युरोप च्याम्पियन रियल मड्रिडले फेब्रुअरीबाट मोरक्कोमा हुने क्लब विश्वकपमा अमेरिकी च्याम्पियन सिआटल साउन्डर्ससँग भिड्ने भएको छ । ४ पटकको फिफा क्लब विश्वकप च्याम्पियन रियल मड्रिड जारी सिजन पनि आफ्नो पोल्टामा पार्दै उपाधि सङख्या ५ बनाउने तरखरमा छ । फिफाले क्लब विश्वकप फुटबलको ड्र सार्वजनिक गरेसँगै विश्वभर यसको चर्चा चुलिएको छ । फिफाका अनुसार प्रतियोगिता आगामी फेब्रअरी १ देखि ११ फेब्रुअरीसम्म चल्नेछ ।
क्लब विश्वकप फुटबल महादेशस्तरको च्याम्पियन क्लबहरूले खेल्ने प्रतियोगिता हो । अर्थात्, महादेशको सबैभन्दा ठूलो क्लब प्रतियोगिता जित्ने ७ महादेशका क्लबहरुले उपाधिका लागि खेल्नेछन् । जस्तै युरोपबाट युईएफए च्याम्पियन्स लिग विजेता र एसियाबाट एफसी च्याम्पियन्स लिग विजेता क्लब फिफा विश्वकपमा छनौट हुनेछ । त्यसैगरी, अन्य महादेशबाट पनि महादेशस्तरको प्रतियोगिता जित्ने क्लब विश्वकपका लागि छनौट हुनेछ । साथमा, आयोजक देशको टोली पनि प्रतियोगितामा समावेश हुनेछ । तर, यो सिजन आयोजक देश मोरक्कोको क्लब वाईडाड कासेब्लान्का क्लब नै अफ्रिकी महादेशको च्याम्पियन भएकाले आयोजक देशबाट अर्को टिमले प्रवेश पाउने छैन ।
महादेशबाट च्याम्पियन बन्न नसकेको कुनै क्लब प्रतियोगिताको आयोजक रहेको अवस्थामा मात्रै अर्को टोलीलाई प्रवेश दिइने नियम रहेको छ । अर्थात्, यसपटक मोक्कोको क्लब वाईडाड कासेब्लान्का अफ्रिकी महादेशको च्याम्पियन नभएको भए मोरक्कोको अर्को क्लब सोझै प्रतियोगितामा सहभागी हुन पाउने थियो । यस वर्ष हुन लागेको फिफा क्लब विश्वकप हाल कायम रहेको ढाँचामा हुने अन्तिम संस्करणको प्रतियोगिता हो । किनभने फिफाले यसअघि नै आगामी संस्करणबाट नयाँ ढाँँचामा क्लब विश्वकप आयोजना गर्ने घोषणा गरिसकेको छ । जसमा सहभागी टिमको संख्या ७ बाट बढाएर एकैपटक ३२ पुर्याइएको छ । फिफाले कतार विश्वकपका दौरान नै यो ढाँचामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको थियो । जारी सिजनपछि नै नयाँ ढाँचा लागू हुनेछ । सहभागी टिमलाई ७ बाट बढाएर ३२ बनाउँदा क्लब छनौट गर्ने ढाँचा कस्तो हुन्छ भन्ने कुरा फिफाले अहिलेसम्म तय भने गरिसकेको छैन ।
जारी सिजन ड्र यस्तो छ–
ड्र अनुसार गत सिजन युईएफए च्याम्पियन्स लिग जितेको रियल मड्रिडले सोझै सेमिफाइनल खेल्न पाउने छ । उसले प्रतियोगिताको पाँचौं दिनमा हुने दोस्रो सेमिफाइनल खेलमा सियाटल साउन्डर्स विरुद्ध अल अहली÷अकल्यान्ड सिटी बीच हुने खेलको विजेतासँग खेल्नेछ । रियल मड्रिडले सेमिफाइनल खेल्नुअघि पहिलो र दोस्रो चरणका खेल हुनेछन् । यी दुई चरणका खेलपछि मात्र सेमिफाइनलको समीकरण पूरा हुनेछ । रियल मड्रिड क्लब विश्वकपको सर्वाधिक सफल टोली हो । उसले अहिलेसम्म ४ उपाधि आफ्नो पोल्टामा पारिसकेको छ । रियल मड्रिडले सन् २०१६, १७ र १८ मा गरी तीन पटक ट्रफी जिती ह्याट्रिक गरेको थियो । इङ्लिस क्लब चेल्सी डिफेन्डिङ च्याम्पियन टोली हो ।
फिफाले सार्वजनिक गरेको खेल तालिका
म्याच डे १ (पहिलो चरण) – अल अहली विरुद्ध अकल्यान्ड सिटी
म्याच डे २ (दोस्रो चरण)– सिएटल साउन्डर्स विरुद्ध म्याच डे १ को विजेता
म्याच डे ३ (दोस्रो चरण)– वाईडाड कासाब्लान्का विरुद्ध अल हिलाल सिएफसी
म्याच डे ४ (सेमिफाइनल १)– सिआर फ्लामेङ्गो विरुद्ध म्याच डे ३ को विजेता
म्याच डे ५ (सेमिफाइनल २)– म्याच डे २ को विजेता विरुद्ध रियल मड्रिड
म्याच डे ६ (फाइनल) – सेमिफाइनल १ को विजेता विरुद्ध सेमिफाइनल २ को विजेता





























प्रतिक्रिया