन्, ‘अहिले धेरै माध्यमबाट पैसा तिर्ने सिस्टम आएको छ । तर, अनलाईन पैसा तिर्दा पनि कतिपयलाई गाह्रो हुन्छ । सहज चै दुबैमा छ ।’

डिजिटल बैकिङको केन्द्र काठमाडौं मात्र नभई अन्य शहर तथा गाउँहरुमा पनि विस्तार भइसकेको छ । थुप्रै ठाउँहरुमा मानिसहरु क्युआर कोड, मोवाइल बैंकिङ्ग तथा डिजिटल वालेटहरुको प्रयोगलाई तीव्र बनाउन लागेका छन् । डिजिटल पेमेन्टले ब्यापारीहरु मात्र नभई सर्वसाधारणलाई समेत सहज हुँदै गएको छ ।

Logo