केन्द्रबिन्दु एक्सप्रेसः गगन थापा कांग्रेस बदल्ने महाअभियानमा [भिडियाे]

केन्द्रबिन्दु एक्सप्रेसः गगन थापा कांग्रेस बदल्ने महाअभियानमा [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागेको बताएका  छन्।

महामन्त्री थापाले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताए ।

त्यस्तै उनले  १० सीट जितेका माधव नेपाललाई डेढ वर्ष प्रधानमन्त्री मान्न समेत तयार हुने अवस्था आएको तर्क गरेका छन्।  

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्यालले सामाजिकको व्यापक दुरुपयोग बढेको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित दोलखा काठमाडौं सम्पर्क मंचको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष अर्यालले आफूलाई पार्टी र नेता विरुद्ध सामाजिक सञ्जालमा व्यापक प्रहार गरिएको गुनासो गरे । 

उपसभामुख इन्दिरा रानाले संसदमा आफ्नो फोटो नराखेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन्। उपसभामुख रानाले केही समयअघि सिङ्गापुरको संसद्को भ्रमण गर्दा विगतदेखि वर्तमानसम्मका सभामुखको फोटो राखेको देखेको बताउँदै उनले नेपालमा भने त्यस्तो हुन नसकेको बताएकी हुन्। 

नारायणगढ–मुग्लिन सडक खण्ड झन्डै पाँच घण्टापछि सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा रहेको तुइन खोला नजिकै बिहान साढे ११ बजे पहिरो खसेपछि बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ। सडकमा झरेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो। 

लुम्बिनीका क्रसर उद्योगीहरु आन्दोलित हुँदै क्रसर उद्योग नै बन्द गर्ने घोषणा गरेका छन्। सरकारको अव्यवहारिक निर्णयले नविकरण हुन नसकेको भन्दै लुम्बिनी प्रदेशका सबै उद्योगीले असार १६ गते देशैभरिका उद्योग बन्द गर्ने जानकारी दिएका हुन्।  

विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको जीर्णोद्वार सुरु गरिएको छ। हावाहुरीका कारण गत फागुनमा चैत्यको गजुर झरेपछि यसको जीर्णोद्वार सुरु गरिएको हो। 

मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन मर्मत सुरुको तयारी भइरहँदा त्यो सम्पन्न नहुँदासम्म पानी सञ्चालनका लागि मध्यकालीन सुधारको काम गरिने भएको छ।  विसं २०७८ असार १ गतेको बाढीका कारण आयोजनामा ठूलो भौतिक क्षति भएको थियो। सो क्षतिपछि आयोजना पुनःसञ्चालन गर्न र पुनःनिर्माणका लागि तत्काल गर्ने, मध्यकालीन र दीर्घकालीन गरी तीन किसिमका योजना बनाइएको थियो। तत्कालको सुधार सकिएर आयोजनाले उपत्यकामा पानी ल्याइरहेको छ।  

भक्तपुरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा ३३ वर्षका रामकुमार सार्कीको ज्यान गएको छ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ९ पलासेमा ग्यास सिलिण्डर लिक भइ आगलागी हुँदा सार्कीको ज्यान गएको प्रहरी परिसर भक्तपुरले जनाएको छ।

असार १ गते राति आफ्नै घरमा ग्यास चुहिएर भएको आगलागीमा परि घाइते भएका सार्कीको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ज्यान गएको हो।   

फ्रान्समा भएको हिंसात्मक प्रदर्शनका क्रममा एकैरात झण्डै एक हजार जना प्रदर्शनकारी पक्राउ परेका छन्। गएराति प्रहरीले ९ सय ९४ जनालाई पक्राउ गरेको  बीबीसीले जनाएको छ। योसहित पक्राउ पर्नेको सङ्ख्या एक हजार आठ सय जना पुगेको छ। पक्राउ परेकाहरु धेरैजसो किशोर अवस्थाका छन्। फ्रान्सको राजधानी पेरिसमा गएको मङ्गलबार एक १७ वर्षका किशोर नाहिल एमको हत्यापछि हिंसात्मक प्रदर्शन भइरहेको छ। 

भारत,महाराष्ट्रको बुलढाणामा गुडिरहेको एक निजीबसमा आगलागी हुँदा २५ जनाको जलेर मृत्यु भएको छ। दुर्घटना शनिबार बिहान महाराष्ट्रको बुलढाणास्थित समृद्धि एक्सप्रेस–वेमा भएको हो। बसमा सवार ३३ यात्रुमध्ये २५ जनाको मृत्यु भएको प्रेस ट्रस्ट अफइन्डिया(पीटीआई)ले लेखेको छ।  

बस नागपुरबाट पुणेतर्फ आइरहेको बेलाटायर पड्किएपछि चालकको नियन्त्रण बाहिर गई एक खम्बामा ठोकिएको थियो। त्यसपछि पुनः डिभाइडरमा ठोकिन पुग्दा डिजेल ट्याङ्की फुटेर बसमा आगो लागेको थियो।  

Logo