आफैँ कैदमा रहेका चन्द्रशेखरको गरिब कैदीलाई करोडौँ प्रदान गर्ने चाहना

आफैँ कैदमा रहेका चन्द्रशेखरको गरिब कैदीलाई करोडौँ प्रदान गर्ने चाहना

केन्द्रबिन्दु
0
Shares

आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् । 

ठगीको आरोपमा श्रीमतीसहित पक्राउ परेका सुकेश चन्द्रशेखरले बुधवार कारागार महानिर्देशकलाई पत्र लेखेर धरौटी रकम तीर्न नसक्ने कैदीलाई उक्त रकम प्रदान गर्न चाहेको उल्लेख गर्दै अनुमति मागेका छन् । 

चन्द्रशेखरले पत्रमा भनिएको छ, “आफू नै बन्दी जीवन बिताइरहेको एक मानवका रुपमा म कारागारमा रहेका बन्दीको हितका निम्ति रु पाँच करोड ११ लाख प्रदान गर्न चाहन्छु । मेरो अनुरोध स्वीकार गर्न विनम्र अनुरोध गर्दछु । मेरो अनुरोध यही मार्च २५ सम्ममा स्वीकार गरियोस्, किनकि यो मेरो जन्मदिन हो । मेरो अनुरोध स्वीकार गरिएमा म ज्यादै हर्षित हुनेछु । र, प्राप्त स्वीकृति मेरा लागि सबैभन्दा राम्रो उपहार हुनेछ ।”

परिवारको कुनै सदस्य जेल पर्दा उसका आश्रित वा अभिभावकले झेलेको पीडा, टुटेको पारिवारिक सम्बन्ध, प्रियजन जेल पर्दा तहसनहस भएका परिवार, आत्महत्यालगायत अति विषम परिस्थिति आफूले देखेको जनाउँदै पत्रमा चन्द्रशेखरले आफ्नो सानो प्रयास स्वीकार गर्न अनुरोध गरेका छन् । उनले उक्त रकम आफ्नो व्यक्तिगत एवम् वैधानिक आम्दानी भएको दाबी गर्दै आवश्यक परेमा आयस्रोतको प्रमाण पनि पेश गर्ने बताएका छन् । 

आफू र आफ्नो परिवारले सञ्चालन गरेका परोपकरी संस्था शारदा अम्मा फाउण्डेशन र चन्द्रशेखर क्यान्सर फाउण्डेशनमार्फत मानव कल्याणका कार्यक्रम सञ्चालन भएका, ती संस्थाले दक्षिण भारतका लाखौँ गरिबलाई भोजनको प्रबन्ध गरेको तथा हरेक महिना क्यान्सका बिरामीलाई निःशुल्क केमोथेरापी सेवा प्रदान गर्दै आएको पत्रमा उल्लेख गर्दै चन्द्रशेखरले जेलमा रहेका बन्दीले धरौटी रकम तिर्न नसक्दा थुनामा नै रहनु पर्ने भएकाले उनीहरूलाई जेल मुक्त गर्न रकम दान गर्ने आशय व्यक्त गरेका छन् । 

उनले केही समयअघि दिल्लीका जेल निरीक्षकसमक्ष पनि रकम प्रदान गर्ने अनुमतिका निम्ति आवेदन गरेको तर त्यसको जवाफ हालसम्म प्राप्त नभएको पत्रका उल्लेख गरेका छन् । -एएनआई

Skip This
Skip This
Logo