राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलबीच सिट बाँडफाँट
राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलहरुले सिट बाँडफाँट गरेका छन्। आइतबार बसेको सत्तारुढ गठबन्धनको बैठकले संयुक्तरुपमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
निर्णय अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले छ, नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी नेपालले एक सिटमा उम्मेदवारी दिने गरी सहमति भएको छ। बाँकी रहेको एक सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।
सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन प्रचण्ड र देउवा सहमत
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सहमत भएका छन्।
राष्ट्रपति बनाउने भनेर दिएको आश्वासन पूरा नगरेका दाहाल र देउवाले सिटौलालाई संवैधानिक पद राष्ट्रिय सभाको अध्यक्ष पद दिने निर्णय गरेका हुन्। कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिटौला सोमबार राष्ट्रिय सभा सदस्य पदको मनोनयन दर्ता गर्न विराटनगर जाँदैछन्।
राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले टुंग्यायाे १९ सिटमै उम्मेदवारकाे टुंगो
नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि सबै १९ सिटकै उम्मेदवार टुंगो लगाएको छ । एमालेले कोशीमा रुक्मिणी चौधरी र पर्शुराम अधिकारी, मधेशबाट उषादेवी थरुनी र अर्जुनकुमार सिंह, बागमतीबाट रोचकुमारी चौलागाईं, त्रिलोचन निर्मल पौडेल, विवेक देवकोटा र धु्रबराज विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ।
साथै गण्डकीबाट सम्झना देवकोटा, चक्रबहादुर पराजुली र हेमचन्द्र शेरचन तथा लुम्बिनीबाट तुलसाकुमारी केसी र झपेन्द्रबहादु घर्ती, कर्णाली प्रदेशमा विमलाकुमारी शाही, डिल्लीप्रसाद भट्ट र हिक्मत विक तथा सुदूरपश्चिमबाट सावित्रादेवी घिमिरे, ईश्वरीप्रसाद खरेल र रामचन्द्र जोशी उम्मेदवार बनाइएको छ ।
निगमका क्याविन क्रूको सेवा सुविधामा विभेद नगर्न सर्वोच्च अदालतकाे आदेश
नेपाल वायुसेवा निगमका क्याविन क्रूको सेवा सुविधामा विभेद नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले नेपाल वायुसेवा निगमको नाममा एअरहोस्टेसहरूलाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकै आधारमा सेवा सुविधामा फरक पर्नेगरी कुनैपनि कदम चाल्न नपाउनेगरी अन्तरिम आदेश जारी भएको हो।
क्याविन क्रुको तर्फबाट वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू अनन्तराज लुइँटेल, कीर्तिनाथ शर्मा पौडेल, लीलाधर उपाध्याय, प्रतिभा उप्रेती, विशाल थापालगायतले बहस गरेका थिए।
राष्ट्रपति कार्यकारीको भूमिकामा देखिएकाे रवि लामिछानेकाे टिप्पणी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकका राष्ट्रपति कार्यकारी भूमिकामा देखिएको टिप्पणी गरेका छन्। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनबाट पारित भएर गएको विधेयक संविधान विपरित रोकेको दृष्टान्त पेश गर्दै उनले संविधानले सेरेमोनियल भनेपनि राष्ट्रपति कार्यकारीको भूमिकामा देखिएको बताएका छन्।
विद्युत् व्यापार सम्झौतालाई निजी क्षेत्रले गर्याे स्वागत
नेपाल र भारतबीच भएको दीर्घकालिन विद्युत् व्यापार सम्झौतालाई निजी क्षेत्रले स्वागत गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने बाटो खोल्दै भएको सम्झौतालाई ऐतिहासिक भन्दै यसले नेपालको ऊर्जा विकासमा आगामी दिनमा महत्वपूर्ण अवसर सिर्जना भई थप ढोका खुल्दै जाने बताएको छ।
सर्लाहीले बरहथवामा आइतबार दिउँसोदेखि सोमबार विहानसम्म कर्फ्यू जारी
जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आइतबार दिउँसोदेखि सोमबार विहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ। यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएको भन्दै कर्फ्यू जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिएका छन्।
हमास समूहकाे आक्रमण परेका विपिन जोशी सम्पर्कविहीन भएकाे तीन महिना पूरा
कञ्चनपुरका विपिन जोशी सम्पर्कविहीन बनेको तीन महिना पूरा भएको छ। आजभन्दा तीन महिना अगाडि अर्न एन्ड लर्न कार्यक्रममा इजरायल पुगेका जोशी सम्पर्कविहीन बनेका थिए।
७ अक्टोबर २०२३ मा इजरायल गाजासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए भने जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो । उनको अवस्था अझै अज्ञात छ ।
टुटलका प्रमुख शिक्षित भट्टलाई रिहा गर्न काठमाडौँ जिल्ला अदालतकाे आदेश
काठमाडौँ जिल्ला अदालतले टुटलका प्रमुख शिक्षित भट्टलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो।
आपराधिक विश्वासघात तथा प्रतिलिपि अधिकार ऐन सम्बन्धी कसूरको मुद्दामा अदालतले प्रतिवादीलाई थुनामा नै राखी मुद्दा अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको ठहर गरेको छ।
नेप्से परिसूचकमा २६ दशमलव ३६ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २६ दशमलव ३६ अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर दुई हजार २२ दशमलव ९२ को विन्दुमा कायम भएको हो।
आज तीनसय चार कम्पनीको एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता शेयर ९८ हजार छ सय ३२ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २४ करोड १४ लाख आठ हजार तीन सय ७९ बराबरको कारोबार भएको छ।
जलविद्युत् समूहको उपसूचक एक दशमलव तीन प्रतिशतले बढ्दा अरु सबै समूहको उपसूचक घटेका छन्। सबैभन्दा धेरै जीवन बीमा समूह दुई दशमलव ४० र व्यापार समूह दुई दशमलव १४ प्रतिशतले घटेका हुन् ।
यस वर्ष रुकुम पश्चिम खाद्य सुरक्षित जिल्ला नहरने
यस वर्ष रुकुम पश्चिम खाद्य सुरक्षित जिल्ला नहरने भएको छ। गत कात्तिक १७ गते रामिडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्प र भदौ १७ गते चलेको हावाहुरीका कारण खाद्य क्षेत्रमा ठूलो क्षति भएपछि यस वर्ष जिल्लामा खाद्य सङ्कट हुने देखिएको हो। गत भदौ १७ गते चलेको हावाहुरीका कारण जिल्ला भर चार हजार मेट्रिक टन मकै नष्ट भएको थियो।
त्यस्तै भूकम्पका कारण घर भत्किँदा घरमा भण्डारण गरेर राखिएको करिब ५५ मेट्रिन टन खाद्यान्न पुरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।
अमेरिकाका रक्षामन्त्री अस्पतालमा भर्ना
अमेरिकामा रक्षामन्त्री बिरामी परेर अस्पतालमा भर्ना भएर बसेको कुरा कयौँ दिनसम्म राष्ट्रपतिलाई जानकारी नगराइएको खुलासा भएको छ। सीबीएसलाई उदृत गर्दै बीबीसीले आइतबार यसबारे समाचार छापेको छ।
समाचारका अनुसार रक्षामन्त्री ल्योड अष्टिन बिरामी परेर अस्पताल भर्ना भएर बसेको कुरा कयौँ दिनसम्म बाइडेन प्रशासनलाई थाहा थिएन। ७० वर्षका अष्टिन सोमबार वाल्टर रिड मेडिकल सेन्टरमा भर्ना भएका थिए। शल्यक्रिया पछि केही जटिलता उत्पन्न भएकाले उनलाई अस्पतालमा भर्ना गर्नु परेको थियो
बी डिभिजन क्लब मध्यपुर युथ एशोसियसनलाई गरेको कारबाहीप्रति ११ जनाले जनाए अहसमति
अखिल नेपाल फुटबल संघ एन्फाले बी डिभिजन क्लब मध्यपुर युथ एशोसियसनलाई गरेको कारबाहीप्रति कार्य समितिका वरिष्ठ उपाध्यक्षसहित ११ जनाले अहसमति जनाएका छन्।
उनीहरुले अध्यक्षलाई सम्बोधन गर्दै यससम्बन्धी पत्र एन्फामा दर्ता पनि गरेका छन्। एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित, उपाध्यक्ष विराटजंग शाही, उपाध्यक्ष दीर्घबहादुर केसी तथा सदस्यहरु रविन्द्र चन्द, रमेश व्यञ्जनकार, रुपेश अधिकारी, भोजराज शाही, अनिल मल्ल, पेमा डोल्मा लामा, मनिष जोशी र मणिराज विष्टले असमति पत्रमा हस्ताक्षर गरेका छन्।































प्रतिक्रिया