एसिसी प्रिमियर कपमा नेपालको शानदार सुरुवात: कुशल र भीमको उल्लेख्य साझेदारी [भिडियाेसहित]

एसिसी प्रिमियर कपमा नेपालको शानदार सुरुवात: कुशल र भीमको उल्लेख्य साझेदारी [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध ६ विकेटको सानदार जित निकालेको छ । यो जितसँगै समूह ए मा रहेको घरेलु टोली नेपालले पहिलो जितका साथ महत्वपूर्ण दुई अंक जोड्न सफल भयो ।

जितका लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाउँदै विजयी लक्ष्य पूरा गर्योे ।

मलेसियाविरुद्ध नेपालको यो लगातार छैटौँ जित हो । अन्तर्राष्ट्रिय वन डेमा नेपालको यो लगातार सातौं जित हो ।

विश्वकप लिग–२ को पछिल्लो आठ खेल जितेको नेपाललाई कीर्तिपुरको घरेलु मैदानमा मंगलबारको खेल जित्न ठूलो सङ्घर्ष गर्नु नै परेन । नेपालको जितमा कुशल मल्ल ४० बलमा ५ चौका र ५ छक्कासहित ७० रनमा नटआउट रहे भने चौका हान्दै खेल सकाएका दीपेन्द्रसिंह ऐरी ५ रनमा अविजित रहे ।

नेपालको जितमा तेस्रो नम्बरमा क्रिजमा आएका भीम सार्की र कुशल मल्लले शतकीय साझेदारी गरे । भीम ९८ बलमा ५ चौकासहित ७१ रनमा आउट भए । भीमले ७५ र कुशलले २८ बलमा अर्धशतक पूरा गरे । नेपालले ओपनर आसिफ शेखलाई एक रनमै गुमाएको थियो ।

तीव्र गतिका बलर मोहम्मद वाफिकको पहिलो ओभरको अन्तिम बलमा आसिफ कट एण्ड बोल्ड हुन पुगेका हुन् । मलेसियको बलिङमा मोहमद वाफिक, रिजवान हाइडेर, विरन्दीप सिंह र विजय उन्नीले समान एक विकेट लिए ।

यसअघि, टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३५ रनको योगफल तयार पारेको थियो । मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रन जोडे ।

उनले आउट हुनुअघि ओपनर विरन्दीप सिंहसँग १ सय १६ रनको साझेदारी गरे । विरन्दीप ९४ बल खेल्दै २ चौकाको मद्दतमा ४६ रन बनाएर आउट भए ।

ओपनर मोहमद अमिर १८ बलमा ३ चौका प्रहार गर्दै १७ रन जोडेर पभेलियन फर्किएका थिए । सायद अजिज १३ रन बनाएर सोमपाल कामीको बलमा क्याच आउट हुँदा खिजार हायात २२ रनमा आउट भए ।

नेपालको बलिङमा सोमपाल कामी र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए । सन्दीपले आफ्नो स्पेलमा १ मेडन राख्दै ४८ रन खर्चिए। सोमपालले ९ ओभर फाल्दै ४० रन खर्चिए । यस्तै, ललीत राजवंशीले दुई विकेट लिँदा गुलसन झाको नाममा एक विकेट रह्यो।

यस्तै समुह बी को अर्को खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले हराउदै विजयी सुरुआट गर्यो । जितका लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको हङकङले ३३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । हङकङको जितमा बाबर हायत ९४ बलमा १० चौका र ६ छक्कासहित १ सय ८ रनमा अविजित रहे ।

वैशाख १८ गतेसम्म चल्ने प्रतियोगिताको समूह ए मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । यस्तै समूह बी मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

प्रशिक्षक मोन्टी देशाईले आजको टोलीमा लिग-२ को खेलमा जस्तै कुनै परिवर्तन गरेनन् । ज्ञानेन्द्र मल्लसँगै करण केसी र प्रतिश जिसी आजको खेलमा बेन्चमा नै रहे । नेपालले अब शुक्रवार ओमानसँग खेल्नेछ ।

तेस्रो खेल साउदी अरबसँग वैशाख ११ मा खेल्नेछ । यस्तै प्रतियोगिताको सेमिफाइनल खेल वैशाख १६ गते र  फाइनल खेल वैशाख १८ गते हुनेछ । उपाधि विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछ । 

Logo