रायमाझी र पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्च अदालतलकाे आदेश
सर्वोच्च अदालतले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निजहरुलाई थुनामा राख्नुपर्ने कारणसहितको कैफियत प्रतिवेदन उच्च अदालत पाटनबाट झिकाउने आदेश दिएको हो ।
थुनामै राखेर मुद्दाको प्रक्रियाअघि बढाउन माग गर्दै उच्च अदालत पाटनको आदेशविरुद्ध रायमाझी र पाण्डेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदाललते कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको हो।
बालकुमारी घटनाका पीडित परिवार र सरकारबीच चार बुँदे सहमति
बालकुमारी घटनाका पीडित परिवार र सरकारबीच चार बुँदे सहमति भएको छ । सरकार, गृह मन्त्रालयको प्रतिनिधि, मृतक परिवारका प्रतिनिधिबीच छलफल गरी सहमति गरिएको हो।
मृतकका परिवारलाई रोजगारीदेखि सहिद घोषणाको पहलसम्म पर्ने सहमति बनेको छ। मृतकको शव आजै बुझेर सम्बन्धित जिल्लामा पठाउने सहमति पनि भएको छ। यो घटनामा दुई जनाको मृत्यु भएको थियो । यसको छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन आयोगसमेत गठन गरेको छ।
मन्त्रालयको भूमिकाका बारेमा छानबिन गर्न सरकारलाई निर्देशन
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले ललितपुरको बालकुमारीमा शुक्रबार २ युवाको ज्यान जानेगरी भएको घटनाका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भूमिकाका बारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले आगामी दिनमा यस प्रकारका घटना नहोस् भनी सम्बन्धित सबै पक्षलाई सजग र जिम्मेवार रहनसमेत निर्देशन दिएको छ ।
केपी शर्मा ओलीले दिए राष्ट्रपति रामचन्द्र पौडेललाई ‘सेरिमोनियल राजा’ को संज्ञा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘सेरिमोनियल राजा’ को संज्ञा दिएका छन् । नेपाली कांग्रेसले ४८औँ मेलमिलाप दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रपति पौडेललाई ‘सेरिमोनियल राजा’ अर्थात आलंकारिक राजतन्त्रको पक्षमा उभिएका व्यक्तिको रुपमा व्यङ्ग्य गरेका हुन् । साथै उनले राजसंस्थाको कुरा गर्नु भनेको चिहानबाट निकालेर नलिखुट्टाको हड्डी फुक्नुजस्तै भएको पनि दोहोर्याए ।
ईपीएस कोरिया शाखाले ‘शिप बिल्डिङ सेक्टर’तर्फ आवेदन दिएकालाई पनि ‘मेन्युफ्याक्चरिङ सेक्टरमा आवेदन भर्न दिने
उच्च अदालत पाटनको आदेशपछि ईपीएस कोरिया शाखाले ‘शिप बिल्डिङ सेक्टर’तर्फ आवेदन दिएकालाई पनि ‘मेन्युफ्याक्चरिङ सेक्टरमा आवेदन भर्न दिएको छ।
ललितपुरको ग्वार्कोमा रहेको ईपीएस कोरिया शाखाले यसअघि शिप बिल्डिङ सेक्टर’तर्फ परीक्षा दिइसकेकालाई पनि ‘मेन्युफ्याक्चरिङ सेक्टर’ तर्फ आवेदन भर्न दिएको हो। सोमबार ४ हजार बढीले आवेदन भरेको शाखाले जनाएको छ । शाखाले ‘शिप बिल्डिङ’ तर्फ आवेदन दिएकाहरुका लागि पुस १८ गतेसम्म म्याद तोकेको छ।
सिके राउत हिरासतबाट रिहा
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै नेपाल प्रहरीले नियन्त्रणमा लिएका जनमत पार्टीका अध्यक्ष सिके राउत र सो पार्टीका नेता एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीसहितका कार्यकर्ता उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको आदेशमा हिरासतबाट रिहा भएका छन्।
प्रतिनिधिसभाका सदस्य समेत रहेका राउतसहित सो पार्टीका ६३ जनालाई प्रहरीले हिरासतमा लिएको थियो। उनीहरुले काठमाडौँको नयाँ बानेश्वरबाट माइतीघरतर्फ पदयात्रा गरिरहेका बेला निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिइ नेपाल प्रहरी क्लबमा राखिएको थियो।
रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्धको रिटको सुनुवाइ स्थगित
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई आममाफी दिने निर्णयविरुद्धको रिटको सुनुवाइ स्थगित भएको छ।
सो रिटको सुनुवाइ प्रत्यर्थीका कानुन व्यवसायीबाट स्थगित सूचीमा राखिएको हो। सोमबार सो रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजालासमा सुनुवाइ तोकिएको थियो।
माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन कांग्रेस महामन्त्री गगन थापाको माग
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघर मण्डलाको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन्।
सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले माइतीघर मण्डला मानिसहरुले आफ्नो कुरा राख्ने, सरकार र संसदलाई सुनाउने महत्वपूर्ण ठाउँ भएको बताए ।
पाँच विमानस्थलमा एक्स–रे मेसिन जडान गरिँदै
नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले नेपालका पाँचवटा आन्तरिक विमानस्थलमा झोला जाँच(ब्यागेज चेक)गर्ने एक्स–रे मेसिन जडान गर्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले लुक्ला, रामेछाप, राजविराज, सुर्खेतसहितका विमानस्थलमा यी मेसिन जडान गर्न लागिएको र यसै आर्थिक वर्षभित्र जोडिसकिने जानकारी दिए।
मेसिन जडान गर्न आवश्यक ‘टेन्डर’ प्रक्रिया सुरु भइसकेको र सामान आउने क्रममा रहेको पनि उनले जानकारी दिए। उक्त उपकरण जडानपछि हवाई सुरक्षा अभिवृद्धि हुने र यात्रु तथा वायुयान कम्पनीलाई समेत सहयोग पुग्ने प्राधिकरणले जनाएको छ।
जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
सोमबार जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ। समाचार एजेन्सीहरुका अनुसार त्यसयता ४ म्याग्निच्युडभन्दा ठुला २१ परकम्प गइसके छ।
भूकम्प लगत्तै मौसम विज्ञान विभागका अधिकारीहरुले इशिकावा प्रान्तमा सुनामीको चेतावनी जारी गरेका छन्। इशिकावा प्रान्तको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः फाइनलमा एपीएफको प्रतिद्वन्द्वी कोशी प्रदेश
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो फाइनललिष्टमा कोशी प्रदेशको टोली पुगेको छ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार खेलिएको दोस्रो क्वालिफायर खेलमा सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराउँदै कोशी प्रदेश फाइनलमा पुगेको हो।
कोशी प्रदेशले अब बुधवार हुने फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग उपाधिका लागि भिडन्त गर्नेछ ।





























प्रतिक्रिया