राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रास्वपाका सभापति रवि लामिछानेले पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिएका हुन् ।
सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको सभापति लामिछानेले बताएका छन् । पार्टीका मन्त्रीले आइतवारै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने निर्णय भएको सभापति लामिछानेले जानकारी दिएका छन् । रास्वपा सरकारबाट बाहिरिएपछि पार्टीबाट बनेका सबै मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रास्वपाबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल बनेका छन् । त्यसैगरी रास्वपाकै तर्फबाट तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन् । रास्वपाका मन्त्रीहरु खनाल, अर्याल र राज्यमन्त्री कार्कीले माघ ३ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । रास्वपाका सभापति लामिछाने प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवम् गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
सर्वोच्च अदालतले नागरिकता मुद्दामा लामिछानेलाई माघ १३ गते उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टीको सभापतिसमेत नरहने फैसला गरेको थियो । माघ १५ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पुनः नागरिकता प्राप्त गरेपछि पार्टीले लामिछानेलाई केन्द्रीय सदस्य हुँदै पार्टी सभापतिमा मनोनित गरेको थियो । आइतवार पत्रकार सम्मेलन गर्दै आफुले प्रक्रियागत त्रुटी स्वीकार गरेपनि आफुले अरुको कमजोरी समेत सार्वजनिक गरेपछि आफुलाई सुरक्षा थ्रेट बढ्नेमा आफु जानकार रहेको बताए । आफूले पूर्व गृहमन्त्रीको हैसियतमा कुनैपनि सुरक्षा नलिनेसमेत सभापति लामिछानेले बताए ।
रविले केही मिडिया र सम्पादकको नाम लिँदै क्षमता भए आफूविरुद्ध चितवन २ मा चुनाव लड्न आउन चुनौतीसमेत दिएका छन् ।





























प्रतिक्रिया