राष्ट्रपतिको चुनाव नजिकिएसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको चर्चा चुलिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै आगामी राष्ट्रपतिमा माधव कुमार नेपालको नाम लिएसँगै चर्चा बढेको हो ।
संसद विघटन प्रकरणमा विवाद चरमोत्कर्षमा पुगेर दल विभाजन भएपछि पानी बाराबारको अवस्थामा पुगेका नेताहरुबीच फेरि सहकार्य हुन थालेपछि यो विषयले थप चर्चा पाएको हो ।
राष्ट्रपति आफूले नपाउने संकेत मिलेसँगै नेकपा एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई सो पदमा प्रस्ताव गर्ने तयारी गरेको समाचार बाहिरिएको छ । नेकपा एसका अध्यक्ष नेपालको नाम अस्वीकार गर्न प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत नैतिक संकट पर्ने ओलीको बुझाइ छ । किनभने, तत्कालीन नेकपामा प्रचण्डलाई साथ दिएका नेपालले ओलीविरुद्ध देउवा नेतृत्वको सरकार गठनका लागि पार्टी विभाजन गर्नेसम्मको जोखिम मोलेका थिए । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले नेता नेपाललाई भेटेरै राष्ट्रपतिका लागि प्रस्ताव गरेका हुन् । उनका अनुसार पार्टी एकता गर्ने सर्तमा अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेको चर्चा छ ।
एमाले कुनै हालतमा राष्ट्रपति नछाड्ने अडानमा रहँदै आएको छ । यता नेपाली कांग्रेसले पनि राष्ट्रपति जसरी पनि आफ्नो भागमा ल्याउने कसरत गरिरहेको छ । गत पुस २६ गते कांग्रेसले दिएको विश्वासको मतले सदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा बहुमत पुगेको थियो । प्रधानमन्त्री प्रचण्ड त्यसको बदलामा कांग्रेसप्रति थप उदार बनेका छन् ।
उनले कांग्रेसलाई सकेसम्म चिढ्याउन चाहेका छैनन् । यतिखेर नेपाली कांग्रेस प्रधानमन्त्रीलाई थप गलाउने रणनीतिमा लागेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री प्रचण्डसँग निरन्तर सम्पर्कमा छन् । उनले राष्ट्रपति आफूलाई मिलाइ दिन सक्दो सहयोगका लागि प्रयत्न जारी राखेका छन् । सोही अनुसार प्रचण्डले कांग्रेसविरुद्ध कठोर निर्णय लिन नसकेको बताइन्छ । पछिल्लो समय उनका अभिब्यक्तिमा लचकता आएको र सहमतिकै आधारमा राष्ट्रपति चयन गरिने बताइरहेका छन् ।
यता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको उम्मेदवार बन्नेबारे आफूले केही सोचि नसकेको बताएका छन् । पूर्वप्रधानमन्त्री नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट राष्ट्रपतिका लागि प्रस्ताव आएकोबारे पनि खुलेर प्रतिक्रिया दिइसकेका छैनन् ।
राष्ट्रपतिमा केपी ओलीले नै माधव नेपाललाई अघि बढाउँदा माओवादी केही झस्किएको छ । नेकपा एससँगको दश सिट समेत जोडेर एमाले संसदकै ठूलो दल हुने र पछि माओवादीलाई पाखा लगाउने काम हुन्छ कि भनी झस्किएको कतिपयको बुझाइ छ । माओवादी यतिखेर एमालेको खास रणनीति र भित्री आशय बुझ्ने क्रममा छ । आपसी सहकार्यले तत्काल वाम धु्रवीकरणको सम्भावना पनि बढाएकोले माओवादीले ओलीको रुची कार्यान्वयन गर्ने अवस्था आउने आँकलन गरिएको छ ।
भावी राष्ट्रपतिका बारेका आएका यी सतही चर्चाले कसरी सार्थक रुप लिने हो त्यो हेर्न निर्वाचनको मितिसम्म पर्खनै पर्ने हुन्छ । निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपति भवन निर्वाचनको मिति तोकेको छ । १३ गते उम्मेदवारी मनोनयन हुनेछ । निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुले सक्रियता बढाएका छन् ।





























प्रतिक्रिया