जापानका प्रधानमन्त्री आबेको कार्यकाल ऐतिहासिक

जापानका प्रधानमन्त्री आबेको कार्यकाल ऐतिहासिक

केन्द्रबिन्दु
0
Shares

टोकियो ।

जापानका प्रधानमन्त्री शिन्जो आबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति भएका छन् । तर कोरोना भाइरसका कारण कुनै औपचारिक समारोह गर्नुको साटो प्रधानमन्त्री आबे दोस्रो पटक स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् ।

सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनिएका प्रधानमन्त्री आबे सोमबारसम्ममा लगातार २ हजार ७७९ औं दिन प्रधानमन्त्री पदमा रहन सफल भए । यस अघि सन् १९६४ देखि १९७२ सम्म तत्कालीन प्रधानमन्त्री आइसाकु सातोले लगातार २ हजार ७९८ दिन प्रधानमन्त्री पदमा रहेर यो सफलता प्राप्त गरेका हुन् ।

अर्को महिना ६६ वर्षमा प्रवेश गर्ने आबेले गत वर्षको नोभेम्बरमै देशको सर्वाधिक लामो अबधिसम्म प्रधानमन्त्री हुने रेकर्ड पनि पार गरिसकेका छन् ।

स्वास्थ्यका कारण प्रधानमन्त्री आबेको पहिलो कार्यकाल १३ वर्ष अघि एकाएक अबरुद्ध भएको थियो । त्यसबखत उनी एक वर्ष मात्र प्रधानमन्त्रीमा रहेका थिए । अहिले पनि उनको स्वास्थ्य अवस्थामा समस्या उत्पन्न हुन थालेको छ । पछिल्लो एक साताको अवधिमा उनी दोस्रो पटक सोमबार स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् ।

दोस्रो पटक अस्पताल पुग्नेक्रममा संवाददाताहरुसँग कुरा गर्दै प्रधानमन्त्री आबेले आफू अघिल्लो पटक गरिएको स्वास्थ्य परीक्षणको नतिजा बुझ्न र थप परीक्षण गराउन आएको प्रतिक्रिया दिए। उनले भने, “मेरो स्वास्थ्य अहिले ठीक छ, र म अझ कडा मिहिनेत गर्न चाहन्छु ।”

अघिल्लो सोमबार प्रधानमन्त्री आबेले टोकियोस्थित कियो युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणका लागि सात घण्टा बिताएका थिए । जापानी संचार माध्यमहरुले प्रधानमन्त्री आबेको स्वास्थ्य निरन्तर खस्किंदै गएको अनुमान गरेका छन् ।

आबेको मन्त्रिपरिषदका वरिष्ट सदस्यहरु एवं अर्थमन्त्री तारो आसो समेतका सत्तारुढ दलका नेताहरुले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आरामको जरुरत रहेको बताएका छन् । प्रधानमन्त्री कार्यालयको समाचार संकलन गर्ने संचारकर्मीहरुले प्रधानमन्त्री आबे निकै थकित देखिन थालेको र विगतको जस्तो फुर्तिलो गरी हिँड्न नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

गत साता प्रधानमन्त्री आबेले कार्यालयमा निकै कम समय दिएका थिए ।रासस

Logo