काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये राष्ट्रिय सभाको बैठकमा राजपाका सांसद मिर्गेन्द्रकुमार सिंह यादवले बजेटको विरोधमा १० सेकेण्ड मौनधारण गरेका छन् । मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुलाई पक्षपात गर्ने विनियोजन विधेयकमाथि छलफलमा भाग नलिने भन्दै सिंहले विरोध स्वरुप १० सेकेण्ड मौनधारण गरेका हुन् ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंक तथा वित्तीय संस्थालाई अनुगमन गर्ने सूचना सार्वजनिक भएसँगै बैंकिङ क्षेत्र त्रसित बनेको छ । नेपाल राष्ट्र बैंकले हेर्दै आएको बैंकिङ क्षेत्रलाई एकाएक अख्तियारले हेर्ने सूचना सार्वजनिक हुँदा बैंकिङ क्षेत्र त्रसित बनेको हो ।
आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सात वटै प्रदेशले बजेट सार्वजनिक गरेका छन् । सोमबार सात वटै प्रदेशले आगामी वर्षको बजेट सार्वजनिक गरेका हुन् । नयाँ बजेटमा स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतमा राखिएको छ ।
त्यस्तैगरी राजनीतिज्ञ र कुटनीतिज्ञहरुको तीव्र दबाबपछि भारत सरकार नेपालसँग कालापानी, लिम्पियाधुरा र लिपुलेकका विषयमा वार्ता गर्न लचिलो बन्दै गएको छ । नेपालको प्रतिनिधि सभाले नयाँ नक्सा पारित गरेपछि वार्तामा बस्न नसकिने अडान लिएको भारत विस्तारै वार्ताका लागि तयार हुन थालेको हो ।
चिनियाँ र भारतीय सैनिक बीच लद्दाखको गलवान उपत्यकामा भएको भिडन्तमा तीन जना भारतीय सैनिक मारिएका छन् । भिडन्तमा परि एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको हो । भारतीय सेनाको मुख्यालयले दिएको जानकारीअनुसार सोमबार राति चिनियाँ सेनासँग लामो समय झडप भएको थियो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया