अझै धनी बन्दै विनोद चौधरी, थपियो ४० अर्ब सम्पत्ति [भिडियाेसहित]

अझै धनी बन्दै विनोद चौधरी, थपियो ४० अर्ब सम्पत्ति [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले सम्पत्ति आर्जनमा फड्को  मारेका छन् ।

विश्वका अर्बपतिहरूको सम्पत्ति घटिरहेका बेला यो वर्ष नेपालका एक मात्र खर्बपति विनोद चौधरीको भने ४० अर्बले सम्पत्ति बढेको छ ।

फोब्र्सले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको समग्र सम्पत्ति मूल्य ५ खर्ब डलर (५ सय बिलियन) घटेको छ भने चौधरीको सम्पत्ति बढेको छ ।

फोब्र्सका अनुसार अर्बपतिहरूको सम्पत्ति अहिले १ सय २२ खर्ब डलर (१२ दशमलव २ ट्रिलियन) भएको छ । सन् २०२२ मार्चको तुलनामा अहिले यी अर्बपतिहरूको समग्र सम्पत्ति ५ खर्ब डलरले घटेको छ ।

अर्बपतिको सूचीमा पहिलो नम्बरमा फ्रान्सका बेर्नार्ड अर्नोल्ट परेका छन् । लुइस भ्यूटन तथा सेफोसहित विभिन्न ७५ कस्मेटिक ब्रान्डका ७४ वर्षे मालिक बेर्नार्डको समग्र सम्पत्ति भने बढेको छ ।

विश्वका दोस्रो धनी व्यक्तिका रूपमा रहेका टेस्ला कम्पनी र ट्वीटरका मालिक एलन मस्कसहित आधा संख्याका अर्बपतिको सम्पत्ति पहिलेको तुलनामा घटेको छ । गत वर्ष पहिलो नम्बरमा रहेका मस्कको सम्पत्ति अहिले घटेर १ खर्ब ८० अर्ब डलर हाराहारीमा झरेको छ । फोब्र्सले जारी गरेको सूचीमा विश्वका शीर्ष १० धनी व्यक्तिहरूमध्ये भारतका मुकेश अम्बानी पनि रहेका छन् ।

सम्पत्तिको स्रोतमा विविध क्षेत्रहरूको आर्जनलाई उल्लेख गरेका चौधरी वाइवाइ चाउचाउको उत्पादक कम्पनीका मालिकका रूपमा पनि विश्वभर चिनिएका छन् । उनको कम्पनी सीजी कर्प ग्लोबलले विश्वभर हस्पिटालिटी तथा अन्य क्षेत्रमा आफ्नो लगानी विस्तार गरेको छ । चौधरीको सम्पत्ति १ अर्ब ८० करोड डलरबराबर रहेको फोब्र्सको सूचीमा उल्लेख छ ।

को हुन् अर्बपति चौधरी ?

वि.सं. २०१२ वैशाख १ गते काठमाडौँमा जन्मिएका चौधरी एक नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवी हुन् । उनी चौधरी ग्रुपका अध्यक्ष तथा कार्यकारी प्रमुखसमेत हुन् ।

त्यसो त उनका हजुरबुबा, भुरामल दास चौधरी तथा उनका बुबा लुनकरणदास चौधरी पनि व्यवसायी थिए । आफ्नो व्यापारिक जीवनको सुरुवातमा, चौधरीले पारिवारिक व्यवसायमा सामेल हुनुभन्दा थप शिक्षा लिने निर्णय गरेका थिए ।

वि.सं. २०६९ सालमा, उनी नेपालको सबैभन्दा धनी र नेपालको पहिलो अर्बपति बन्न सफल भएका थिए जहाँ, उनको अनुमानित कुल सम्पत्ति १ अर्ब अमेरिकी डलर रहेको थियो ।

वि.सं. २०६९ सालदेखि नै उनको कुल सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको छ ।उनका हजुरबुबा भुरामल दास चौधरी १९ औँ शताब्दीमा राजस्थान, भारतबाट नेपाल बसाइँ सरेका थिए ।

२० वर्षको उमेरमा उनी नेपाल आएपछि उनले कपडाको कारोबार सुरु गरेका थिए । केही वर्ष पश्चात्, अर्थात् वि.सं १९९० को महाभूकम्पपछि, उनी औपचारिक रूपमा दर्ता गरिएको कपडाको कम्पनी सुरु गर्ने नेपालमा पहिलो व्यक्ति बनेका थिए । उनका बुबा लुनकरन दास चौधरीले कपडा व्यवसायको विकासलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय व्यापारिक भवन निर्माण कम्पनीको पनि स्थापना गरेका थिए ।

अठार वर्षको उमेरमा विनोद चौधरीले चार्टर्ड एकाउन्टेन्सी पढ्न भारत जाने क्रममा, उनको बुबालाई मुटु रोग भएको पत्ता लागेको थियो र चिकित्सकहरूले उनलाई उनका पिताले परिवारको व्यवसाय चलाउन असमर्थ रहने बताएका थिए । परिवारमा जेठो छोरा भएको कारण उनले व्यवसायमा प्रमुखको रूपमा प्रवेश गरेका थिए ।

चौधरी ग्रुप एक व्यापारिक समूह हो जसलाई उनका बुवा लुनकरणदास चौधरीले स्थापना गरेका थिए । यो व्यापारिक समूहद्वारा सन् १९८४ मा नेपालमा परिचय गराइएको तैयारी चाउचाउको ब्रान्ड ‘वाइ वाइ’लाई यस कम्पनीले सर्वाधिक बिक्री गराउन सफल भएको छ । चौधरीले २३ वर्षको उमेरमा यस कम्पनीको पदभार ग्रहण गरेका थिए ।

  थाइल्यान्डको कम्पनीद्वारा उत्पादित वाइवाई चाउचाउलाई चौधरीले नेपालमा बिक्री गर्ने निर्णय गरेपछि यो कम्पनीको लोकप्रियमा वृद्धि भएको थियो ।

वि.सं २०६९ सालमा पहिलोपटक अमेरिकी पत्रिका फोब्र्सले उनलाई अर्बपतिहरूको सूचीमा समावेश गरेको थियो जहाँ उनी नेपालको पहिलो अर्बपति बन्न सफल भएका थिए ।

सन् २०१९ मा, फोब्र्सले सार्वजनिक गरेको सूचीमा उनी १,३४९ औँ स्थानमा उक्लिएका थिए । चौधरी ग्रुपको मालिकको रूपमा उनी सन् २०१५ मा, फोब्र्स एसियाको आवरण पृष्ठमा देखा परेका थिए । सन् २०१८ मा, उनको सम्पत्ति २० करोड अमेरिकी डलरले वृद्धि भएको थियो । 

Logo