किन हटायो फेसबुकले राष्ट्रपति ट्रम्पको भिडियो सामग्री ?

किन हटायो फेसबुकले राष्ट्रपति ट्रम्पको भिडियो सामग्री ?

केन्द्रबिन्दु
0
Shares

सानफ्रान्सिस्को ।

सामाजिक संजाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा भिडियो पोस्टलाई हटाइदिएको बुधबार जनाएको छ । भिडियोमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबाट बालबालिका सुरक्षित रहेको दाबीसहितको सन्देश प्रवाहित गरेका थिए ।

फेसबुकले राष्ट्रपतिको उक्त दाबीलाई “कोभिड सम्बन्धी अहितकर झुठो सूचना” को वर्गीकरणभित्र राख्दै फेसबुकबाट हटाएको जनाएको छ ।

विश्वकै अग्रणी सामाजिक संजाल फेसबुकले राष्ट्रपति ट्रम्पले पोस्ट गरेको सामग्रीलाई आपत्तिजनक र गलत ठहर्याउँदै फेसबुक पेजबाट हटाएको यो पहिलो पटक हो । हुनत यस अघि राष्ट्रपति ट्रम्पको चुनावी अभियानको पेजमा प्रयोग भएको नाजी प्रतीक चिह्नलाई पनि फेसबुकले हटाएको थियो ।

फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको यो भिडियो अंशमा राष्ट्रपति ट्रम्पले कोभिड–१९ बाट एउटा समूह सुरक्षित रहेको भन्दै गलत दाबी गरिएको फेसबुकका प्रवक्ताले बताएका छन् । उनले कोभिड सम्बन्धी फेसबुकको नीति विपरीत राष्ट्रपति ट्रम्पको दाबी फेसबुकमा पोस्ट भएको जानकारी दिए ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित प्रेस ब्रिफिङमा आफ्नो भनाईको बचाउ गरेका थिए । उनले भने, “बालबच्चाहरुले कोभिडलाई सहजै परास्त गर्न सक्छन् भन्ने मेरो धारणा हो । उनीहरुमा रोगप्रतिरोधी क्षमता बढी हुन्छ ।”

स्वास्थ्य अधिकारीहरुले कोभिडको असर जुनसुकै उमेर समूहका व्यक्तिमा हुने जनाउँदै सतर्कता अपनाउन निरन्तर आग्रह गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले गत साता पनि कोभिड सम्बन्धी गलत सूचना प्रवाह गर्नु भएको थियो ।रासस

Logo