अनिवार्य रुपमा शैक्षिक प्रमाणपत्र गर्ने निर्णयबाट पछि हट्यो साउदी ! [भिडियाेसहित]

अनिवार्य रुपमा शैक्षिक प्रमाणपत्र गर्ने निर्णयबाट पछि हट्यो साउदी ! [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

केही दिनअघि नेपालस्थित साउदी अरव दूतावासले साउदी जान अनिवार्य रुपमा शैक्षिक प्रमाणपत्र भन्ने निर्णय गरेको थियो । तर, दूतावास उक्त निर्णयबाट पछि हटेको छ । १२ तारिख अर्थात् सोमबारदेखि भिसा जारी गर्नका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गर्ने निर्णय गरेपनि अन्तिममा आएर उक्त कदमबाट दूतावासपछि हटेको हो । 

सोमबार दूतावासमा भिसाका लागि पेश गरिएका निवेदनहरूलाई शैक्षिक प्रमाणपत्र अनिवार्य गरिएको छैन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले आजदेखि लागू गर्ने भनेको शैक्षिक प्रमाणपत्र नमागेको बताएका छन् ।  दूतावासले शैक्षिक प्रमाणपत्र अनिवार्य हुने सूचना जारी गरेपछि चौतर्फी विरोध सुरू भएको थियो । चौतर्फी दबाब तथा सरकारको समेत चासो देखिएपछि दूतावास पछि हटेको हो । 

नेपाली कामदारहरु काम गर्न विभिन्न देश जान्छन् । त्यहीँमध्येको एक प्रमुख गन्तव्य हो साउदी अरब । साउदी अरब जानेको संख्या पनि प्रतिदिन बढ्दो छ । साउदी अरबमा यसअघि सजिलै काममा जान पाइन्थ्यो । तर, एक्कासी नेपाली कामदारका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य साउदी अरबले काममा जाने कामदारलाई जुन १२ अर्थात सोमबारबाट लागु हुने गरी अनिवार्य रुपमा शैक्षिक योग्यता माग्यो । त्यो कुराले सबै श्रमिकहरु त्रसित बने । 

साउदीको पछिल्लो निर्णयअनुसार नेपालको परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित साउदी दूतावासबाट प्रमाणित भएको शैक्षिक प्रमाणपत्र पेस गरेमा मात्रै भिसा जारी हुने भनिएको थियो । प्रमाणित शैक्षिक योग्यता नभएमा सोमबार अर्थात सोमबारदेखि भिसा नदिने साउदी दूतावासले केही दिन अघि नै सूचना जारी गरेको थियो । यस्तो प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणित गर्नुपर्ने जनाइएको थियो । त्यसपछि फेरि साउदी दूतावासबाट प्रमाणीकरण भएपछि मात्रै नेपाली श्रमिकहरू जान पाउने व्यवस्था साउदी सरकारले गरेको थियो ।  

यसअघिको निर्णयमा श्रममा जानका लागि न्युनतम एसएलसी वा एसईईको प्रमाणपत्र पेश गर्नुपर्ने भनिएको थियो । जुनै काममा जाँदा पनि योभन्दा तल्लो तहको शैक्षिक प्रमाणपत्र देखाएर साउदी अरब जान नपाईने निर्णय भएको थियो । साउदीले के कारण यस्तो व्यवस्था गर्न लागेको भनेर स्पष्ट खुलाएको थिएन । 

वैदेशिक रोजगार व्यवसायी संघ भने साउदीको यो व्यवस्थामा मन्जुर नै थिएन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरबले शैक्षिक प्रमाणपत्र मागेको भन्दै भिसाका लागि आवेदन दिने काम बन्द गर्न व्यवसायीलाई आग्रह गरेको थियो । साउदी नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुकमध्ये एक हो । साउदीमा कामको खोजीमा ठूलो संख्यामा नेपाली श्रमिक पुग्ने गरेका छन् । 

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत वर्ष मात्रै एक लाख ८० हजारभन्दा बढी नेपालीहरू श्रम स्वीकृति लिएर साउदी पुगेका छन् । गत आर्थिक वर्षमा मात्र गत आर्थिक वर्षमा खाडीमुलुक जाने नेपाली मध्ये साउदी अरब जाने मात्र १ लाख २५ हजार भन्दा बढी थिए । मजदुर काममा जाने नेपालीमध्ये अधिकांशको शैक्षिक योग्यता एसईईभन्दा कम छ । खाडीमै निर्माण क्षेत्रमा काम सिकेर दक्ष बनिसकेका समेत शैक्षिक प्रमाणपत्र बिहीन छन् । 

नेपालीहरू वैदेशिक रोजगारीका लागि साउदीमा निर्माण क्षेत्र, हेल्पर, क्लिनर, मेकानिक जस्ता काममा जान्छन् । उनीहरू प्रायः सामान्य साक्षर हुन्छन् । दूतावासको उक्त निर्णयले भने हजारौं नेपालीको रोजगारी खोसिनेमा सबै चिन्तित थिए । तर, उक्त कदमबाट दूतावास पछि हटेको छ । 

Logo