संयुक्त राष्ट्रसंघको आपतकालीन बैठकले पारित गर्‍यो इजरायल हमास युद्ध रोक्ने प्रस्ताव

संयुक्त राष्ट्रसंघको आपतकालीन बैठकले पारित गर्‍यो इजरायल हमास युद्ध रोक्ने प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

इजरायल-हमास द्वन्द्वका बीच गाजामा तत्काल युद्धविरामका लागि पेश गरिएको प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभा (युएनजीए)को आपतकालीन बैठकमा पारित भएको छ।

१५३ देशले गाजामा युद्धविरामको पक्षमा मतदान गरेका छन्। १० सदस्य राष्ट्रले विरोध गरे भने २३ सदस्य अनुपस्थित रहे। युद्धविराम प्रस्तावको विपक्षमा मतदान गर्ने देशहरूमा अमेरिका, अस्ट्रिया, चेक रिपब्लिक, ग्वाटेमाला, इजरायल, लाइबेरिया, माइक्रोनेसिया, नाउरु, पपुवा न्यूगिनी र पाराग्वे समावेश छन्।

यसअघि इजिप्टका राजदूत अब्देल खालेक महमुदले गाजामा युद्धविरामको माग गर्दै संयुक्त राष्ट्रसंघको महासभामा प्रस्ताव पेश गरेका थिए। इजिप्टले सुरक्षा परिषदमा युद्धविरामको लागि गत हप्ता गरेको आह्वानमा अमेरिकी भिटोका कारण असफल भएको थियो।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफिल्डले युद्धविराम प्रस्तावमा अमेरिका सहमत नभएको बताइन्। संयुक्त राष्ट्रका लागि इजरायलका राजदूत गिलाड अर्दानले गाजामा युद्धविरामले हमासको आतंकवादी एजेन्डालाई थप बल दिने बताए। युद्ध रोक्नुले हमासलाई मात्र फाइदा हुने भन्दै उनले प्रस्ताव अस्वीकार गरे।  

महमुदले प्यालेस्टिनीमाथि इजरायली सेनाको बर्बर हमला र सर्वसाधारणको हत्या रोक्नको लागि युद्धविराम एक मात्र उपाय भएको बताएका छन्। संयुक्त राष्ट्र संघका अध्यक्ष डेनिस फ्रान्सिसले गाजामा भइरहेको हिंसा रोकिनुपर्ने बताएका छन्। फ्रान्सिसले गाजामा सर्वसाधारणमाथि आक्रमण भइरहेको बताए।

Logo