साउदी क्लब अल नासरले सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई आफ्नो जर्सीमा औपचारिक रूपमा सार्वजनिक गरेको एकसाता पनि बितेको छैन, तर रोनाल्डोको अरब क्रेज भने ह्वात्तै बढेको छ ।
साउदी अरबकै घरेलु मैदान मिसूल पार्कमा रोनाल्डोको सार्वजनिक कार्यक्रम हेर्न रंगशालामा हजारौंको संख्यामा दर्शक उपस्थित भएका थिए । करिब डेढ घण्टासम्म चलेको औपचारिक कार्यक्रममा रोनाल्डो आफ्नो परिवार सहित सार्वजनिक भएका थिए । रंगशालामा सार्वजनिक भएपछि क्लबका अध्यक्ष र रोनाल्डोले आपसी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । रोनाल्डो परिवारसहित निजी विमान चढेर साउदी पुगेका थिए ।
‘युरो स्पोर्ट्स’का अनुसार रोनाल्डोको सार्वजनिक कार्यक्रमलाई विश्वभरबाट हेर्नेको संख्याले नयाँ विश्व रेकर्ड बनाएको छ । अल नासरद्वारा रोनाल्डोको सार्वजनिक कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गर्न विश्वभरबाट ४० वटा मिडिया तथा टीभी–च्यानललाई राइट्स बेचेको थियो । ती सबै च्यानल तथा मिडियामार्फत् रोनाल्डोको सार्वजनिक कार्यक्रम हेर्नेको संख्यामा विश्व रेकर्ड बनेको हो । ‘युरो स्पोर्ट्स’का अनुसार रोनाल्डोको सार्वजनिक कार्यक्रमलाई विश्वभरबाट हेर्नेको संख्या ३ बिलियन नाघेको थियो । जुन आजसम्म फुटबलको इतिहासमा यो संख्यामा कुनै पनि खेलाडीको कार्यक्रम हेरिएको थिएन ।
रिपोर्टका अनुसार रोनाल्डोको सार्वजनिक कार्यक्रमलाई विश्वभरबाट हेर्नेको संख्या हालै कतारमा सम्पन्न फिफा विश्वकपको फाइनलभन्दा पनि बढी थियो । विभिन्न सामाजिक सञ्जालको प्रयोगगरी कार्यक्रम हेर्नेको संख्या अझै बढी छ । अल नासरले आफ्नो मिडिया बाहेक ४० मिडिया तथा टिभी–च्यानललाई रोनाल्डोको सार्वजनिक कार्यक्रमलाई प्रसारण गर्न ‘राइट्स’ बेचेको थियो । अरबिक मिडियाका रिपोर्ट अनुसार अल नासरले आफ्ना नयाँ खेलाडी रोनाल्डोको सार्वजनिक कार्यक्रमलाई विश्वभरमा लाइभ प्रसारण गर्न ‘राइट्स’ बिक्रीबाट मनग्गे आम्दानी गरेको छ ।
विश्वभरबाट ४० च्यानलमार्फत् रोनाल्डोको कार्यक्रमलाई लाइभ प्रसारण गर्न दिएबापत अल नासरले विश्वभरबाट ५५ मिलियन युरो कमाइ गरेको छ । यो भनेको ७ अर्ब ७१ करोड रुपैया बराबर हो । एक खेलाडीलाई क्लबले आफ्नो रंगशालामा सार्वजनिक गर्नका लागि आयोजना गरेको डेढ घण्टाको कार्यक्रमको ‘राइट्स’ बेचेर एउटा क्लबले कमाएको यो पैसा ठूलो राशी हो ।
यस्तै, क्रिस्टियानो क्लब अल नासरमा आउनुअघि अल नासरको इन्टाग्राममा ८ लाख ६० हजार मात्र फलोअर थिए । तर रोनाल्डो अल नासरमा आएको एक हप्ता नबिप्दै फ्लोअरको संख्यामा बाढी आएको छ । एक हप्तामै रोनाल्डोका कारण अल नासरको फलोअर यो रिपोर्ट तयार गर्दासम्म १ करोड ६ लाख नाघिसकेको छ । यस्तै रोनाल्डो अल नासर आएपछि अल नासरको आधिकारिक वेवसाइट केही समयका लागि बन्द भएको थियो ।
क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरसँग वार्षिक १७ करोड ७० लाख पाउण्डमा अनुबन्धित भएका हुन् । सम्झौताअनुसार रोनाल्डो अल नासरमा सन् २०२५ सम्म रहनेछन् । सन् १९५५ मा स्थापित अल नासर क्लब साउदी अरबको शीर्ष डिभिजन क्लब हो ।
लिग फुटबलमा साउदीको दोस्रो सफल क्लब हो अल नासर । यो क्लबले ९ पटक साउदीको घरेलु लिग एसपीएलको उपाधि जितेको छ । यस क्लबले पछिल्लो पटक २०१८–१९ को सिजनमा लिग जितेको थियो । यस्तै, अल नासरले ६ पटक किङग्स कप पनि जितेको छ । रोनाल्डोले अल नासरमा आफ्नो पहिलो खेल २२ जनवरी अर्थात माघ ८ गते राती ११ः१५ बजे अल सबाबका विरुद्ध खेल्नेछन् । रोनाल्डो अल नासरमा आबद्ध भएपनि इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडमा रहँदा फ्यानलाई दुर्व्यवहार गरेका कारण २ खेलमा प्रतिबन्धित भएका थिए, जुन साउदी क्लब अल नासरमा पनि लागु रहेको छ ।





























प्रतिक्रिया