कोभिड-१९ नियन्त्रणका लागि केरलाबाट केहि सिक्ने कि ?

कोभिड-१९ नियन्त्रणका लागि केरलाबाट केहि सिक्ने कि ?

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विगत केही दिन यता चिन्ताजनक हिसाबले बढिरहेको छ । संक्रमण तीव्र भएपछि काठमाडौंमा बुधबार रातिदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

संक्रमितको संख्या दिनहुँ बढ्दो छ, तर रोकथाम र नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय देखिएको छैन । कोभिड–१९ संक्रमणको सन्दर्भमा केरला र नेपालबीच केही समानता छन् । भारतमा पनि पहिलो कोरोना केस केरलामै देखिएको थियो । जनवरी ३० मा भारतमा पहिलो कोरोनाको संक्रमण केरलामा पुष्टि भएको हो । ती संंक्रमित चीनको वुहानबाट फर्केका विद्यार्थी थिए । करिब साढे तीन करोड जनसंख्या भएको भारतको तटीय राज्य केरलाको आम्दानीको मुख्य स्रोत भनेको विप्रेषण नै हो । राज्यको कुल आयमा एक तिहाइ हिस्सा विप्रेषणको छ ।

त्यसमा केरलाको अंश करिब २० प्रतिशत रहने गरेको छ । नेपालको जस्तै केरलाका स्थानीयको पनि रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक हुन् । विश्वव्यापी कोभिड महामारीका कारण ठूलो संख्यामा केरलाका नागरिकहरू स्वदेश फर्केका थिए । केरलामा पुष्टि भएका संक्रमितमध्ये अधिकांश विदेशबाट आएकाहरू हुन् ।

यद्यपि केही स्थानमा समुदायमा पनि संक्रमण फैलिएको छ । तर पनि अन्य राज्यहरूको तुलनामा केरलामा संक्रमण कम देखिन्छ । बिहीबारसम्म केरलामा कुल संक्रमितको संख्या ५० हजार २ सय ३१ छ । भाइरसका कारण १ सय ८२ जनाको मात्र मृत्यु भएको छ । भारतका ३६ प्रदेश तथा केन्द्रशासित राज्यहरूमध्ये संक्रमणका हिसाबले केरला १३ औं स्थानमा छ भने मृत्यु संख्याका हिसाबले १४ औं स्थानमा छ ।

पछिल्ला दिनमा संक्रमण उच्च दरले बढिरहेको छ । तर, त्यहाँ खासै भयको वातावरण छैन । संक्रमण फैलावट र मृत्युदर कम किन भयो त केरलामा ? किन भयको वातावरण छैन ? यसको प्रमुख कारण भनेको केरलाको स्वास्थ्य पूर्वाधारसँगै राज्य सरकारको प्रभावकारी भूमिका हो ।

भारत सरकारका लागि नीति निर्माण गर्ने थिंक ट्यांक नीति आयोगले स्वास्थ्य सूचकांकमा केरला पहिलो नम्बरमा राखेको छ । विशेषगरी आपत्कालीन स्वास्थ्य सेवाका लागि केरला निकै सफल मानिएको छ । विश्व स्वास्थ्य संगठनले पनि कोभिड–१९ महामारी नियन्त्रण र रोकथामका लागि चालेका प्रभावकारी कदमका लागि केरलाको प्रशंसा गरिसकेको छ ।

भाइरसविरुद्ध लड्न राज्य सरकारले अंगीकार गरेको रणनीतिलाई केलाउने हो भने पनि धेरै कुरा प्रस्ट हुन्छ ।

राज्य सरकारले विशेषगरी प्रभावकारी सञ्चार, स्वास्थ्य क्षेत्रका जनशक्तिको दक्षता अभिवृद्धि र परिचालन तथा सरोकारवाला निकायबीचको समन्वयलाई प्राथमिकतामा राखेको देखिन्छ । सबैभन्दा माथि मुख्यमन्त्रीको नेतृत्वमा आवश्यक निर्णय लिन, समन्वय र परिचालन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ । यसमा निर्णायक भूमिका रहेको छ राज्यकी स्वास्थ्यमन्त्री केके शैलजाको ।

कोभिड–१९ को महामारीविरुद्ध लड्ने जिम्मेवारी पूरै उनको नेतृत्वमा छ । प्रदेश मुख्यसचिवको नेतृत्वमा कन्ट्रोल रुम छ । त्यसकै मातहतमा प्रत्येक जिल्लामा आपत्कालीन कन्ट्रोल रुमहरू बनाइएको छ । त्यस अन्तर्गत स्थानीय तहका सरकारहरूसँग समन्वय गर्ने गरिएको छ । भाइरस सम्बन्धी चेतना विस्तारमा विशेष जोड दिइएको थियो । दिल्लीबाट आफ्नी आमालाई भेट्न केरला पुगेकी द टेलिग्राफकी वरिष्ठ संवाददाता अनिता जोसुवाको भनाइमा केरलामा स्थानीय तह र राज्य सरकारबीचको समन्वयले सकारात्मक नतिजा दिएको हो ।कान्तिपुरबाट

Logo