कार चालकको प्रहरीले हत्या गरेपछि फ्रान्समा भड्कियो हिंसा

कार चालकको प्रहरीले हत्या गरेपछि फ्रान्समा भड्कियो हिंसा

केन्द्रबिन्दु
0
Shares

फ्रान्समा गत मंगलबारदेखी भड्किएको दंगा अझै नियन्त्रणमा आउन सकेको छैन।  गत मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगर नान्तेरेमा १७ वर्षीय नाहेललाई प्रहरीले ट्राफिक सिग्नलमा रोक्न नसके पछि गोली हानी हत्या गरेपछि फ्रान्समा दंगा भड्किएको हो। गोली चलाउने अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। 

सो घटनापछि फ्रान्समा हिंसा जारी छ। बुधबार अबेरदेखि पेरिसको सडकमा सयौं मानिसले प्रदर्शन गरिरहेका छन्। बीबीसीका अनुसार प्रदर्शनकारीहरूले धेरै भवन र कारमा आगजनी गरेका छन् र प्रहरीमाथि घरेलु बमसमेत प्रहार गरेका छन्।  फ्रान्सको आन्तरिक मन्त्रालयले सडकमा २ हजार प्रहरी तैनाथ गरेको छ। अहिलेसम्म १५० प्रदर्शनकारी पक्राउ परेका छन्।

गत मंगलबार दुई पुलिस अधिकारीहरूले नान्तेरेको सडकमा पहेंलो कार रोके। झगडाका क्रममा प्रहरी अधिकृतले पेस्तोल निकालेर चालक नाहेलको टाउकोमा गोली हानेका थिए। चालकले कारलाई तीव्रता दिएका थिए जुन केही टाढा गएपछि दुर्घटनामा परेको थियो। उनको घटनास्थलमै मृत्यु भयो।

सो घटनालालाई फ्रान्सका राष्ट्रपतिले आकस्मिक बैठक बोलाएका छन्। म्याक्रोनले भने, ‘यो घटनाले सिंगो देश स्तब्ध भएको छ। यसरी युवाको हत्यालाई कुनै तर्कले औचित्य दिँदैन।’ फ्रान्सका सांसदहरूले बुधबार राष्ट्रिय सभामा एक मिनेट मौन धारण गरेका थिए। प्रधानमन्त्री एलिजाबेथ बोर्नले भनिन्,‘गोलीबारीको यो घटना स्पष्ट रूपमा नियमको उल्लङ्घन हो।’ पीडित परिवारले घटनामा संलग्न अधिकारीविरुद्ध ज्यान मार्ने,सहयोग र दुर्व्यवहार  गरेको आरोपमा उजुरी दिएका छन्।

Logo