अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट पूरा गर्ने कीर्तिमान सन्दीपको नाममा [भिडियाेसहित]

अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट पूरा गर्ने कीर्तिमान सन्दीपको नाममा [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

नेपालका लेग स्पिनर सन्दीप लामिछाने ओडीआई क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान बनाएका छन् । एसिसी प्रिमियर लिगको दोस्रो खेलमा सन्दीपले ओमानका आदिल सफिकलाई एलबीडब्लु आउट गर्दै एक सय विकेटको आकडा पूरा गरेका हुन् ।

४२ खेलमा सय विकेट पूरा गरेका सन्दीपले अन्तर्राष्ट्रिय वान डेमा सबैभन्दा छिटो सय विकेट लिने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान यसअघि अफगानिस्तानका स्पिनर राशिद खानको नाममा थियो ।

राशिद खानले सन् २०१८ मा ४४ खेलबाट एक सय विकेट पूरा गरेका थिए । राशिद खानपछि अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ ओडीआई खेलमा सबैभन्दा छिटो एक सय विकेट पूरा गरेका थिए । पाकिस्तानका सक्लेन मुश्ताकले ५३, न्युजिल्यान्डका शेन बोन्ड र मुश्ताफिजुर रहमानले समान ५४ खेलमा एक सय विकेट पूरा गरेका थिए । अष्ट्रेलियाका ब्रेट लीले ५५, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र भारतका मोहम्मद शामीले ५६–५६ खेलमा एक सय विकेट पूरा गरेका थिए ।

सन्दीप ओडीआईमा पनि सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडी हुन् । सन्दीपले २२ ओडिआई खेलमा ५० विकेट पूरा गरेका थिए । श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा ५० विकेट लिँदै सर्वाधिक छिटो ५० विकेट लिने कीर्तिमान आफ्नो नाममा राखेका छन्।

सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका सन्दीपले तीन पटक पाँचभन्दा माथि विकेट लिएका छन् । सन्दीप नेपाली क्रिकेट इतिहासकै सबैभन्दा उत्कृष्ट बलिङ गर्ने बलरमध्ये एक हुन् । सन्दीपपछि नेपालबाट ओडिआईमा सर्वाधिक विकेट सोमपाल कामीले लिएका छन् । सोमपाल कामीले ४४ खेलमा ६१  विकेट लिएका छन् । यस्तै तेस्रो नंम्बरमा करण केसी आउँछन् ।

उनले ३८ खेलमा ५६ विकेट लिएका छन् । अन्य नेपाली बलरले ओडिआईमा ५० भन्दा माथि विकेट लिन सकेका छैनन् । सन्दीपले जारी खेलमा ओमानविरुद्ध ओभरमा रन खर्चेर विकेट लिइसकेका छन् । साथै आजको खेलमा बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकमा नेपालले ओमानलाई ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ ।

घरेलु मैदान टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनाएको हो ।

यो नेपालले ओडिआईमा बनाएको हालसम्मकै उच्च योगफल हो । यसअघि नेपालले ओडिआईमा उच्च योगफल अघिल्लो महिना आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन थियो । 

Logo