नेपालमा अहिले नौ वटा सब भेरियन्ट भेटियो, किन बढिरहेको छ त कोरोना ? [भिडियाेसहित]

नेपालमा अहिले नौ वटा सब भेरियन्ट भेटियो, किन बढिरहेको छ त कोरोना ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितको संख्या उकालो लागिरहेको छ । कोभिड बढेसँगै अस्पतालमा बिरामीहरु पनि बढिरहेका छन् । कोभिडबाट हुने मृत्युदरमा समेत वृद्धि भइरहेको छ । कोरोना भाइरसका कारण ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक र दीर्घरोगी बढी छन् ।

९४ दिनपछि गत चैत्र २८ गते एक जनाको मृत्यु भएको थियो। सोपछि बुधबारसम्म थप चार जनाले ज्यान गुमाइसकेका छन् । कारोना संक्रमणबाट मंगलबार दुईजनाको मृत्यु भएको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर गरिएको दुई हजार चार सय पचास परीक्षणमा एक सय ८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै ६६ जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन् भने सक्रिय सङ्क्रमितको संख्या तीन सय ८६ रहेको छ । 

काठमाडौँ उपत्यकामा तीन जना भेन्टिलेटर, ७ जना आईसीयू, एचडीयू ६ जना र एक जनाको साधारण वार्डमा उपचार भइरहेको मन्त्रालयको तथ्याङ्क छ। शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले बढ्दै गइरहेको छ ।

नेपालमा अहिले नौवटा सब भेरियन्ट भेटिएको र आधाभन्दा धेरै नयाँ प्रजातीको भाइरस रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । किन बढिरहेको छ त कोरोना ?

एक वर्षदेखि थन्किएका खोप बिग्रदै

कोरोनाको ग्राफ उकालो लागे पनि खोप लगाउनेतर्फ तालुकदार निकायको ध्यान पुगिरहेको छैन । कोरोनाको ग्राफ ओरालो लागेका समय खोप अब आवश्यक पर्दैन भन्ने आम बुझाइले पनि खोप थन्किएको विश्लेषण सरकारको छ ।

 

चीन सरकारको सहयोगमा २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा पाँच लाख डोज नेपाल भित्रिएको थियो । सरकारले चीनबाट खोप भित्र्याउन विशेष विमान नै पठाएको थियो । तर खोप भित्र्याएको एक वर्ष बितिसक्दा पनि प्रयोगमा भने आएको छैन । प्रयोगको समय २ वर्ष रहेको ती खोपको म्याद अबको आठ महिनापछि सकिनेछ ।

यो खोपले अस्पताल भर्ना दर ६४.६ प्रतिशत घटाउने र गम्भीर बिरामी हुनबाट ६९ प्रतिशत जोगाउने भनिएको थियो । यो १८ वर्ष माथिका नागरिकलाई मात्र लगाउन मिल्ने खोप हो । स्वास्थ्य मन्त्रालयले कोभिड बिरुद्धको बुस्टर डोज चौंथो मात्राका रुपमा तीस लाख डोज खोप ल्याइसकेको छ ।

हालसालै काठमाडौं विश्वका प्रदुषित सहरहरुमा शिर्ष स्थानमा गनिएकाले ती थन्क्याइएका खोपहरु प्रदुषणले बिग्रिरहेका छन् । नेपालमा हालसम्म अनुदान र खरीद गरी ६ करोड ६२ लाख ८० हजार पाँच सय ५० खोप भित्रिसकेको छ । स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार ४० लाख सेलोब्याक आएकोमा हालसम्म एक डोज पनि लगाइएको छैन ।

नेपालले अन्य देशको तुलनामा कोभिडबिरुद्धको खोप सहज र सुलभ तरिकाबाट पाएको हो । कुल जनसंख्यामा पहिलो डोज ८२.८ प्रतिशत र दोस्रो डोज ८३.१ प्रतिशतले लगाइसकेका छन् ।

त्यसैगरी लक्षित जनसंख्या १२ वर्षमाथि ९९.५ प्रतिशतले एक मात्रा र ९५.७ प्रतिशतले दोस्रो मात्रा वा पूर्ण मात्राको खोप लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । सेलोब्याक तथा कोरोनाब्याक खोपलाई बुस्टरका रुपमा प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेपछि अब के गर्ने भन्ने विषयमा मन्त्रालयका अधिकारीहरु छलफलमा छन् । 
 

Logo