पोखरा–२५ हेम्जाका राजन सापकोटा तीन वर्षअघि अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) पाए र अमेरिका गए । गत वर्ष माघ २२ मा नेपाल आएर पोखराकै अनिशा बानियाँसँग उनले लगनगाँठो कसे र अमेरिका फर्के । श्रीमतीलाई पनि सँगै लिएर जाने भन्दै उनी पुस २८ मा नेपाल फर्के । ९ महिनापछि अमेरिकाबाट फर्केका श्रीमानलाई लिन काठमाडौं अनिशा पनि काठमाडौं आइन् । यो जोडीले काठमाडौंमा दुई दिन बितायो । नौं महिनामा घर फर्किनु हुँदैन भनेर दशौं महिनाको पहिलो दिनलाई शुभदिन मानेर घर फर्किन विमान चढेका उनीहरुको दिन जीन्दगीकै अशुभ दिन बन्यो । उनीहरू आकाशमै बिलाए । बिहेको एक वर्ष पनि नहुँदै भएको यो जोडीको दुखान्त निधनले परिवार विक्षिप्त छ ।
त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर आफ्नो दश महिने छोराका साथ माघी मनाउन पोखरा गएका थिए । डा. श्रेष्ठकी श्रीमती पनि अर्थोपेडिकको डाक्टर भएपनि उनी भने ट्रमा सेन्टरमा कार्यरत थिइनन् । पोखरा स्थायी घर भएका डा. श्रेष्ठ आफ्नी श्रीमती र बालक छोरा पोखरा नपुग्दै एक चिहान भए ।
यती एअरलाइन्सको विमानमा एयरहोस्टेसको रुपमा केही महिनाअघि मात्र काम थालेकी चितवनकी ओसिन गुरुङको परिवार छियाछिया छ । लाजिम्पाटमा गल्र्स होस्टेल पनि चलाउँदै आएकी ओसिन कलिलो उमेरमै आकाशमै विलाइन् ।
त्यसैगरी प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौँ आएका थिए । पदाधिकारीको बैठक सकेर आइतबार उनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम थियो । प्रधानमन्त्रीको व्यस्तताका कारण उनलाई आइतबार बिहान भेट्न सम्भव नभएपछि पौडेलले आफ्नो दिउँसो २ बजेको टिकट बिहान सारेर पोखराका लागि उडे । पत्रकार पौडेल बिहानको उडानबाट घर आउने जानकारी श्रीमती प्रतिभालाई पनि थिएन । यतिसम्म कि बिहान ११ बजेर १५ मिनेटतिर पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको खबर पाउँदा पनि प्रतिभालाई आफ्नो श्रीमान् पनि त्यही विमानमा थिए भन्ने हेक्का थिएन । दिउँसोको टिकट काटेको भन्दै उनी श्रीमान् विमानमा नभएको भन्दै मन भुलाउने प्रयासमा थिइन् ।
सामाजिक सञ्जालमा सार्वजनिक यात्रुको सूचीमा श्रीमानको नाम देखेपछि भने उनको मनको शङ्का बढ्दै गयो । जब पटकपटकको प्रयासमा पनि फोन सम्पर्क हुन नसकेपछि भने शङ्का यथार्थमा बदलियो । उमेरले ३७ वर्ष पुगेका पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासङ्घ गण्डकीका संस्थापक अध्यक्ष, महासङ्घ कास्कीका पूर्वउपाध्यक्ष एवं प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्षसमेत भइसकेका थिए । पौडेल तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको प्रेस संयोजकका रुपमा समेत काम गरेका थिए । विसं २०७५ मा विवाह गरेका पौडेलका एक छोरा पनि छन् । पोखराबाट प्रकाशित हुने हटलाइन राष्ट्रिय दैनिकको सञ्चालकसमेत रहेका पौडेल रेडियो अन्नपूर्ण, नेपाल टेलिभिजन, हिमाल खबर पत्रिकालगायत सञ्चारमाध्यममा काम गरेका थिए ।
दुर्घटनामा ब्रिटिश वेलफेयर अस्पतालमा कार्यरत डा.गणेश थापाको पनि निधन भएको छ । बुटवल घर भएका ३६ वर्षीय थापा काठमाडौंमा परिवारलाई भेटेर पोखरा फर्किँदै गरेको अवस्थामा दुर्घटनामा परेका हुन् । डा. थापाले चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन गरेका थिए भने अस्ट्रेलियाबाट एमपीएच गरेका थिए ।
रुपन्देहीकी सिर्जना हुङचुङ बोइङको परिचारिका बन्ने लाइनमा थिइन् । यती एयरलाइन्समा २०७२ देखि उनले काम सुरु गरेकी थिइन् । मेहनत र लगावले उनको निरन्तर बढुवा भइरहेको थियो । एयर होस्टेसको तालिम सके लगत्तै उनले सात वर्षअघि जागिर पाएकी थिइन् । तर आइतबारको दुर्घटनामा उनका सारा सपना आकाशमै बिलाए ।
दुर्घटना भएको जहाजको कोपाईलट विराटनगरकी अञ्जु खतिवडाका पतिको १६ वर्ष अगाडि यती एयरलाईन्सकै जहाज दुर्घटनामा मृत्यु भएको थियो । दुर्भाग्यपूर्ण संयोग ! पतिवियोगपछि आफू पनि पाइलट बन्ने अठोट लिएकी उनी पनि १६ वर्षपछि विमान दुर्घटनामै अस्ताउन पुगिन् । त्यो पनि यती एयरलाइन्समै । जुम्लाको विमानस्थलमा २०६३ सालको जेठ २९ गते भएको यती एयरलान्सको जहाज दुर्घटनामा अञ्जुका पति को–पाइलट दीपक पोखरेलको मृत्यु भएको थियो ।
आफ्नो जीवनका ३५ वर्ष आकाशमै बिताएका अनुभवी क्याप्टेन कमल केसी काठमाडौंको बुढानीलकण्ठ निवासी हुन् । पाइलट केसीले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए । उनी यती एयरलाइन्सको ७२ सिटे एटीआर जहाजको प्रशिक्षक पाइटल समेत हुन् । लामो समय सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगममा ट्वीनअटर जहाज चलाएका केसी निगम छोडेर यती एयरलाइन्समा गएका थिए । केसीले बस्ती जोगाएर जहाज सेतीको खोंचमा खसालेको हुनसक्ने प्रत्यक्षदर्शीको अनुमान छ ।
बागलुङ नगरपालिका–१ कि सीता खड्काले शनिबार राति खुसीका साथ कान्छा छोरा र बुहारीलाई त्रिभुवन विमानस्थलबाट अस्ट्रेलियाका लागि बिदाइ गरिन् । आइतबार बिहान सोही विमानस्थलबाट यती एयरलाइन्समा घर फर्कंदै गरेकी खड्का भने घर पुग्न पाइनन् । आइतबार बिहान पोखरामा भएको जहाज दुर्घटनामा उनको पनि निधन भयो । छोरा बुहारीलाई कर्मथलोका लागि बिदाइ गर्न गएकी आमा घर नपुग्दै बीचमै अस्ताएपछि घरपरिवार शोकमा डुबेको छ ।
दोहोरी गायिका निरा छन्त्याल सो विमानमा काठमाडौंबाट पोखराका लागि उडेकी थिइन् । उनी छन्त्याल समाज कास्कीको आयोजनामा भएको मगर दिवसको कार्यक्रमका लागि उडेकी थिइन् । तर उनी पनि पोखरा पुग्न पाइनन् ।
महेन्द्रनगरका व्यवसायी सञ्जीवचन्द्र भट्ट घुमफिर र आफन्तसँग भेटघाटका लागि पुस २८ मै पोखरा पुगिसकेका थिए । उनले आइतबार बिदाको मौका पारेर काठमाडौंमा रहेका श्रीमती सुष्मा र कान्छा छोरा श्लोकलाई बोलाए । उनीहरू आइतबार बिहान काठमाडौंबाट यती एयरलाइन्सको जहाजमा उडे तर पोखरामा उत्रन पाएनन् ।
युवापुस्ताका चर्चित गिटारिस्ट तथा संगीतकर्मी निशान्त आचार्यको पनि यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएको छ । पोखरा घर भएका आचार्य पछिल्लो समय नेपालका चर्चित गिटारिस्ट हुन् जसको लोकप्रियता युटयुब र टिकटकजस्ता सञ्जालहरुमा उत्तिकै छ । उनको आफ्नै केसिक्स बिफोर नामक ब्याण्ड छ भने उनले यी भिडियो प्लेटफर्मबाट गिटारसम्बन्धी ट्युटोरियल सिकाउँदै आएका छन् । उनको गिटार ट्युटोरियल सिकेर पछिल्लो समय मुलुकका तन्नेरीहरु संगीततर्फ आकर्षित भइरहेका छन् ।
पोखरा– २५ घर भएका जितेन्द्र कुँवर केही दिनअघि छोरा जेनिससहित काठमाडौं गएका थिए । उनकी छोरी जेनिसा चिकित्सा शिक्षा अध्ययनका लागि आमा भगवतीसँगै काठमाडौंमा बस्थिन् । जेनिसाले पोखरा– १६ स्थित मातृशिशु मितेरी अस्पतालमा जागिर पाएपछि उनलाई लिन जितेन्द्र र जेनिस काठमाडौं गएका थिए । जेनिसा सोमबारदेखि जागिरमा हाजिर हुनुपर्ने भए पनि शनिबार नै बसबाट पोखरा फर्किइन् । जेनिस पनि अर्का एक आफन्तसँग शनिबार नै ट्रकमा सामान लिएर पोखरा आएका थिए । छोराछोरीलाई गाडीमा पठाएपछि आइतबार बिहानको जहाजको टिकट काटेका कुँवरदम्पती भने घर पुग्नै लाग्दा सधैँका लागि बिदा भए ।
गण्डकी प्रदेशको कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयअन्तर्गत सूचना प्रविधि शाखा अधिकृत छैटौं तहमा कार्यरत लक्ष्मी पौडेल चार दिनअघि मन्त्रालयको काम लिएर काठमाडौंस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय गएकी थिइन् । पोखरा– ५ घर भएकी पौडेल काम सकेर आइतबार पोखरा फर्कँदै थिइन् । तर उनी पनि घर पुग्न पाइनन् ।
माघ १ को कहालीलाग्दो हवाइ दुर्घटनामा सीता, निरा, निशान्त, लक्ष्मी मात्र होइन सबैगरी ७२ जना होनहारले अल्पायुमै ज्यान गुमाएका छन् । सबैको परिवार उजाडिएको छ ।





























प्रतिक्रिया