अमेरिकी राष्ट्रपति वाइडेनले उल्ट्याए डोनल्ड ट्रम्पका नीति

अमेरिकी राष्ट्रपति वाइडेनले उल्ट्याए डोनल्ड ट्रम्पका नीति

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

कार्यकालको पहिलो दिन अमेरिकी राष्ट्रपति जो बाइडनले कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रष्ट पार्ने प्रयास गरेका छन्।

कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएका छन्। “हामीले सामना गरिरहेको सङ्कटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन”, शपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नुअगाडि राष्ट्रपति जो बाइडनले ट्वीटमा भनेका थिए।

उनले कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तीव्र पार्न कार्यकारी आदेशहरू जारी गरेका छन्। उनले जारी गरेका अन्य आदेशहरूले विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातीय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिनेछ।

कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ, “ट्रम्प प्रशासनले पुर्‍याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउनेछन्।”

चार लाख अमेरिकीहरूको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीसँग जुझ्ने विभिन्न उपायहरू ती आदेशमा रहेका छन्। तिनका मुख्य बुँदा यसप्रकार छन् :

  • विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)बाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने।
  • भाइरस विज्ञ डा एन्थोनी फाउचीले यसै साता हुने डब्ल्यूचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने
  • कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने
  • सबै सङ्घीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने
  • आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरी १०० दिने मास्क चुनौती अभियान थालनी गरिने

जलवायु सङ्कट

वातावरणसम्बन्धी कतिपय ट्रम्प प्रशासनका नीतिहरू बाइडनले उल्ट्याउन चाहेका छन्। त्यसको निम्ति उनको आदेशमा भनिएको छ :

  • सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुनः सामेल हुने
  • विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द। वातावरणवादी तथा अमेरिकी आदिवासीहरूले उक्त परियोजनाको दशकौँदेखि विरोध गर्दै आएका थिए ।

आप्रवासन

  • आप्रवासनको विषयमा उनको आदेशमार्फत् बाइडनले दुई प्रमुख निर्णय गरेका छन् ः
  • ट्रम्पले लागू गरेको तथाकथित मुस्लिम प्रतिबन्धअन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा
  • मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द

बिबिसीबाट

Logo