धरान पुगेर बालेनले गरे हर्क साम्पाङको तारिफ, अदालतबाट प्रचण्डले पाए सफाइ [भिडियाेसहित]

धरान पुगेर बालेनले गरे हर्क साम्पाङको तारिफ, अदालतबाट प्रचण्डले पाए सफाइ [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

अदालतको अवहेलना मुद्दामा ७ वर्षपछि प्रधानमन्त्री प्रचण्डले पाए सफाइ

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सफाइ पाएका छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ मा दर्ता गरेको उक्त मुद्दामा फैसला सुनाउँदै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले मागदाबी नपुग्ने ठहर गरेको हो।

द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर प्रचण्डले टिप्पणी गरेको जिकिरसहित त्रिपाठीले अवहेलना मुद्दा दायर गरेका थिए। यो मुद्दाको बहस सकिएर आजका लागि निसु तोकिएको थियो।

हर्कको तारिफ गर्दै बालेनले भने– धरानको श्रम संस्कृति विश्वमै अनुकरणीय

धरान उत्सवको उद्घाटनमा धरान पुगेका काठमाडौं महानगरका मेयर बालेन शाहले धरान धेरै कुरामा अनुकरणीय भएको बताएका छन्। धरान डे को विशिष्ट अतिथिको रूपमा पुगेका बालेनले धरानको श्रमसंस्कृति समेत अनुकरणीय रहेको बताएका हुन्।

उनले उत्सवका अवसरमा धरानका मेयर हर्कलाई आकाश भैरवको प्रतिमा उपहार दिएका छन् । उपहार दिएप्रश्चात् बालेनले भने, ‘यहाँ यलम्बरलाई मानिन्छ । काठमाडौंमा आकाश भैरवलाई।

त्रिविको उपकुलपतिका लागि अनुभव हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन्।

शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई आफ्नै कार्यकक्षमा बोलाएर प्रधानमन्त्रीले उक्त विज्ञापन सच्चाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार राति भेटवार्ता भएको हो।

सत्ता समीकरण लगायत  समसामयिक विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ। निर्वाचनमा दोस्रो ठुलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग संवाद गरिरहेको छ।

सर्लाहीको बरहथवामा कर्फ्यू

सर्लाहीको बरहथवामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको छ। बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्नेसम्बन्धी विषयलाई लिएर विवाद भएर झडप हुँदा एक जनाको मृत्यु र प्रहरीसहित ८ जना घाइते भएपछि कर्फ्यू जारी गरिएको हो।

बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जारी गरेको आदेशमा भनिएको छ।
  
एमालेले राष्ट्रिय सभाको १९ सीटमै उम्मेदवारी दिने

नेकपा एमालेले राष्ट्रियसभाको १९ वटै सीटमा उम्मेदवारी दिने तयारी गरेको छ।पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा सिफारिस भएर आएका उम्मेदवारहरुबारे क्लस्टरअनुसार छलफल गरेको महासचिव शंकर पोखरेलले बताए। उनले भने,‘उम्मेदवारको बिषयमा हामीले आज प्रारम्भिक छलफल गरेका छौं। हामीले २३ गते १९ सीटै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छौं।’

भारतसँग सरकारले अपारदर्शी रुपमा सम्झौता गरेको भन्दै एमालेको विरोध

नेकपा एमालेले भारतलाई नेपालमा सीधै खर्च गर्न दिने रकमको सीमा २० करोड पुर्याइएकोमा विरोध जनाएको छ। भारतसँग विभिन्न सम्झौता गर्दा प्रमुख प्रतिपक्षीसँग कुनै सरसल्लाह नभएकोप्रति पनि एमाले बैठकले असन्तुष्टि प्रकट गरेको छ।

बैठकपछि पत्रकारहरुसँग बोल्दै एमाले महासचिव शंकर पोखरेलले प्रतिपक्षीलाई विश्वासमा लिएर भारतसँग डिल गर्नुपर्नेमा सरकार चुकेको बताए।

राष्ट्रिय सभा निर्वाचनमा ११५ वटा जातजातिले अल्पसख्यकको तर्फबाट उम्मेदवारी दिन पाउने 

आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा निर्वाचनमा अल्पसंख्यक समूहतर्फ ११५ जातजातिले निर्वाचनमा सहभागी हुनका लागि उम्मेदवारी दिन पाउने भएका छन्।

गृह मन्त्रालयले राष्ट्रिय सभा सदस्य निर्वाचन, ऐन, २०७४ को दफा दुईको खण्ड ख बमोजिम राष्ट्रिय जनगणना, २०७८ को जातीय विवरणमा उल्लेख भएका कुल जनसंख्याको ०.५ प्रतिशत भन्दा कम जनसंख्या रहेका दलित बाहेकका ११५ जातजातिको सूची मात्रै राजपत्रमा प्रकाशित गरेको हो।

जातीय विभेद गरेको आरोप लागेकी सरस्वती श्रेष्ठले जिल्ला अदालतबाट पाइन् सफाइ

सामाजिक अभियन्ता एवम सञ्चारकर्मी रुपा सुनारमाथि जातिय विभेद गरेको आरोप लागेकी सरस्वती श्रेष्ठले जिल्ला अदालत काठमाडौँबाट सफाई पाएकी छन्।

२०७८ असारमा जातकै आधारमा कोठा नदिइएको भन्दै सुनारले महानगरीय प्ररी परिसर सिंहदरबारमा उजुरी गरेकोमा उक्त मुद्दालाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अदालतमा दर्ता गरेको थियो।

जिल्ला अदालतमा दर्ता भएको साढे दुई वर्षपछि जिल्ला अदालतकाठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको एकल इजलाशले श्रेष्ठलाई सफाई दिने फैसला गरेको हो।

आइएसले लियो इरानमा भएको बम बिस्फोटको जिम्मा

इस्लामिक स्टेट (आइएस)ले इरानमा बुधबार भएको बम बिस्फोटको जिम्मेवारी लिएको छ। अनतराष्ट्रिय सञ्चारमाध्यमहरुको अनुसार इरानी सैनिकका पूर्व कमाण्डर कासिम सुलेमानीको समाधिस्थल नजिकै बुधबार बम बिस्फोट भएको घटनाको जिम्मा आइएसले लिएको हो। बुधबार दिउँसो ३ बजेपछि २० मिनेटको अन्तरमा दुईवटा ठूला बिस्फोट भएको थियो। बम विस्फोटमा ८४ जनाको मृत्यु भएको थियो भने साढे २ सयभन्दा बढी घाइते भएका थिए।

आइसिसी यू–१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टिमलाई क्यानले गर्याे विदाइ 

आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि दक्षिण अफ्रिका जाने नेपाली क्रिकेट टिमलाई आज नेपाल क्रिकेट संघ (क्यान)ले विदाइ गरेको छ। आगामी १९ जनवरीदेखि दक्षिण अफ्रिकामा हुने प्रतियोगितामा देव खनालले नेपाली टिमको कप्तानी गर्नेछन्।

दक्षिण अफ्रिकामा नेपालले एक साता प्रशिक्षण गर्नेछ। एक सातापछि नेपालले सुरुमा वाम अप खेल खेल्नेछ भने त्यसपछि विश्वकपका खेल खेल्नेछ।

Logo