काठमाडौँमा १९९ घण्टा उभिएका ईःले ललितपुरमा १ मिनेट पनि उभिन पाएनन्, किन ? [भिडियाेसहित]

काठमाडौँमा १९९ घण्टा उभिएका ईःले ललितपुरमा १ मिनेट पनि उभिन पाएनन्, किन ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

अभियन्ता ईःले पुल्चोकस्थित ललितपुर महानगरपालिकको प्रांगणमा उभिएर प्रदर्शन गर्न लाग्दा स्थानीयले अवरोध गरेका छन्।

ईःले फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयको विरोध गर्दै मंगलबार दिउँसो ३ बजे महानगरपालिकाको प्रांगणमा १०८ मिनेट उभिएर प्रदर्शन गर्न लागेका थिए। तर उनलाई स्थानीयले प्रर्दशन गर्न दिएनन्।

स्थानीयले अवरोध गर्दा ईः समर्थक र स्थानीयबीच केहीबेर झडप समेत भएको थियो। झडप बढेसँगै प्रहरीलाई भिड नियन्त्रणमा लिन हम्मे-हम्मे परेको थियो। साथै अभियन्ता ईः भीड असन्तुलित बन्दै गएपछि महानगरीय प्रहरी प्रभागको शरणमा समेत पुग्नु पर्यो । 

अभियन्ताईः समूह पुग्नु अगाडिनै ललितपुरका स्थानीय र सम्पदा अभियन्ताहरु फुटपाथमा पसल राख्न पाईदैन भन्दै विरोध प्रर्दशन गरिरहेका थिए। उनीहरुले ललितपुरमा कुनैपनि हालतमा फुटपाथ पसल राख्न नदिने र गलत अभियान लिएर आउने ईः जस्ता अभियन्तालाई प्रर्दशन गर्ने कुनै अधिकार नभएको बताएका थिए।

महानगरपालिकाले पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक महत्त्वका स्थानहरूमा अवरोध परेको भन्दै मंसिर २४ गतेदेखि लगनखेल-मंगलबजार रुटमा साँझ-बिहान पनि फुटपाथ पसल राख्न निषेध गरेको थियो। 

यसअघि अभियन्ता ईःले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग गरेर काठमाडौंको राष्ट्रिय सभागृह अगाडि १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरेका थिए। असोज १० मा काठमाडौं महानगरपालिका र ईः बीच सम्झौता भएको थियो। उक्त सम्झौता अझै कार्यान्वयनमा आएको छैन।

Logo