कोरोना कहर : विश्वमा कहाँ कस्तो ? नेपालमा के छ अवस्था ? (भिडियाेसहित)

कोरोना कहर : विश्वमा कहाँ कस्तो ? नेपालमा के छ अवस्था ? (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
पछिल्ला २ साता यता नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । दैनिक २ सयदेखि ५ सयसम्म संक्रमित थपिएका छन् । पछिल्लो पटक असार ३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको संक्रमित संख्या ७ हजार १७७ छ । जसमध्ये १ हजार १६७ जना निको भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

बुधबारसम्म नेपालमा पीसीआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ को परिक्षण भएको छ । यस विधिबाट पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ र पछिल्लो २४ घण्टामा १० हजार २४ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन् । ५ हजार ९ सय ९० जना विभिन्न अस्पतालका आइसोलेनमा उपचाररत रहेका छन् । नेपालमा बुधबार अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमितहरु थपिएका छन् । मन्त्रालयका अनुसार बुधबार ५ सय ८६ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार संक्रमित संख्या ७ हजार १ सय ७७ पुगेको छ ।

पछिल्लो पटक धरानमा भएको परीक्षणमा ५ जना, विराटनगरमा भएको परीक्षणमा ११ जना, जनकपुरमा भएको परीक्षणमा २७ जना, वीरगञ्जमा भएको परीक्षणमा ६ जना, टेकुमा भएको परीक्षणमा २ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै भरतपुर अस्पतालमा भएको परीक्षणमा ३ जना, धुलिखेल अस्पतालमा ९९ जनाको पोजेटिभ आएको छ । यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा १ जना, पोखरामा भएको परीक्षण्मा २० जना, रुपन्देहीमा भएको परीक्षणमा ५९ जना, भेरी अस्पतालमा भएको परीक्षणमा ३२ जना, दाङमा भएको परीक्षणमा ३३ जना र सुर्खेतमा भएको परीक्षणमा ४ जनामा पोजेटिभ देखिएको छ । त्यसैगरी जुम्लामा भएको परीक्षणमा १४ जना, कैलालीमा भएको परीक्षणमा ७ जनाको पोजेटिभ देखिएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसबाट संक्रमण हुनेमा सबैभन्दा बढी प्रदेश नं. २ का देखिएका छन् । प्रदेश २ मा संक्रमितको संख्या दुई हजार ४६५ पुगेको छ । यहाँ निको हुनेको संख्या ४५४ पुगेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका संक्रमितको जम्मा संख्याभन्दा प्रदेश २ मा मात्रै कोरोनामुक्त हुनेको संख्या धेरै छ । यी चार प्रदेशमध्ये सबैभन्दा धेरै प्रदेश १ मा ४०४ संक्रमित भेटिएका छन् । जबकी प्रदेश २ मा संक्रमणमुक्त हुनेको संख्या नै ४५४ छ । प्रदेश २ मा कोभिड–१९ बाट तीन जनाको मृत्यु भएको छ ।

प्रदेश नं. १ मा ४०४ जना संक्रमित भेटिएका छन् । यहाँ अहिलेसम्म कोरोनाबाट कसैको मृत्यु भएको छैन । यहाँ १७५ जना निको भएका छन् ।
बागमती प्रदेशमा २३४ जनामा संक्रमण पुष्टि भएको छ । चार जनाको निधन भएको यस प्रदेशमा ५० जना कोरोनामुक्त भएका छन् ।
यस्तै गण्डकी प्रदेशमा ३२४ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये एक जनाको निधन भएको छ भने १४ जना निको भएका छन् ।
प्रदेश नं. ५ मा १,८२१ जनामा संक्रमण पुष्टि भएको छ । यस प्रदेशमा ६ जनाको निधन भएको छ भने ३५२ जना संक्रमणमुक्त भएका छन् ।
गत जेठ ४ गते सबैभन्दा पछि संक्रमण देखिएको कर्णाली प्रदेशमा १,१०४ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये तीन जनाको निधन भएको छ । कर्णाली प्रदेशमा ८६ जना संक्रमणमुक्त भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा ३४२ जना संक्रमित पुष्टि भएको छ भने यहाँ २७ जना संक्रमणमुक्त र दुई जनाको निधन भएको तथ्यांक छ ।

मंगलबार कोरोना संक्रमित थपिएका जिल्ला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाए अनुसार देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा ३८० जना कोरोना संक्रमित थपिएका थिए । मन्त्रालयका अनुसार झापामा एक, पाँचथरमा एक, सुनसरीमा दुई, सिराहामा दुई, रौतहटमा ३८, महोत्तरीमा ८९ जना नयाँ संक्रमित देखिएका छन् । यस्तै पर्सामा दुई, गोरखामा १० जना, नवलपरासी पूवमा तीन जना, बाग्लुङमा एक जना र तनहुँका दुईजनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरि कास्कीमा तीन जना, स्याङ्जामा चार जना, अछाममा एक जना, बैतडीमा २१ जना, डोटीमा २० जना, कञ्चनपुरमा ११ जना, कैलालीमा २३ जना, बाँकेमा एक जना, बर्दियामा नौ जना, सप्तरीमा तीन जना, अर्घाखाँचीमा नौ जना र रूपन्देहीमा चार जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उता दैलेखमा पाँच, सुर्खेतमा चार जना, धनुषामा २१ जना, रामेछापमा एक जना, सल्यानमा एक जना, दाङमा ५६ जना, काठमाडौंमा एक जना, मोरङमा एक जना, रौतहटमा १४ जना, रोल्पामा एक र सर्लाहीमा १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज सम्म देशका ४ वटा जिल्ला बाहेक अरु ७३ जिल्लामा कोरोना संक्रमित देखिएका छन् । संक्रमण नदेखिएका ४ जिल्लामा प्रदेश नं. १ को ओखलढुंगा, बाग्मति प्रदेशको रसुवा र गण्डकी प्रदेशका मनाङ र मुस्ताङहरु रहेका छन् । सबैभन्दा धेरै प्रभावित जिल्लाहरु मध्ये कपिलवस्तु, रौतहट, झापा, दैलेख, बाँके, पर्सा, उदयपुर लगायत रहेका छन् ।

विश्वमा के छ अवस्था

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आज विहानसम्म ४ लाख ५१ हजार २६३ पुगेको छ । चीनको उहानबाट गतवर्षको अन्त्यदेखि शुरु भएको यस संक्रमणबाट ६ महिनाको अवधिमा संक्रमण हुनेहरुको संख्या ८४ लाख १२९ पुगेको छ ।

गएको २४ घण्टामा १ लाख ४१ हजार २ सय ५७ नयाँ संक्रमित थपिएका छन् । संक्रमित मध्ये ४४ लाख १४ हजार ९ सय ९१ जना उपचारपछि निको भएका छन् । यस्तै ३५ लाख ३३ हजार ८७५ जनाको उपचार भइरहेको छ भने ५४ हजार ४५२ जनाको अवस्था गम्भिर रहेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख १९ हजार ९४१ पुगेको छ । २२ लाख ३४ हजार ४ सय ७१ जना संक्रमित भएका छन् । यहाँ पछिल्लो २४ घण्टामा २५ हजार बढी संक्रमित थपिएका छन् । कोरोनाकै कारण अमेरिकामा रोजगारी गुमाउनेको संख्या ४ करोड ५० लाख भन्दा बढी पुगेको छ ।

कोरोनाबाट युरोपियन मुलुकहरुमा १ लाख ८४ हजार ६५९ जना, उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४८ हजार ७७९ जना, एसियाली मुलुकहरुमा ४४ हजार ५५८ जना, दक्षिण अमेरिकी मुलुकहरुमा ६५ हजार ६८ जना, अफ्रिकी मुलुकहरुमा ७ हजार २४९ जना र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकामा १५ लाख १४ हजार ४९८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । उत्तर अमेरिकामा २५ लाख ४५ हजार २३१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । युरोपमा २२ लाख ३५ हजार ९७० जना कोरोना भाइरस संक्रमित रहेका छन् । एसियामा १६ लाख ९८ हजार ५९९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । अफ्रिकामा २ लाख ६१ हजार ९३९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । ओसियानामा ८ हजार ९८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ ।

बेलायतमा रोजगारी गुमाउने छ लाख श्रमिक

कोरोना भाइरस महामारीका कारण श्रम बजारमा पारेको व्यापक प्रभावले बेलायतमा तलव आधारमा काम गर्ने ६ लाख कामदारले रोजगारी गुमाएका राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले बताएको छ । मे महिनाको प्रारम्भिक सूचकले सङ्केत गरे अनुसार बेलायतमा काम गर्ने कर्मचारीको सङ्ख्या २.१ प्रतिशतले घटेको छ । मार्चको तुलनामा यो संख्या ६ लाख १२ हजार ले कमी आएको ओएनएसले जनाएको छ ।
ओएनएसको तथ्याङ्कमा मार्चदेखि मे सम्म बेलायतभरि अनुमानित चार लाख ७६ हजार रिक्त पदहरू थिए, जुन अघिल्लो त्रैमासिक (डिसेम्बर २०१९ देखि फेब्रुअरी २०२०) को तुलनामा तीन लाख ४२ हजारले कमी हो । यसलाई तथ्याङ्क कार्यालयले सन् २००१ पछिको रोजगारीमा ‘सबैभन्दा ठूलो त्रैमासिक गिरावट’ भनी रेकर्ड गरिएको छ ।

उल्लेखनीय कुरा के छ भने होटल, रेस्टुरेन्ट र खुद्रा स्टोर बन्द भएपछि सामाजिक दुरीका उपायबाट प्रभावित, ‘थोक, खुद्रा व्यापार र मोटर सवारीको मर्मत’ औद्योगिक क्षेत्रको रिक्त पदहरुमा यो त्रैमासिकमा ४९.९ प्रतिशतले गिरावट आएको छ र ‘आवास तथा खाद्य सेवा गतिविधि’ क्षेत्रमा ७०.७ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ ।

भारतमा कोरोना भाइरस

भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन वढ्दै गइरहेको छ । हरेक दिन यहाँ संक्रमितको संख्या करिव १० हजारको हाराहारीमा थपिएका छन् । अहिले एसियाकै महामारी केन्द्र बनिरहेको भारत विश्वमा कोरोना संक्रमित देशको चौथो स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरस संक्रमितहरू भारतमै फेला परेका छन् ।

मंगलबार भारतमा हालसम्मकै धेरै व्यक्तिहरुको मृत्यु भएको थियो । यहाँ मंगलबार मात्रै भारतमा २ हजार ६ जनाको मृत्यु भएको थियो । यहाँ मंगलबार मात्र ११ हजार १३५ नयाँ संक्रमित देखिएका थिए । मंगलबारसम्म भारतमा संक्रमितको संख्या ३ लाख ४३ हजार २६ र मृत्यु हुनेको संख्या ९ हजार ९१५ थियो ।

विहिबार विहान सम्म भारतमा सङ्क्रमितको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ भने मृत्यु हुनेको संख्या १२ हजार २३७ पुगेकोे छ । अहिले भारतमा १ लाख ५४ हजार ६८८ जना सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको छ । त्यसैगरी १ लाख ९४ हजार ३२५ जना निको भएका छन् ।

Logo