गाजा पट्टी इन्धन आपूर्तिमा अवरोध नगर्न इजरायलसँग डब्ल्यूएचओको आग्रह

गाजा पट्टी इन्धन आपूर्तिमा अवरोध नगर्न इजरायलसँग डब्ल्यूएचओको आग्रह

केन्द्रबिन्दु
0
Shares

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले इजरायललाई गाजा पट्टीमा इन्धन लैजान अनुमति दिन आग्रह गरेका छन्। इजरायलको सहमतिपछि पानी, खाना र औषधिको पहिलो आपूर्ति आक्रमणबाट प्रभावित क्षेत्रमा बिहीबार गरिएको छ।

‘इजिप्टबाट गाजामा पानी, खाद्यान्न र औषधि प्रवेशमा रोक नलगाउने इजरायलको घोषणालाई हामी स्वागत गर्दछौँ। अस्पतालका जेनेरेटर, एम्बुलेन्स र डिसेलिनेसन प्लान्टका लागि पनि इन्धन आवश्यक छ र हामी इजरायललाई गाजाप्रवेशका लागि अनुमति दिइएको जीवन रक्षक आपूर्तिमा इन्धन थप्न आग्रह गर्दछौँ,’ टेड्रोसले पत्रकार सम्मेलनमा भने।

इजरायलले इजिप्ट हुँदै गाजामा सहायता प्रवेश गर्न दिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले बुधबार जानकारी गराएको थियो। प्रधानमन्त्री कार्यालयका अनुसार अवरुद्ध प्यालेस्टिनी इलाकामा ‘खाद्यान्न, पानी र औषधि’ मात्र प्रवेश गर्न दिइने छ।

‘अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई ध्यानमा राख्दै इजरायलले इजिप्टमार्फत मानवीय सहायता आपूर्तिमा अवरोध गर्ने छैन,’ प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भनेको छ।

वक्तव्यमा भनिएको छ, ‘गाजामा शासन गर्ने हमाससम्म सहायता सामग्रीहरू नपुग्ने शर्तमा दक्षिणी गाजा पट्टीका नागरिकहरूलाई सहायता प्रदान गर्न अनुमति दिइनेछ।’

Logo