काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये कोरोना नियन्त्रण तथा रोकथामको काम प्रभावकारी हुन नसकेको भन्दै सरकार विरुद्ध प्रदर्शन गर्दै आएका प्रदर्शनकारीले सरकारको समर्थन गरेका छन् । शनिबार भारतबाट अतिक्रमित भूमि समावेश गरी संविधान संशोधन गर्न सफल भएको भन्दै प्रदर्शनकारीहरूले सरकारको समर्थन गरेका हुन् ।
त्यस्तै सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउने बताएका छन् । शनिबार प्रतिनिधि सभाको संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा बोल्दै अध्यक्ष दाहालले राजतन्त्रले गुमाएको भूमि सर्वसम्मतिका आधारमा गणतन्त्रले फिर्ता ल्याउने बताएका हुन् ।
नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रतिनिधि सभाको शनिबारको बैठकले दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ । लामो समयदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतको नेपाली भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक प्रतिनिधि सभा बैठकबाट पारित भएको हो ।
त्यस्तैगरी प्रतिनिधि सभाको बैठकमा आफूलाई बोल्न नदिइएको भन्दै तत्कालीन समाजवादी पार्टीकी समानुपातिक सांसद सरीता गिरीले आक्रोस पोखेकी छिन् । शनिबारको प्रतिनिधि सभाको बैठकमा बोल्न खोज्दा सभामुख अग्निप्रसाद सापकोटाले बोल्न नदिएपछि उनले आक्रोस पोखेकी हुन् ।
भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपाल र भारतका बीचमा प्रगाढ सम्बन्ध भएको बताएका छन् । चीनको इशारा र उक्साहटमा नेपालले नक्सा जारी गरेको टिप्पणी गर्दै आएका नरवणेले पछिल्लो समय आएर दुई देशबीच प्रगाढ सम्बन्ध भएको बताएका हुन् । सार्वभौम सत्ता संपन्न मुलुक नेपाललाई अरुको इसारामा चलेको आरोप लगाउँदै आएका नरवणेको नेपालमा चर्को विरोध गरिदै आएको थियो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया