थाइल्याण्डको राष्ट्रियसभाका पूर्वअध्यक्ष वान मुहम्मद नूर माथा मङ्गलबार प्रतिनिधिसभाको नयाँ सभामुखमा निर्वाचित भएका छन्।मुभ फर्वार्ड पार्टीका नेता पिता लिम्जारोएन्रातले वान नूरलाई संसदीय सत्रमा मनोनीत भएपछि नवनिर्वाचित पाँच सय सदस्यीय सदनले आफ्नो नयाँ सभामुख, प्रथम उपसभामुख र द्वितीय उपसभामुख चयन गर्ने बाटो खुलेको हो।
संसद्मा सम्बोधन गर्दै नेता वान नूरले आफू राजनीतिक रूपमा तटस्थ रहने र नयाँ संसदीय अधिवेशनको औपचारिक उद्घाटनका क्रममा राजाले दिएको निर्देशन पालना गर्ने बताएका छन्।
थाइल्याण्डको संविधानअनुसार सभामुख राष्ट्रियसभाको अध्यक्ष पनि हुनेछन् । राजाले सो पदको शाही अनुमोदन गरेपछि नयाँ सभामुखले नयाँ प्रधानमन्त्री चयन गर्न तल्लो सदनमा पाँच सय र माथिल्लो सदनमा दुई सय ५० सिनेटरहरू सम्मिलित संसद्को संयुक्त बैठक बोलाउनेछन्। नवनिर्वाचित सभामुख ७९ वर्षीय वान मुहम्मद नूर माथा यसअघि गृह मन्त्रालय, यातायात मन्त्रालय वा कृषि मन्त्रालयको नेतृत्व गरिसकेका छन् ।





























प्रतिक्रिया