महासंघको दोस्रो चरणको निर्वाचनमा अञ्जन र उमेश आमने-सामने, संघईको समर्थन निर्णायक [भिडियाे]

महासंघको दोस्रो चरणको निर्वाचनमा अञ्जन र उमेश आमने-सामने, संघईको समर्थन निर्णायक [भिडियाे]


नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचन रोमाञ्चक बनेको छ । बिहीबार सम्पन्न पहिलो चरणको मतदानको गणनामा वरिष्ठ उपाध्यक्षका तीन जना उम्मेदवारले नै ५१ प्रतिशत मतभार ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको हो । 

पहिलो चरणमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई मध्य कसैले पनि आवश्यक मत ल्याउन सकेनन् । अब दोस्रो चरणमा वरिष्ठ उपाध्यक्ष पदमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । अर्का उम्मेदवार रामचन्द्र संघई भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

महासंघको निर्वाचनमा जिल्लानगरतर्फ ५० प्रतिशत, एसोसिएटतर्फ ३० र वस्तुगततर्फ २० प्रतिशत मतभार हुन्छ । जसमा जिल्ला नगरतर्फ अन्जनले बढी मत ल्याए । एसोसिएटतर्फ रामचन्द्रले बढी मत ल्याए भने वस्तुगततर्फ उमेशलालले बढी मत ल्याएका छन् । 

महासंघको निर्वाचन समितिअनुसार अन्जनले ३७.९९ प्रतिशत मतभार, उमेशले ३१.७१ प्रतिशत मतभार र रामचन्द्रले ३०.४६ प्रतिशत मतभार पाएका छन् । जसमध्ये मतभारका हिसाबले सबैभधन्दा कम मत पाएका संघई वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धाबाट बाहिरिएका हुन्  । 

सबैभन्दा धेरै अञ्जनले वस्तुगततर्फ ६.७२ प्रतिशत, जिल्लानगरतर्फ २०.६१ र एसोसिएटतर्फ १०.७६ गरी ३७.९९ प्रतिशत मतभार ल्याएर अग्रस्थानमा रहन सफल भएका छन् । त्यसपछि उमेशले वस्तुगततर्फ ११.३१, जिल्लानगरतर्फ १२.२८ र एसोसिएटतर्फ ७.९२ गरी ३१.७१ प्रतिशत मतभार ल्याई दोस्रो स्थानमा कायम गरेका छन् । अर्कोतर्फ रामचन्द्रले भने वस्तुगततर्फ १.९६, जिल्लानगरतर्फ १७ र एसोसिएटतर्फ ११.४० गरी ३०.४६ प्रतिशत मतभार पाएर चुनावी मैदानबाटै आउट भएका छन् । 

महासंघको निर्वाचनमा सबैभन्दा धेरै महत्व जिल्लानगरको मतले राख्छ । रामचन्द्र संघईले एसोसिएटतर्फको सबैभन्दा धेरै मत आफ्नो पक्षमा पारेपनि अञ्जनले जिल्लानगरको मत धेरै ल्याउँदा शिर्ष स्थानमा उक्लिन सफल भए ।  

महासंघको विधानअनुसार दोस्रो चरणमा पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । सोहीअनुसार दोस्रो चरणमा अञ्जन र उमेश आम्नेसाम्ने हुने भएका हुन् । वरिष्ठ उपाध्यक्षमा दुबै उम्मेदवार जीत हात पार्न चाहन्छन् । पहिलो चरणको मत परिणाम हेर्दा अञ्जन बलियो देखिएका छन् । तर, अब आजै हुने दोस्रो चरणको मतदानमा संघाईले कसलाई सघाउँछन् भन्ने यकिन भइसकेको छैन । मतदानअघि संघाईले वरिष्ठका दुवै उम्मेदवारसँग कुराकानी गर्ने पनि तयारी गरेका छन् । उनी जसको पक्षमा उभिन्छन् उसैको पक्षमा नतिजा आउने उच्च सम्भावना छ ।

Logo