1

0 Shares

कोभिड-१९ विरूद्धको लडाईं : दिल्लीमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध

1
1
1

नयाँ दिल्ली ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन दिल्ली राज्यमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार जानकारी गराएका छन् ।

सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, कुनै पनि सेमिनार तथा सम्मेलनका लागि भारतको राजधानी नयाँ दिल्ली क्षेत्रमा प्रतिबन्ध लगाइएको उनले बताए ।

मुख्यमन्त्री केजरीवालले भिडियोमार्फत् सार्वजनिक सन्देशमा भनेका छन् , “हामीले कुनै ठाउँमा भेला हुने व्यक्तिको सङ्ख्यामाथि पुनरावलोकन गर्दै नयाँ निर्णय सार्वजनिक गरेका छौँ । अबदेखि अर्को निर्णय नहुँदासम्म राजधानी दिल्लीमा पाँच जना भन्दा बढी व्यक्ति भेला हुन पाइने छैन ।

जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, कुनै पनि सेमिनार तथा सम्मेलनमा धेरै व्यक्ति भेला हुनुलाई मनाही गरिएको छ ।” यदि पाँचजना भन्दा बढी व्यक्ति भेला हुनु नै परेमा एक व्यक्तिबाट अर्को व्यक्तिसम्मको दूरीलाई एक मिटरभन्दा बढी फरक गर्न पनि सन्देशमा आग्रह गरिएको छ ।

दिल्ली राज्य सरकारले यसअघि केही दिन पहिले २० जनाभन्दा बढी व्यक्तिलाई भेला हुन निषेध गरेको सूचना जारी गरेको थियो । मुख्यमन्त्री केजरीवालले भने,“दिल्लीमा गुड्ने ५० प्रतिशतभन्दा बढी दिल्ली यातायात कर्पोरेसनका सार्वजनिक सवारीसाधनहरू भने आइतबार ‘जनता कर्फ्यु’ मा सञ्चालन गरिनेछ ।”

कोभिड–१९ सङ्क्रमण नियन्त्रण र रोकथाम प्रयास अनुसार आइतबारदेखि दिल्ली मेट्रो सेवाका यातायातका साधन दिल्लीमा गुड्ने छैनन् ।

यसअघि बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २२ देखि बिहान सात बजेदेखि बेलुका नौ बजेसम्म ‘जनता कर्फ्यु’ (घर बाहिर ननिस्कन) आग्रह गरेका थिए । उनले अति आवश्यक काममा बाहेक घरबाहिर ननिस्कन आग्रह गरेका हुन् ।

मोदीद्वारा औषधी उत्पादन बढाउन निर्देशन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार औषधी कम्पनीहरूलाई उत्पादन बढाउन निर्देशन दिएका छन्। शनिबार भिडियो सम्मेलनमार्फत औषधी उत्पादक कम्पनीहरूका प्रतिनिधिहरूसँग कुराकानी गर्ने क्रममा उनले यो समय उत्पादनलाई बढाउने समय भएकोले सबैले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताएका हुन् ।

प्रतिक्रियामा औषधी कम्पनीका सञ्चालकहरूले प्रधानमन्त्री मोदीलाई औषधीको उत्पादन बढाउने आश्वासन दिएका थिए । उनीहरूले आफूहरूसँग औषधी उत्पादनका लागि प्रशस्त कच्चा पदार्थको भण्डारण रहेको र औषधीको उत्पादनका सम्वन्धमा कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका थिए ।

औषधी उत्पादनका क्षेत्रमा काम गर्ने रसायनविद् तथा फर्मा कम्पनीले हरेक नागरिकका लागि राष्ट्रको चिन्ता पहिलो हुने भन्दै हप्तामा सातै दिन पूरा २४ घण्टाका दरले औषधीको उत्पादन गर्ने बताएका थिए ।

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २८३ पुगेको र यसका कारण चार व्यक्तिको मृत्यु भइसकेको अवस्थामा प्रधानमन्त्री मोदीले औषधी उत्पादनमा कमी नआओस् भन्ने उद्देश्यले व्यवसायीसँग अन्तर्क्रिया गरी उनीहरूको तयारीबारे धारणा बुझेका थिए । भारतमा उत्पादन हुने औषधीको भर खास गरी दक्षिण एशियाली मुलुकहरुमा हुने गर्दछ ।रासस

प्रकाशित: ९ चैत २०७६ ०९:३४ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी