मध्य एशियामा आफ्नो प्रभाव विस्तार गर्दै अमेरिका

मध्य एशियामा आफ्नो प्रभाव विस्तार गर्दै अमेरिका

केन्द्रबिन्दु
0
Shares

रुसको ऐतिहासिक प्रभावले सहयोगको सीमालाई सीमित गरे पनि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन पूर्वशोभियत गणतन्त्रहरूलाई अझ व्यापक अमेरिकी सहयोग र संलग्नामा आश्वस्त पार्न मध्य एशियाली देशको भ्रमणमा निस्कदै छन् । 

युक्रेन युद्धको प्रथम वार्षिकीपछि अमेरिकाका शीर्ष कूटनीतिज्ञ आगामी मङ्गलबार कजाकिस्तान र त्यसपछि उज्वेकिस्तान पुग्ने भएका छन् । कजाकिस्तानको राजधानी अस्तानमा सबै पाँच पूर्वशोभियत राज्यका विदेशमन्त्रीसँग उनले संयुक्तरूपमा भेटवार्ता गर्नेछन् ।
 
दक्षिण र मध्य एशियाका लागि अमेरिकी कूटनीतिज्ञ डोनाल्ड लुले पूर्वशोभियत राज्यहरूले रुस वा चीनसँगको सम्बन्धलाई महत्व दिइरहेका बेला त्यहाँ अमेरिकी उपस्थिति प्रवद्र्धन गर्नु अपरिहार्य भएको बताएका छन् । 

विदेशमन्त्री ब्लिङ्केनको भावी भ्रमण मस्को र बेइजिङभन्दा वासिङ्टन विश्वसनीय साझेदार भएको ती देशलाई आश्वास्त पार्ने उद्देश्यका साथ हुन लागेको पत्रकारहरूलाई बताएका छन् । पूर्वशोभियत गणतन्त्रहरूमा अमेरिकी संलग्नता बढाउने तथा आर्थिक सहायता उपलव्ध गराउने सन्दर्भमा भ्रमण हुन लागेको उनले उल्लेख गरे । ती देशसँग अमेरिकी प्रस्तावबारे छलफल गर्न आवश्यक भएको उनको कथन छ । 

कूटनीतिज्ञ तथा विज्ञहरूका अनुसार मध्य एशियाली देशका नेताहरू मस्कोसँग औपचारिक सुरक्षा सम्झौताबाट विमुख हुन चाहँदैनन् । रुस नै उनीहरूका श्रमिकहरूको प्रमुख गन्तव्य मुलुका हो । यस्तो पृष्ठभूमिमा उनीहरू रुससँगै रहेको देखाउन चाहन्छन् भने उसको आर्थिक प्रभावबाट मुक्त हुन असमर्थ छन् । गत बिहीबार संयुक्त राष्ट्रसङ्घको महासभाले युक्रेनमा दिगो शान्ति कायम गर्न त्यहाँबाट रुसी सेना तत्काल निःशर्त आफ्नो देश फर्कनुपर्ने प्रस्तावमाथिको मतदानमा पनि ती देश सहभागी भएनन् । मध्य एशिया अमेरिकाका निम्ति सीमाहीन भएको मध्य एशिया विज्ञ पिट्सवर्ग विश्वविद्यालयका जेनिफर ब्रिक मर्तजासभिली बताउँछन् । 

“मध्य एशियाली राष्ट्रका नेताहरू रुसको प्रभावबाट मुक्त हुन चाहन्छन् । यो कुरा उनीहरूले राम्ररी बुझेका छन् । रुस उनीहरूका लागि खतरा हो, तर भूगोलका आधारमा उनीहरू चाहेर पनि मस्कोको साथ छाड्न सक्दैनन् । उनीहरूको आर्थिक स्थितिले पनि त्यसो गर्ने अनुमति दिँदैन । उनीहरू विकल्प चाहन्छन्,” उनले भने । संयुक्त राज्य अमेरिकाका लागि यी रचनात्मक पक्ष भएका बताउँदै उनले ती देशका नेताहरूसँग अमेरिकाले संलग्नता बढाउनु स्वाभिवक भएको तर्क गरे । 

कजाकिस्तानसँग रुसको सबैभन्दा लामो सिमाना छभने सबैभन्दा जटिल सम्बन्ध पनि । कजाकिस्तान जातीय रुसी अल्पसङ्ख्यकको अधिकारको बारेमा सजग छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन आक्रमणको औचित्यबारे कजाक नेताहरूलाई बताएका छन् । उनले कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभलाई गत वर्ष भेटेर रुससँगको साझेदारी पुनः पुष्टि गरेका थिए । 

केही समयअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको कुराकानीमा कजाकिस्तानका राष्ट्रपतिले अन्तर्राष्ट्रिय कानुनमा आधारित द्वन्द्वको अन्त्यका लागि वार्ता गर्न आग्रह गरेका थिए । युक्रेन आक्रमणको एक महिनाअघि राष्ट्रपति तोकायेभले रुसी नेतृत्वको सेनालाई दङ्गा नियन्त्रणमा मद्दत गर्न आह्वान गरे तर जनताको व्यापक विरोधपछि उनले उक्त आह्वान स्थगन गरेका थिए । 

ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनले गत अक्टोबरमा रुसले मध्य एशियाली देशहरूको हितलाई बेवास्ता गरेको आरोप लगाउँदै पुटिनलाई क्षेत्रीय बैठकमा  सार्वजनिक रुपमा गाली गरेको भिडियो भाइरल भएपछि रुस-ताजिकिस्तान सम्ब्न्धमा तरङ्ग उत्पन्न भएको थियो । -एएफपी

Logo