काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बिहीबार भएको भेटवार्ता सकारात्मक भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेदेखि सुरु भएको दुई अध्यक्ष बीचको वार्ता सकारात्मक भएको हो । गत साउन २० गतेपछि आज पहिलो पटक दुई अध्यक्ष बीच भेटवार्ता भएको हो ।
त्यस्तै कोरोना बीमा गर्नेहरुले भुक्तानीका लागि धमाधम निवेदन दिन थालेका छन् । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या ह्वातै बढेसँगै कोरोना बीमा वापतको रकम भुक्तानीका लागि बीमा कम्पनीहरुमा बीमितले निवेदन दिन थालेका हुन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चालू शैक्षिक सत्र खेर जान नदिने गरी तयारी गर्न निर्देशन दिएका छन् । बिहीबार बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकमा बोल्दै मन्त्री पोखरेलले कोभिड–१९ का कारण खेर जान लागेको शैक्षिक सत्रका बारेमा सबै विकल्पका साथ गृहकार्य गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।
त्यस्तैगरी कोरोना भाइरस विरूद्ध रुसले खोप तयार पारेको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय जगतमा चासो बढ्न थालेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वमै पहिले पटक रुसले खोप बनाएको दाबी गरेसँगै अमेरिका लगायतका मुलुकहरुले चासो व्यक्त गरेका हुन् ।
देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले सवारी साधनको पास वितरण बन्द गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अनिश्चित कालसम्मका लागि सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..































प्रतिक्रिया