भगवान गौतम बुद्ध भारतीय नागरिक भएको दाबीदेखि नेकपा फुट्न नदिने सांसदहरुको प्रतिबद्धतासम्म (भिडियोसहित)

भगवान गौतम बुद्ध भारतीय नागरिक भएको दाबीदेखि नेकपा फुट्न नदिने सांसदहरुको प्रतिबद्धतासम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये भारतका विदेश मन्त्री एस जयशंकरले भगवान गौतम बुद्ध महान भारतीय नागरिक भएको दाबी गरेका छन् । शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन कन्फडरेशन अफ इन्डियन इन्डस्ट्रिले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्दै उनले गौतम बुद्धलाई ‘महान भारतीय नागरिक’ भएको दाबी गरेका हुन् ।

त्यस्तै नेपाल विद्युत प्राधिकरणले आजबाट स्मार्ट मिटर जडान सुरु गरेको छ । पहिलो चरणमा १ लाख स्मार्ट मिटर जडान गर्ने योजनाका साथ आजबाट काम सुरु भएको हो । सिंगल फेजका मिटरहरुलाई स्मार्ट मिटर बनाउने काम आजबाट सुरु भएको र पहिलो चरणमा १ लाख मिटर जडान गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले लक्ष्यअनुसार कागजी नोटको प्रयोगमा कमी ल्याउन सकेको छैन । नयाँ नोटको प्रयोगलाई विस्तारै कम गर्ने योजना अनुसार घटाउन सुरु गरिएको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले बताए । तर तत्काल पूर्ण रुपमा नोटको प्रयोग घटाउन सकिने अवस्था नभएको उनको भनाइ छ ।

त्यस्तैगरी श्रीलंकाका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्व राष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको सपथ लिएका छन् । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

सत्तारूढ दल नेकपाका सांसदहरूले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला आफूहरुको टाउको गनेर पार्टी विभाजनको दिशामा नजान सुझाव दिएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै सांसदहरुले शीर्ष नेताहरूलाई त्यस्तो सुझाव दिएका हुन् । उनीहरुले पार्टी एकतालाई सुदृढ पार्न दबाब दिन भन्दै हस्ताक्षर समेत गरेका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo