मेयर बालेनको अर्को चमत्कारः छाडा छोडिएका गाईवस्तुले पाउने भए छानो, रेखदेखका लागि २ कर्मचारी राखिने [भिडियाेसहित]

मेयर बालेनको अर्को चमत्कारः छाडा छोडिएका गाईवस्तुले पाउने भए छानो, रेखदेखका लागि २ कर्मचारी राखिने [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

मेयर बालेन शाहको अर्को चमत्कार ! काठमाडौं महानगरका मेयर बालेन शाहले तिहार नजिकिएसँगै पुनः अर्को चमत्कारको काम स्वरुप सडकमा छाडा छोडिएका चौपायालाई व्यवस्थित गर्ने भएका छन् । 

महानगरवासीहरुका लागि परिवर्तनका संवाहकका रुपमा परिचित मेयर शाहले सडकमा भेटिएका छाडा चौपायालाई काञ्जी हाउसमा राख्ने भएसँगै मेयर चर्चा पुनः चुलिएको छ । केही दिन अघि मात्रै सामाजिक सञ्जालमार्फत भूकम्प पिडितहरुका लागि राहतको सामग्री पठाएर वाहवाहि बटुलेका मेयर बालेन फेरि अर्को उदाहरणीय कामका कारण चर्चामा आएका हुन् । 

मेयर शाहका अनुसार अबदेखि सडकमा छाडा छोडिएका गाईबाच्छा भेटिए दक्षिणकाली नगरपालिका–७, कोपुगाउँमा राखिने जानकारी दिएका छन्। मेयर बालेनको उक्त उदाहरणीय कार्य बुधबारदेखि सुरु हुनेछ।

सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले भनेका छन्, ‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन्, तिर्खा लागेका बेला पानी पाउँदैनन् , बिरामी पर्दा उपचार पाउँदैनन्। सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ, उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ।’ काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेको पनि मेयर बालेनले बताए । यसैगरी उनले दक्षिणकाली नगरपालिका–७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधाको प्रबन्ध मिलाइएको बताए ।

मेयर बालेनले यस्तो उदाहरणीय कार्य गर्दा धेरैको मनमा शंका उब्जिएको होला ! मेयरसँग महानगरभित्र रहेका छाडा चौपायालाई संरक्षण गर्ने अधिकार होला त ? पक्कै पनि छ– मेयर शाहले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ अनुसार छाडा छोडिएका गाइवस्तुलाई व्यवस्थित गरेका हुन्। 

यस ठाउँमा काञ्जी हाउस सञ्चालन गर्न २०७८ फागुन ३ गते काठमाडौँ महानगरपालिका र दक्षिणकाली नगरपालिका बिच सम्झौता भएको हो । सम्झौता हुनुअघि यो ठाउँमा मिलीजुली पशुपालन समूहले पशु पालन गर्दै आएको थियो । प्रदेश सरकार र दक्षिणकाली नगरको सहयोग लिएर केही टहरासहितको पूर्वाधार, त्यस क्षेत्रमा पुग्ने बाटो, बिजुली पानी लगायतका सुविधा व्यवस्था गरेर थालिएता पनि विश्वव्यापी कोविड–१९का कारण नियमित हुन सकेन । यही ठाउँको पूर्वाधार निर्माणमा लागेको खर्च फिर्ता गरेर स्थान सञ्चालन गर्ने सर्तसहित सम्झौता भएको हो । 

सम्झौताबमोजिम लगानी फिर्तासहितका काम गर्न बालेन शाहले दक्षिणकाली नगरलाई ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराइ सकेको छ । काञ्जी हाउसमा दैनिक पशु व्यवस्थापन, हेरचाह तथा सरसफाइका लागि शाहले कर्मचारी खटाउनेछन् । यस्तै थप पूर्वाधार निर्माण तथा मर्मत सम्भार, मृत जनावरको व्यवस्थापन लगायत काम पनि महानगरपालिकाले नै गर्नेछ । पशु सेवालाई दैनिक सञ्चालन गर्न खाद्यान्न, औषधी, उपकरणको प्रबन्ध महानगरले गर्नेछ । 

महानगरपालिकाका अनुसार यस ठाउँमा १२६ रोपनी जमिन रहेको छ । यस ठाउँमा महानगरपालिकाले डाले तथा भुईँ घाँस लगाउने सम्भावना छ । 

महानगरपालिकाले यस क्षेत्रलाई आफ्नो बनाउन विभिन्न प्रयासहरु गर्दै आएको थियो । यसमध्ये चौपाया लिलामी एउटा विधि थियो । सडकमा भएका चौपाया जम्मा गरेर आर्थिक वर्ष २०५७/०५८ एक वर्षमा १६० गाईबाच्छा लिलामी गरिएको थियो । यस्तै आर्थिक वर्ष २०७०÷२०७१ मा ३८८ वटा चौपाया लिलामी गरियो । लिलामी गर्न पुग्ने सङ्ख्या बनाउन त्यसबेला टेकु ट्रान्सफर स्टेसन नजिक काञ्जी हाउस सञ्चालन गरिएको थियो । लिलाम गरिएका चौपाया कहाँ लगिन्छन् ? उनीहरू सुरक्षित रहन्छन् त ? प्रश्न आएपछि महानगरपालिकाले लिलाम गर्ने प्रक्रिया रोकेको थियो । 

महानगरपालिका क्षेत्रभित्र गाई पालन गर्ने गोठ र सडकमा भएका चौपायाको सङ्ख्या यकिन छैन । समय–समयमा सडकमा हुने सवारी दुर्घटनाको कारण छाडा चौपाया भएपछि उनीहरूकै सुरक्षाका लागि मेयर बालेनले यति ठुलो कदम चालेका हुन् । उनले विगत डेढ वर्षअघि देखि उपत्यकाबासीहरुका लागि थुप्रै उदाहरणीय कार्यहरु गर्दैै आएका छन् ।
 

Logo