विश्वकपको ट्रफी हन्टका लागि अर्जेन्टिना र फ्रान्सको महाभिडन्त

विश्वकपको ट्रफी हन्टका लागि अर्जेन्टिना र फ्रान्सको महाभिडन्त

केन्द्रबिन्दु
0
Shares

साविक विजेता फ्रान्सले दोस्रो सेमिफाइनलमा ‘जायन्ट किलर’ मोरक्कोलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२२ को उपाधिका लागि अर्जेन्टिनासँग भेट पक्का गरेको छ । बुधबार दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेसँगै ह्युगो लोरिसको कप्तानीमा फ्रेन्चटोलीले उपाधिका लागि लियोनल मेस्सीको अर्जेन्टिनासँग भेट पक्का गरेको हो ।

अकोतर्फ अर्जेन्टिना पनि पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराउँदै फाइनलका लागि स्थान सुरक्षित गरिसकेको छ । अब यी दुई टोलीबीचको फाइनल खेल आइतबार राति ८ः४५ बजे लुसेल स्टेडियममा हुनेछ ।

हालसम्म अर्जेन्टिना र फ्रान्सले दुई÷दुईपटक विश्वकप उपाधि हात पारेका छन् । अब दुबै टोलीको लक्ष्य तेस्रोपटक उपाधि जित्नु हुनेछ । यदि अर्जेन्टिनालाई हराएमा फ्रान्स ब्राजिलपछि लगातार दुई विश्वकप उपाधि जित्ने राष्ट्र बन्नेछ । फ्रान्सले गत संस्करणमा क्रोएसियालाई हराउँदै उपाधि जितेको थियो । उसको सामु लगातार दोस्रोपटक उपाधि जित्ने मौका छ । यद्यपि शानदार लयमा रहेको अर्जेन्टिनाविरुद्ध फ्रान्सलाई त्यो उपलब्धि हासिल गर्न त्यति सहज भने छैन ।

तेस्रोपटक विश्वकप उपाधिको खोजीमा रहेको अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्पकपको उपाधि जितेको थियो । त्यसयता ऊ दुई पटक फाइनल र तीन पटक क्वार्टरफाइनलसम्म पुगे पनि उपाधि भने जित्न सकेको छैन । विश्वकपमा अर्जेन्टिना र फ्रान्स १९३०, १९७९ र २०१८ गरी ३ भेट भएको छ । पहिलो २ भेटमा समूह चरणमा भएको थियो जुन अर्जेन्टिनाले सहजै जितेको थियो । तर सन् २०१८ मा रसियामा भएको विश्वकपमा अर्जेन्टिनालाई राउण्ड अफ १६ मा हराएको थियो । 

जारी प्रतियोगितामा अर्जेन्टिना त्यो हारको बदला लिदै विश्वकपको ट्रफी जित्न चाहन्छ । समग्रमा अहिलेसम्म फ्रान्स र अर्जेन्टिनाले १२ खेल एकअर्काविरुद्ध खेलेका छन् । जसमा अर्जेन्टिनाले ६ खेलमा जित निकालेको छ भने फ्रान्सले तीन खेल जित्दा बाँकी तीन खेल भने बराबरीमा टुङगिएको छ ।

जारी प्रतियोगितामा अर्जेन्टिनाको प्रदर्शन 
समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरबसँग २–१ को हार बेहोर्दै खराब सुरुआत गरेको थियो । दोस्रो खेलमा पोल्यान्ड र तेस्रो खेलमा मेक्सिकोलाई क्रमशः २–० गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिना समूह विजेताको हैसियतले अन्तिम १६ प्रवेश गरेको थियो । अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ को नतिजामा हराउँदै क्वार्टरफाइनल पुगेको अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध पेनाल्टीमा नाटकीय जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको थियो । यस्तै सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई हराएसँगै अर्जेन्टिना ८ वर्षपछि फाइनल पुगेको हो । यसअघि सन् २०१४ को विश्वकपमा फाइनल पुगेको अर्जेन्टिनाले थप गरिएको समयमा जर्मनीसँग १–० को हार बेहोर्दै उपविजेता भएको थियो ।

जारी प्रतियोगितामा फ्रान्सको प्रदर्शन 
समूह ‘डी’ मा रहेको फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ गोलको नतिजामा पराजित गर्दै सानदार सुरुआत गरेको थियो । यस्तै दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हराउँदै एक खेल अगावै अन्तिम १६ पुगेको फ्रान्स समूह चरणको अन्तिम खेलमा ट्युनिसियासँग १–० गोलले पराजित भएको थियो । पराजित भएपनि फ्रान्स समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको थियो । यस्तै फ्रान्सले अन्तिम १६ को खेलमा पोल्यान्डलाई ३–१ ले क्वार्टरफाइनलमा इङल्यान्डलाई २–१ ले र सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो ।

आइतबार हुने फाइनल खेलमा अर्जेन्टिना र फ्रान्सका दुई दुई गरी ४ फरवार्ड गोल्डन बुटका दाबेदार रहेका छन् । जसमा अर्जेन्टिनाका मेस्सी र फ्रान्सका एम्बाप्पेले समान ५ गोल गरेका छन् भने फ्रान्सका जिरुड र अर्जेन्टिनाका अल्भारेजले समान ४ गोल गरेका छन् । मेस्सी ४ खेलमा उत्कृष्ट खेलाडीले प्राप्त गर्ने अवार्डले सम्मानित भइसकेकाले फाइनलमा उनले एक गोल मात्रै अथवा एउटा असिस्ट मात्रै पनि गरे पनि गोल्डन बुट र सर्बोत्कृष्ट खेलाडीले प्राप्त गर्ने गोल्डन बल पनि जित्न सक्छन् । मेस्सी र एमबाप्पेले व्यावसायिक फुटबल भने एउटै क्लब पीएसजीबाट खेल्छन् । 

आइतबारको खेलपछि मेस्सीले अर्को संस्करणको विश्वकपमा भाग नलिने घोषणा गरिसकेका छन् । सोही कारण अर्जेन्टाइन खेलाडीहरु मेस्सीलाई विश्वकपको उपाधि जिताएर सुखद बिदा गर्न चाहन्छन् । यस्तै १९ वर्षको उमेरमै फ्रान्सका लागि विश्वकप जितेका एमबाप्पे दोस्रो पटक सोही उपाधिलाई जित्दै आफ्नो खेल आइडल क्रिस्टियानो रोनाल्डोलाई समर्पण गर्न चाहन्छन् । तर उनको यात्राको बाधकका रुपमा लियोनल मेस्सी उभिएका छन् । क्लबमा एकसाथ खेल्ने यी दुई खेलाडी आइतबार समकक्षी भन्दा दुस्मनका रुपमा उभिने छन् । उपाधिको छिनोफानो धेरै हदसम्म यी दुई खेलाडीको प्रदर्शनका आधारमा पनि आउने निश्चितप्राय छ । 

 

Logo