रुसी सेनामा भर्ना भएका थप ३ जना नेपालीको मृत्यु, इपिएस परीक्षामा आवेदन दिने म्याद थप [भिडियाेसहित]

रुसी सेनामा भर्ना भएका थप ३ जना नेपालीको मृत्यु, इपिएस परीक्षामा आवेदन दिने म्याद थप [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक बिदा नदिन प्रधानमन्त्रीकाे  निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक बिदा नदिन निर्देशन दिएका छन्। रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक बिदा दिएपछि प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।  कार्यक्रममा बालबालिकाहरूलाई समेत सहभागी नगराउन सरकारी निकायलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

मन्त्री बस्नेतलाई पदबाट हटाउन तोसिमा कार्कीकाे माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने बताएकी छन् । हुँदै नभएको आधारभूत अस्पतालको सामान खरिद प्रकरणमा करोडौंको कमिसनको चलखेल गरिरहेको उनको आरोप छ ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले अस्पतालहरूमा आवश्यक दरबन्दी थप्न नचाहने, तर हुँदै नभएका अस्पतालमा पनि उपकरण खरिदको नाममा सेटिङमा कमिसन खान खोज्ने मन्त्री बस्नेतलाई स्पष्टीकरण लिएर पदबाट हटाउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिन माग गरिन्।

रुसी सेनामा भर्ना भएका थप ३ जना नेपालीको मृत्यु

रुसी सेनामा भर्ना भएका  थप तीन जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो। मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल,धार्दिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाहको रहेका छन्। योसँगै रुसी सेनामा भर्ना भइ मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ।

काठमाडौं महानगरपालिकामा सचिवालयका प्रमुखसहित ३ जना कर्मचारीलाई निलम्बन

करार कर्मचारीको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो सचिवालयका प्रमुखसहित ३ जना कर्मचारीलाई निलम्बन गरेका छन्। मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपानेसहित स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र सम्पदा तथा पर्यटन विभागकी वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन्।

नगर कार्यपालिकाले गरेको निर्णय आफूखुशी परिवर्तन गराएको पाइएपछि उनीहरुलाई सोमबार मेयर शाहले निलम्बन गरेको महानगर स्रोतले बतायो ।वरिष्ठ शाखा अधिकृत बिडारीले छोरीलाई करारमा जागिर खुवाउन कार्यपालिकाको निर्णय फेरेको बताइएको छ ।

ईपीएस परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा भर्न तोकिएको समय थप

सरकारले सिपबिल्डिङमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा भर्न तोकिएको समय थप भएको छ। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले मंगलबार एक सूचना प्रकाशित गर्दै यस्तो मिति २ दिन थप भएको जनाएको छ।

यसअघि १३ पुसको निर्णय अनुसार १६–१८ पुससम्म फारम भर्न पाउने गरी समय तोकिएको थियो । यसलाई अब २ दिन थप गरी २० पुससम्म पुर्याइएको ईपीएस कोरिया शाखाले जनाएको छ।

तर, ईपीएस कामदारको विषयलाई लिएर नेपालमा उत्पन्न विवादप्रति दक्षिण कोरिया चिन्तित देखिएको छ। नेपालस्थित कोरियाली राजदूत पार्क टी योङले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीहरुलाई भेटेर आफ्नो सरोकार व्यक्त गरे।स्रोतका अनुसार कोरियाली राजदूतको प्रमुख चासो यो घटनामा आफ्नो देशको सरकारलाई दोषारोपण नगरियोस् भन्ने थियो। 

ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रकरणमा कुनै किर्ते गतिविधि  थाहा नभएको माधवकुमारकाे दाबी

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रकरणमा कुनै किर्ते गतिविधि भएको आफूलाई थाहा नभएको बताएका छन्।

नेपाललाई विपक्षी बनाई दायर रिट निवेदनमा सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै उनले मन्त्रिपरिषदबाट ललिता निवासको जग्गाबारे कुनै निर्णय गर्दासम्म कीर्ते कागजात तयार गरेकोबारे आफूलाई जानकारी नभएको बताएका हुन्। 

गण्डकी विश्वविद्यालयका परीक्षा नियन्त्रक डा कोइरालाको नियुक्ति विधान विपरीत 

गण्डकी विश्वविद्यालयका परीक्षा नियन्त्रक डा.किसन कोइरालाको नियुक्ति विधान विपरीत भएको खुलेको छ। विश्वविद्यालयको जनशक्ति व्यवस्थापन समितिले सुरुमा ‘वातावरण विज्ञान’ विषयमा शिक्षक माग गरी कोइरालालाई ०७९ पुस २७ गते नियुक्त गरेको थियो।

उनी नियुक्त भएको विषय विश्वविद्यालयमा पढाइ हुँदैन । स्रोतका अनुसार कोइरालालाई ल्याउनकै लागि उक्त पद सिर्जना गरिएको थियो ।कोइराला विश्वविद्यालयको जनशक्ति व्यवस्थापन समिति सदस्य गेहेन्द्रेश्वर कोइरालाका छोरा हुन्। 

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गरे पूर्व राजदूतहरुसँग छलफल

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरुसँग छलफल गरेका छन्।  भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आज उनले उक्त छलफल गरेका हुन्। छलफलका क्रममा पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतबाट नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीमा सुझाव दिएका थिए।

जापानमा विमान अवतरणका क्रममा रनवेमा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी

जापान एयरलाइन्सको एक विमान अवतरणका क्रममा रनवेमा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी भएको छ ।जापानको राजधानीटोकियोमा रहेको हनेदा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ। जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रुपमा निकालिएको छ।  एनएचकेले जारी गरेको भिडियो फुटेजमा विमानको भर्याङबाट धुँवा निक्लिएको देखिन्छ।

क्यानले आफ्नो क्यालेन्डर निकाल्ने

नेपाल क्रिकेट संघ क्यानले आफ्नो क्यालेन्डर निकाल्ने भएको छ। क्यानले सन् २०२४ को लागि आफ्नो कन्टेन्ट क्यालेन्डर सार्वजनिक गर्ने घोषणा गरेको हो। क्यानले बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ बजे क्यालेन्डर सार्वजनिक गर्ने जनाएको छ। क्यालेन्डरमा सन् २०२४ का कार्यक्रमहरु समावेश हुने छन्।

Logo