यतिबेला भुटानी शरणार्थी प्रकरणबारे थाहा नपाएको व्यक्ति शायदै कोही होला। सडकदेखि सदनसम्म, मूलधारका सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म, चिया पसलदेखि राजनीतिक दलका कार्यालयसम्म, चर्चा व्याप्त छ। नहोस् पनि किन ? यसमा राजनीतिक तहका उच्च नेतासम्म मुछिन पुगेका जो छन्।
यसले देशभरी जे-जस्तो तरंग ल्याएको छ, त्यसको परिणाम भने सकारात्मक होला कि नहोला भन्ने चिन्ता पनि सुरु भएको छ । अर्थात् जनता चाहन्छन् कि त्यसमा संलग्न सबै हाइप्रोफाइलहरु प्रहरीको खोरमा पुगुन् र देशमा सुशासनको थालनी होस्।
यता त्यसमा दोषी भनिएकाहरुका आफ्नाहरु भने बचाउन लागिपरेका छन्। अर्धागिंनीहरु फस्ने त्रासले शीर्ष नेताकै निन्द्रा हराएको छ भने दौडधुप तीब्र बनेको छ।
पछिल्लो समय नक्कली शरणार्थी प्रकरणको लहरोले देशको गृहसत्ता नै हल्लिएको छ। पक्राउ पूर्जि जारी भएर पनि फरार रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी हुन् वा प्रहरी हिरासतमा रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण किन नहुन् बचाउन यो बेला पार्टी नेतृत्व कम्मर कसेर लागि परेको छ।
प्रहरीले एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक र कांग्रेस नेता आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको छ। यो प्रकरणको लहरो कहासम्म पुग्ने हो अत्तोपत्तो छैन तर पहरो जर्गने भने पक्का छ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरू भएको यो काण्डले अहिलेसम्म त्यसपछिका प्रधानमन्त्री देउवालाई ठूलो झड्का दिएको छ। देउवा सरकारमा उनीपछि दोस्रो वरियतामा रहेका गृहमन्त्री बालकृष्ण खाण र उनका गृहसचिव टेकनारायण पाण्डे प्रहरी खोरमा पुगिसकेका छन्। अझ देउवापत्नी आरजु नै यो काण्डमा मुछिएर प्रहरी अनुसन्धानको घेरामा तानिएकी छिन्।
अहिलेसम्म कांग्रेसलाई ठूलो झड्का लागे पनि यो काण्डको केन्द्रमा एमाले पनि समानान्तर रुपमा उभिएको छ। अहिलेसम्म एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीसम्म प्रहरी पुगेको छ।
यो भन्दा माथिल्लो तहका केही व्यक्तिको समेत संलग्नता यसमा छ कि छैन भनेर प्रहरी अनुसन्धानको पाना पल्टाइरहेको छ। टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी भएदेखि नै एमाले अध्यक्ष केपी ओलीको सिंहदरबार आउजाउ बाक्लिएको छ।
त्यसयता व्यापक सक्रियता बढाएका उनले बारम्बार प्रधानमन्त्री प्रचण्डसँग एकल र कांग्रेस सभापति देउवासहित त्रिपक्षीय छलफल गरिसकेका छन्। संसदलाई प्रभावकारी बनाउन तथा सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे छलफल केन्द्रित रहेको भनिएपनि पानी बाराबारको अवस्थामा रहेका ओली तथा देउवा र दाहाल हिजोआज एउटै टेवलमा ब्रेकफास्ट लिन थालेका छन्।
आरजु र मञ्जुलाई बचाउनकै लागि देउवाले प्रधानमन्त्रीकै सहमतिमा खाणलाई पक्राउ गराएको चर्चा पनि यत्रतत्र सुनिन थालेको छ ।
यद्यपी अब खाँणले दिने बयानमा थप हाई प्रोफाइलको भविष्य जोडिएको छ। अब आरजुलाई बचाउन देउवाले कतिसम्म दबाब दिन्छन् भन्ने कुरा मूख्य बनेको छ।
प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, प्रहरीका अधिकृतहरूलाई पनि पटकपटक फोन गरेर देउवाले आरजुको विषयमा सोधखोज गरिरहेको, सत्यतथ्य छानबिन होस् भन्नेमा ध्यान नभएर आरजुको नाम कुनै पनि अवस्थामा नआओस् भनेर दबाब दिइरहेको गृह मन्त्रालय स्रोतको भनाइ छ । फरार रहेका नेता आङटावाले बिचौलियालाई भेटेर खाणसहितका नेताको नाम नलिन दिएको दबाबले पनि यसमा संलग्नहरुको लहरो कहाँसम्म पुग्छ भन्ने यकिन छैन।
यता कुनै कारण मञ्जु खाण कानुनी दायरामा तानिए आरजु देउवाको समेत नाम लिने निश्चितजस्तै रहेको कांग्रेसकै नेताहरु बताउँछन्। आरजुले हिमालय टीभीसँगको अन्तर्वार्तामा पूर्वगृहमन्त्री खाँणले प्रहरीको हातबाट खोसेर प्रमाणको कागज चपाएको बारे कुनै टिप्पणी गरिनन् भने मञ्जुको जिम्मा लिन नसक्ने पनि प्रस्ट पारिन्।
‘म कागज खाने, घाँस खाने मान्छे होइन। भुटानी शरणार्थी प्रकरणमा मैले एक पैसा खाएको छैन। अडियो फेक हो। मञ्जुका बारेमा मलाई थाहा छैन । म उसको जिम्मेवारी लिन सक्दिनँ। ऊ मसँगै २४ सै घण्टा हिँड्ने मान्छे हो र ?’
खाणमात्रै नभई सबै दोषी कारबाहीको दायरामा आउनुपर्ने भन्दै आजाव उठिरहेको छ। संसदमा होस वा सडकमा नाम जोडिएका नेताहरुविरुद्ध खुट्टा नकपाई अनुसन्धान गर्न माग गरिरहेका छन्।
कांग्रेसभित्रै उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको प्रतिष्ठा र जनआवाजलाई कदर गर्दै पदाधिकारी बैठकमै खाँणलाई निलम्बन गर्नुपर्ने माग उठाएका थिए। तर, खाणलाई कारबाही गर्न देउवा डराएका छन्।
अहिलेसम्म नक्कली शरणार्थी प्रकरणको ट्रेलर मात्रै देखाएका प्रधानमन्त्री प्रचण्डले पुरा फिल्म देखाउलान् कि नदेखाउलान्। त्यो भने समयले बताउला।





























प्रतिक्रिया