फिफाले प्रत्येक वर्ष फिफा उत्कृष्ट खेलाडी अवार्ड प्रदान गर्दै आएको छ । फिफाले प्रत्येक वर्ष खेलाडीको खेल प्रदर्शनीको आधारमा उत्कृष्ट खेलाडी छनोट गर्छ । त्यसपछि खेलाडीको व्यक्तिगत स्तर र टोलीमा पुर्याएको योगदानलाई मापन गरिन्छ । साथै खेलाडीको मैदान बाहिर र मैदान भित्रको सबै आचरण हेरिन्छ । यी सबै प्रकृया पूरा गरेपछि फिफाका उम्मेदवार, खेलकुद मिडिया प्रतिनिधि, राष्ट्रिय टोलीका प्रशिक्षक, राष्ट्रिय टोलीका कप्तान लगायतको भोटलाई २५ प्रतिशत मानी फिफाले अन्तिम निर्णय सुनाउने गर्छ । यो वर्षको अवार्ड फेबु्रअरी २७ का दिन सार्वजनिक गरिने फिफाले जनाएको छ ।
जारी वर्ष उत्कृष्ट खेलाडीले जित्ने अवार्डमा मेसी सबैभन्दा अग्रस्थानमा छन् । फिफा विश्वकप २०२२ को उत्कृष्ट खेलाडीसमेत भएका मेसीले आफ्नै कप्तानीमा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप जिताएका थिए । मेसीसँगै ब्राजिलका नेयमार, फ्रान्सका केलियन एम्बाप्पे, अर्जेन्टिनाका जुलियन अल्भारेज, क्रोएसियाका लुका मोड्रिच, इजिप्टका मोहमम्द सलाह, सेनेगलका साडीयो माने, पोल्याण्डका रोवर्ट लेवान्डोस्की, नर्वेका एर्लिङ हलाण्डसहित १४ जना मनोनयनमा परेका छन् ।
फिफाले पुरूषसँगै उत्कृष्ट महिला, उत्कृष्ट पुरूष प्रशिक्षक, उत्कृष्ट महिला प्रशिक्षकको मनोनयनसमेत सार्वजनिक गरेको छ । यस्तै उत्कृष्ट पुरूष गोलकिपर र महिला गोलकिपरको मनोनयनसमेत सार्वजनिक गरिएको छ । मतदान फेब्रअरी ३ सम्म चल्नेछ । फिफाले हरेक विधाका उत्कृष्ट तीन जना खेलाडीलाई छनोट गरी एक महिनापछि विजेता घोषणा गर्नेछ । गतवर्ष यो अवार्ड रोबर्ट लेवान्डोस्कीले जितेका थिए । लेवान्डोस्कीले मेसीलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।
यी हुन् मनोनयनमा परेकामध्ये मुख्य दाबेदार खेलाडी-
१. लियोनल मेसी
अर्जेन्टिनाका महान खेलाडी मेसीको बारेमा भन्न र सुन्न सायदै केही बाँकी होला । ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउँदा सात गोल र तीन असिस्ट गर्दै गोल्डेन बल जितेको कुरा हामी सबैलाई थाहा छ । मेसी कतार विश्वकपमा अर्जेन्टिनाको सर्वकालीन शीर्ष स्कोरर मात्र बनेनन् विश्वकपमा दर्जन भन्दा बढी रेकर्डहरु पनि राख्न सफल भए । कतार विश्वकप जितेसँगै मेसीलाई पेले र म्याराडोनासँग दाँजेर हेर्न थालिएको छ । जारी वर्ष फिफा विश्वकप जित्न सफल मेसी फिफाको वेस्ट अवार्डका लागि सबैभन्दा अग्रस्थानमा छन् ।
२. केलियन एमबापे
कतार विश्वकपमा फ्रान्सलाई फाइनलसम्म पुर्याउन सबैभन्दा महत्वपूर्ण खेलाडी थिए केलियन एमबापे । फाइनलमा अर्जेन्टिनासँग पेनाल्टीमा पराजित भएपछि एमबापेले ह्याट्रिक गरी गोल्डेन बुट जित्दै आफ्नो क्षमता सम्पूर्ण विश्वलाई देखाएका थिए । दोस्रो विश्वकप खेलिरहेका २४ वर्षीय एमबापेले सन् २०१८ मै आफ्नो लागि विश्वकपको ट्रफी जितिसकेका छन् । जारी वर्ष एमबापेले १ फ्रेन्च लिग र फ्रान्सलाई फाइनलसम्म पुर्याएकाले उनको दाबेदारी पनि महत्वपूर्ण मानिएको छ ।
३. नेयमार जुनियर
विश्वकपमा ब्राजिललाई क्वाटरफाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका खेलाडी हुन् नेयमार । तर ब्राजिल क्वाटरफाइनलमा क्रोयसियासँग पेनाल्टीमा पराजित हुँदै बाहिरिएको थियो । ब्राजिलियन स्टार नेयमारले जारी वर्ष पीएसजीका लागि एक लिग वानको उपाधि जिताउन मद्दत गरेका थिए । सोही कारण नेयमार पनि मनोनयमा परेका हुन् ।
४. मोहमद सलाह
इजिप्सियन स्टार मोहमद सलाह लिभरपुलका लागि गोल मेसिन नै हुन् । गत सिजन लिभरपुलका लागि २ घरेलु लिग जिताउन सलाहले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सलाहले सो सिजन प्रिमियर लिगमा फेरि गोल्डेन बुटसँगै दोस्रो पटक पीएफए प्लेयर अफ द इयर पनि जितेका थिए । सलाहले फिफाको उत्कृष्ट खेलाडीको अवार्डमा दुई पटक तेस्रो स्थान हासिल गर्न सफल भइसकेका छन् । यस्तै सलाहले सन् २०१८ को फिफा पुस्कस अवार्ड पनि जितेका थिए ।
५. रोबर्ट लेवान्डोस्की
पोल्याण्डका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्की बार्यन म्युनिखमा रहँदा क्लबका लागि गोल र ट्रफी सबै जिते । यसै सिजन बार्सिलोना आएका लेवान्डोस्की गत वर्षका उपाधि विजेता पनि हुन् । २ विश्वकप खेलेका लेवान्डोस्कीले कतार विश्वकपमा एक पेनाल्टी मिस गरेपनि गोलको खाता खोल्न भने सफल भएका थिए ।
लेवान्डोस्कीसँगै फिफाद्धारा मनोनयनमा परेका खेलाडी तथा प्रशिक्षक को–को छन् त ?
१. उत्कृष्ट पुरुष खेलाडीहरु
- जुलियन अल्भारेज (अर्जेन्टिना/म्यानचेस्टर सिटी)
- जुड बेलिङहम (इंग्ल्याण्ड/बोरुसिया डर्टमुन्ड)
- करिम बेन्जेमा (फ्रान्स/रियल म्याड्रिड)
- केभिन डि ब्रुएन (बेल्जियम/म्यानचेस्टर सिटी)
- एर्लिङ हालान्ड (नर्वे/बोरुसिया डर्टमुन्ड/म्यानचेस्टर सिटी)
- अचरफ हाकिमी (स्पेन/पिएसजी)
- रोबर्ट लेवान्डोस्की (पोल्याण्ड/बायर्न म्युनिख/बार्सिलोना)
- साडियो माने (सेनेगल/लिभरपुल/बायर्न म्युनिख)
- केलियन एमबाप्पे (फ्रान्स/पिएसजी)
- लियोनेल मेस्सी (अर्जेन्टिना/पीएसजी)
- लुका मोड्रिच (क्रोएसिया/रियल म्याड्रिड)
- नेयमार (ब्राजिल/पीएसजी)
- मोहम्मद सलाह (इजिप्ट/लिभरपुल)
- भिनिसियस जुनियर (ब्राजिल/रियल म्याड्रिड)
२. उत्कृष्ट महिला खेलाडीहरु
- एइटाना बोनमाटी (स्पेन/बार्सिलोना)
- देबिन्हा (ब्राजिल/उत्तरी क्यारोलिना करेज)
- जेसी फ्लेमिङ (क्यानाडा/चेल्सी)
- अडा हेगरबर्ग (नर्वे/लियोन)
- साम केर (अष्ट्रेलिया/चेल्सी)
- बेथ मिड (इंग्ल्याण्ड/आर्सनल)
- भिभियन मिडेमा (नेदरल्याण्ड्स/आर्सनल)
- एलेक्स मोर्गन (यूएसए/ओर्लान्डो प्राइड/सान डिएगो वेभ)
- लिना ओवेरड्रफ (जर्मनी/वल्फ्सवर्ग)
- अलेक्जान्ड्रा पप (जर्मनी/वल्फ्सबर्ग)
- एलेक्सिया पुटेलास (स्पेन/बार्सिलोना)
- वेन्डी रेनार्ड (फ्रान्स/लियोन)
- केइरा वाल्स (इंग्ल्याण्ड/म्यानचेस्टर सिटी/बार्सिलोना)
- लेह विलियमसन (इंग्ल्याण्ड/आर्सनल)
३. उत्कृष्ट पुरुष प्रशिक्षकहरु
- कार्लो एन्सेलोटी (इटाली/रियल म्याड्रिड)
- डिडियर डेसच्याम्पस (फ्रान्स)
- पेप गुआर्डीओला (स्पेन/म्यानचेस्टर सिटी)
- वालिद रेग्रागुई (मोरक्को)
- लियोनेल स्कालोनी (अर्जेन्टिना)
४. उत्कृष्ट महिला प्रशिक्षकहरु
- सोनिया बोम्पास्टर (फ्रान्स/ओलम्पिक लियोन)
- एम्मा हेस (इंग्ल्याण्ड/चेल्सी)
- बेभ प्रिस्टम्यान (इंग्ल्याण्ड/क्यानडा)
- पिया सुन्धगे (स्वीडेन/ब्राजिल)
- मार्टिना भोस–टेकलेनबर्ग (जर्मनी)
- सरिना विग्म्यान (नेदरल्याण्ड्स/इंग्ल्यान्ड)
५. उत्कृष्ट पुरुष गोलकिपरहरु
- एलिसन बेकर (ब्राजिल/लिभरपुल)
- यासिन बोनौ (मोरक्को/सेभिल्ला)
- थिबाउट कोर्टोइस (बेल्जियम/रियल म्याड्रिड)
- एडरसन (ब्राजिल/म्यानचेस्टर सिटी)
- एमिलियानो मार्टिनेज (अर्जेन्टिना/एस्टन भिल्ला)
६. उत्कृष्ट महिला गोलकिपरहरु
- एन–क्याट्रिन बर्गर (जर्मनी/चेल्सी)
- मेरी इपस (इंग्ल्याण्ड/म्यानचेस्टर युनाइटेड)
- क्रिस्टियन एन्डलर (चिली/ओलम्पिक लियोन)
- मेरले फ्रोहम्स (जर्मनी/फ्रान्कफुर्ट र वल्फ्सवर्ग)
- एलिसा नेहर (अमेरिका/शिकागो रेड स्टार्स)
- सान्ड्रा पानोस गार्सिया–भिल्लामिल (स्पेन/बार्सिलोना)





























प्रतिक्रिया