बालोन डि’ओर दौडमा मेसी, एमबापे र नेयमार [भिडियाेसहित]

बालोन डि’ओर दौडमा मेसी, एमबापे र नेयमार [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

बालोन डि’ओर अवार्डका लागि पीएसजीभित्रै ३ खेलाडीबीच चर्को प्रतिस्पर्धा छ । २४ वर्ष लागेका फ्रेन्च स्टार एमबापे, ३० वर्षका ब्राजिलियन फरवार्ड नेयमार र ३५ वर्षका अर्जेन्टाइन स्टार लियोनल मेसी जारी वर्ष बालोन डी’ ओरका लागि अग्रस्थानमा छन् । यी तिनै खेलाडी फ्रेन्च क्लब पीएसजीका लागि व्यावसायिक फुटबल खेल्दै आएका छन् । यी तिनै खेलाडी पछिल्ला केही वर्षदेखि बालोन डि’ओर जित्ने दौडमा अघिपछि सरिक हुँदै आएका छन् । तर आजसम्म त्यो सफलता भने अर्जेन्टाइन सुपर स्टार मेसीले मात्र ७ पटक पाएका छन् । अन्य दुई स्टारहरु भने अझै रित्तो हात छन् । 

मेसीपछि पोर्गुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको नाममा ५ बालोन डी’ ओरको ट्रफी मात्रै छ । अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि जिताएपछि मेसी अहिले नेइमार र एमबापेभन्दा बालोन डि’ ओरका लागि बलियो दाबेदार बनेका छन् । कतार विश्वकप अघिसम्म मेसी बालोन डि’ओरको दौडमै थिएनन् । अझ भनौं ३५ वर्षीय मेसीका लागि बालोन डी’ ओरमा छनोट हुनु नै ठूलो कुरा थियो । ढल्कँदो उमेर र गोल क्षमतामा कमी आएका कारण यो अवस्था आएको हो । विश्वकपअघि करिम बेन्जेमा, एमबापे, नेयमार र अर्लिङ हाल्याण्ड जस्ता स्टार खेलाडीहरु बीच मात्र कडा टक्कर थियो । तर अहिले अवस्था परिवर्तन भएको छ । माथि उल्लिखित सबै खेलाडीहरुलाई पछि पार्दै मेसी उपाधि होड्मा सबैभन्दा अग्रस्थानमा उभिएका छन् । 

स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजी गएको केही महिनामै कीर्तिमानी सातौं बालोन डि’ओर जितेका मेसी गतवर्ष मनोनित नै भएका थिएनन् । १८ वर्षको उमेरमै विश्वकप जितेका एमबापे आफ्नो नाममा पहिलो बालोन डि’ ओर जित्न चाहन्छन् । पीएसजीमा बसेर यो सपना पूरा हुने नदेखेपछि एमबापे स्पेनिस क्लब रियल मड्रिड जान चाहन्थे । तर अनेक लोभ र पैसाको प्रलोभनमा पीएसजीले एमबापेलाई क्लबमा सन् २०२५ सम्मका लागि अनुबन्ध गर्न सफल भएको छ । 

अन्य क्लबका खेलाडीबीच बालोन डि’ओरको प्रतिस्पर्धामा उत्रिनुअघि पिएसजीभित्रै मेसी, एमबापे र नेयमार बीच चर्को प्रतिस्पर्धा हुने स्पष्ट छ । जारी वर्ष यी तीनै खेलाडी बालोन डि’ओर जित्न चाहन्छन् । पिएसजीले ठूलो उपाधि जित्दा कसले खेलका दौरान उत्कृष्ट प्रदर्शन गर्यो भन्नेमा टोलीभित्र नै अघोषित प्रतिस्पर्धा चल्ने पक्का छ । सन् २०१७ मा नेइमारले मेसीको छायामा परेको भन्दै बार्सिलोना छाडेर पिएसजी आएका थिए । तर नेइमारले अहिलेसम्म पिएसजीका लागि च्याम्पियन्स लिग र आफ्नो लागि बालोन डि’ओर जित्न सकेका छैनन् । देशका लागि विश्वकप जित्दै नेइमार बालोन डि’ओरका लागि प्रमुख दाबेदार बन्न चाहन्थे तर त्यो सपना पनि क्रोयसियाले क्वाटर फाइनलमा टुङग्याइदियो । अर्कोतर्फ यदि एमबापेले जारी सिजन बालोन डि’ओर जित्न पिएसजीका लागि च्याम्पियन्स लिग जित्नैपर्ने हुन्छ । त्यति मात्र होइन एमबापेले नेइमार र मेसीकोभन्दा उत्कृष्ट प्रदर्शन गर्न पनि आवश्यक हुन्छ । उता नेइमार पनि यही चाहन्छन् । ३० वर्षमा एउटा पनि बालोन डि’ओर जित्न नसकेका नेयमारले यसपटक त्यो सपनालाई नजिकबाट नियालिरहेका थिए । तर ब्राजिल विश्वकपको क्वाटरफाइनलबाटै बाहिरिएपछि नेइमारको सो सपना चकनाचूर भएको थियो ।

धेरैले के ठानेका थिए भने, पीएसजीमा मेसी अनुबन्ध भएपछि नेइमारले बालोन डि’ओर वा अन्य ठूला अवार्ड जित्ने सम्भावना बढेको छ । किनभने, मेसी नेयमारलाई बालोन डि’ओर जिताउन महत्वपूर्ण सहयोगी बन्न सक्लान । सन् २०१५ मा मेसीले बालोन डिओर जित्दा मेसीको व्यक्तिगत तथ्यांकमा नेइमारको ठूलो योगदान रहेको थियो । बार्सिलोनामा ४ सिजन सँगै बिताएका मेसी र नेयमार बीच गहिरो मित्रता छ । सोही कारण पनि नेयमारप्रति मेसी निकै उदार देखिन्छन् । तर यसो भनिरहँदा यो पटक नेयमारले बालोन डी’ ओर जित्ने सम्भावना निकै कम रहेको छ । 

जारी वर्ष मेसी पिएसजीका लागि दोस्रो तथा समग्रमा आठौं बालोन डि’ओर जित्दै नयाँ इतिहास रच्नबाट एक कदम मात्र पछि छन् । एमबापे र नेयमार आफ्नो पहिलो बालोन डी’ ओर जित्दै ब्यक्तिगत उपाधि सङख्या बढाउन चाहन्छन् । अक्टोबरमा आयोजना हुने बालोन डी’ ओर ट्रफी माथि संसारभरका खेल प्रेमीहरुको नजर रहेको छ । तर कसले जित्ला भन्ने प्रश्नको जवाफ भने अहिले नै तय भइसकेको छैन् । तथ्य र तथ्याङ्कका आधारमा अन्य खेलाडीभन्दा मेसी नै अघि देखिएता पनि संसारभरका खेल पत्रकार र खेलाडीको भोटका आधारमा विजेता घोषणा गरिने भएकाले अहिल्यै यसै होला भन्न सकिने अवस्था छैन । 

Logo