हमासलाई आक्रमण गर्न गाजा पुगेका नौ इजरायली सैनिकको मृत्यु

हमासलाई आक्रमण गर्न गाजा पुगेका नौ इजरायली सैनिकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मङ्गलबार गाजामा युद्धका क्रममा नौ इजरायली सैनिक मारिएको सेनाले बताएको छ । योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजरायली सैनिकको कुल सङ्ख्या ३ सय २६ पुगेको छ । 

सेनाका अनुसार मङ्गलबार प्यालेस्टाइनी क्षेत्र गाजा स्ट्रिपभित्र आक्रमणका लागि जाँदा त्यहाँको लडाइँमा नौ इजरायली सेना मारिएका छन् भने दुई सैनिक गम्भीर घाइते भएका छन् । प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा इजरायलको इतिहासमा सबैभन्दा खराब हमलापछि हमासविरुद्ध इजरायली सेना युद्धमा होमिएको छ । 

यसैबीच गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भएको इजरायली हमलामा मङ्गलबार कम्तीमा ४७ जना मारिएका छन् । इजरायलले मारिनेमा अक्टुबर ७ को हमलामा संलग्न हमास कमान्डर पनि रहेको बताएको छ । 

राति हुनुभन्दा पहिला बाक्लो जनसङ्ख्या भएको जबालिया शिविरमा ठूलो विस्फोट हुँदा वरपरका भवनका बाहिरी भाग क्षतिग्रस्त भएका थिए भने फोहोरले भरिएको एउटा गहिरो खाडल बनेको थियो । 

सयौँ दर्शक र स्वयंसेवकहरू कङ्क्रिट ब्लकहरूमा पञ्जा लगाएर जीवितहरूलाई खोजिरहेका थिए । एएफपीले कम्तीमा ४७ शव फेला परेको बताएको छ । स्थानीय बासिन्दा ४१ वर्षीय राघेब अकलले विस्फोटको तुलना ‘भूकम्प’ सँगै तुलना गर्दै भग्नावशेषमा दबिएका घर र शरीरमा चोट लागेका ठूलो सङ्ख्यामा घाइते र शवहरू देखेको बताए । 

आफ्नो युद्धक विमानहरूले साइटमा एउटा ‘विशाल’ सुरुङ परिसरमा हमला गरेको इजरायलले बताएको छ । इजरायली सेनाका अनुसार उक्त सुरुङ परिसरमा स्थानीय बटालियन कमान्डर इब्राहिम बियारीसहित थुप्रै आतङ्कवादी मारिएका थिए । 

सेनाका प्रवक्ता जोनाथल कन्रिकसले बियारीले गत महिना इजरायलमा हमासको हमलाको योजना र कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । हमासको उक्त हमलामा अधिकांश सर्वसाधारणसहित १ हजार ४ सयको ज्यान गएको थियो । इजरायलका नेताहरूले मुलुकको इतिहासमा सबैभन्दा खराब हमलाको बदला लिनका लागि हमासलाई ‘निमिट्यान्न’ पार्ने वाचा गरेका छन् । –एएफपी

Logo