विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ बाट हालसम्म विश्वभर १ करोड ३४ लाख ७८ हजार ६ सय १३ जना मानिसहरु संक्रमित भइसकेका छन् । जसमध्ये ७८ लाख ७१ हजार ६ सय ९७ जना निको भएका छन् भने ५ लाख ८१ हजार ७ सय १० जनाले ज्यान गुमाईसकेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस गेब्रिजले ‘अहिले कोरोना महामारी खराब भन्दा खराब हुँदै गइरहेको र पुरानो अवस्थाहरु अब नफर्कने बताएका छन् । यूरोप र एशियामा केही देशहरु छन् जसले महामारीलाई नियन्त्रण गरेका छन् भने केही देशहरु अझै गलत दिशामा गइरहेका छन् ।
अद्यावधिकहरु
यूएनको रिपोर्ट अनुसार, विश्वभरी प्रत्येक नौं जना मध्ये एक जना कोरोना महामारीको कारण भोकमारीको शिकार भएका छन् । विश्वव्यापी रुपमा ६९ करोड मानिसहरु भोकमारीबाट पीडित भएका छन् । जुन कुल जनसंख्याको ८.९ प्रतिशत हो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भनेकाे छ ‘अमेरिकाले अलग्गै औपचारिक पत्र अहिलेसम्म दिएको छैन ।’ अमेरिकाले डब्लूएचओबाट अलग गर्ने घोषणा गरेको छ । गत हप्ता अमेरिकाले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई यसको आधिकारीक सूचना समेत दिएको थियो ।
आयरल्याण्डमा सोमबारदेखि सार्वजनिक यातायातमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाएमा २५०० यूरो जरिवाना साथै ६ महिनाको जेल सजाय हुने व्यवस्था पनि गरेको छ ।
हङकङमा कोरोना संक्रमण बढ्दैछ । यसलाई ध्यानमा राख्दै सामाजिक दूरीसँग सम्बन्धित नियमहरु कडा गरिएको छ । चार भन्दा बढी व्यक्तिहरु एक ठाउँमा भेला हुन प्रतिबन्ध लगाइएको छ ।
यूरोपपछि ल्याटिन अमेरिकामा सबैभन्दा बढीको मृत्यु
ल्याटिन अमेरिकाले कोरोना संक्रमणबाट हुने मृत्युमा अमेरिका र क्यानडालाई पछाडि पारेको छ । ल्याटिन अमेरिकामा हालसम्म १ लाख ४४ हजार ७५८ जनाको मृत्यु भइसकेको छ । अमेरिका र क्यानडामा १ लाख ४४ हजार २३ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म यूरोपमा सबैभन्दा बढी २ लाख २ हजार ५०५ जनाको मृत्यु भएको छ ।
जापान : ओकिनावा टापुमा ९२ अमेरिकी सैनिक संक्रमित
२३ अमेरिकी सैनिकहरु आइतबार जापानको ओकिनावा टापुमा संक्रमित भेट्टिए । यसभन्दा अघि शनिबार ७१ सैनिकको रिपोर्ट पोजिटिभ आएको थियो । युएस नेवी अफिसर मेजर केन कुन्जेका अनुसार, टापुमा संक्रमितको संख्या बढेर ९२ पुगेको छ । यी सबै केसहरु ७ देखि १३ जुलाई बीच भेटिएको थियो ।
दक्षिण अफ्रिका : रक्सी बिक्रीमा प्रतिबन्ध
दक्षिण अफ्रिकामा आइतबार रातिदेखि कर्फ्यू लगाइएको छ । रक्सी बिक्री वितरण पनि रोकिएको छ । पछिल्लो हप्ता मात्र रक्सी बेच्न अनुमती दिइएको थियो । राष्ट्रपति सिरिल रामाफोसाले अनुमती पश्चात् मुलुकमा संक्रमण बढ्न थालेकाले यस्तो अवस्थामा अस्पताल र क्लिनिकहरुमा काम गर्ने कर्मचारीहरुले रक्सी पिउदा बिरामीहरुप्रति महत्वपूर्ण ध्यान बढाउन नसकेका बताएका छन् ।
अमेरिका : कोभिड पार्टीमा सामेल हुने एकको मृत्यु
अमेरिकाको न्यूयोर्कमा रहेको ‘कोभिड पार्टी’मा सामेल हुने ३० बर्षीय पुरुषको मृत्यु भयो । उक्त पार्टी संक्रमित व्यक्तिहरुद्वारा आयोजना गरिएको थियो । अस्पतालका मेडिकल अफिसरका अनुसार, ती व्यक्तिहरुले कोरोनालाई अफवाह ठान्थे ।
अष्ट्रेलिया : संक्रमण रोक्नको लागि सेनाहरुको संख्या बढ्दो
अष्ट्रेलिया सरकारले संक्रमण रोक्नको लागि काममा सिपाहीको संख्या बढाउँदैछ । अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेट हन्टका अनुसार, भिक्टोरिया राज्यमा १ हजार थप सेना खटाइनेछ । पछिल्ला केही दिनदेखि यहाँ नयाँ केसहरु बढ्न थालिएपछि सरकारले यो निर्णय लिएको हो । अष्ट्रेलियामा आइतबार १७७ नयाँ केसहरु देखिएको थियो ।
मेक्सिको : मृत्युको संख्या इटालीभन्दा बढी
मेक्सिकोमा आइतबार मर्नेको संख्या इटालीभन्दा बढी छ । हालसम्म माक्सिकोमा ३५ हजार ६ जनाको मृत्यु भएको छ भने २ लाख ९५ हजार २६८ जना संक्रमित भएका छन् । केही हप्ता अगाडी मात्रै यहाँ लकडाउन खुलाइएको थियो । त्यसपछि केसहरु बढ्न थालेको हो । यद्यपी राष्ट्रपति एन्ड्रेस मनुएल लोपेजले देशको महामारी कमजोर हुँदै गएको भनेका छन् ।
ब्राजिल : मास्क नलगाउने बिरुद्ध कारबाही
ब्राजिलमा मास्क नलगाउने बिरुद्ध कारबाही भइरहेको छ । यहाँ २१ मे देखि मास्क प्रयोग गर्नु आवश्यक छ । ब्राजिल संक्रमणको सन्दर्भमा विश्वकै दोस्रो स्थानमा छ । यहाँ साओपाउलोमा १ लाख ३० हजार संक्रमित भेट्टिएका छन् । जसमा ११ हजार ४१५ जनाको मृत्यु भएको छ ।
मेडागास्कर : २५ सांसदहरु संक्रमित
मेडागास्करमा दुई सांसदको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । यस बाहेक अन्य २५ जना सांसदहरु संक्रमित भएका छन् । लकडाउन राजधानी एन्टानानारिभोमा दुई महिनापछि हटाइएको थियो भने जुलाई ५ देखि फेरि लकडाउन गरिएको छ ।
कोलम्बिया : राजधानी बोगोटाको सीमा सिल
कोलम्बियामा सोमबार ५ हजार ८३ केस देखिएको थियो । यहाँ संक्रमितको संख्या १ लाख ५० हजार नाघेको छ भने हालसम्म ५ हजार ३०७ व्यक्तिले ज्यान गुमाइसकेको छ । सरकारले राजधानी बोगोटाको सिमाना बन्द गर्ने निर्णय गरेको छ । बोगोटाबाट ४९ हजार ६४४ केस रिपोर्ट गरिएको छ । यसभन्दा पहिले सरकारले १ जुलाईदेखि राष्ट्रव्यापी लकडाउन बिस्तार गरेको छ ।





























प्रतिक्रिया